मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अब चौकीदारी गर्न भारत जानु पर्दैन : मुख्यमन्त्री भट्ट

अब चौकीदारी गर्न भारत जानु पर्दैन : मुख्यमन्त्री भट्ट


धनगढी । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले अब यहाँका जनताले भारतमा चौकीदारी गर्न जान नपर्ने गरी प्रदेश बनाउने अठोट गरेका छन् । मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै उनले यस्तो बताएका हुन् । प्रदेश प्रमुख मोहनराज मल्लले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 
 
मुख्यमन्त्री नियुक्त भएको पत्र बुझ्न भट्ट प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए । यसअघि प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त हुन बहुमत रहेको दावी पेश गर्न आग्रह गरेपछि भट्टले बामबठबन्धनका बहुमत ३७ जना सदस्यको आफूलाई समर्थन रहेको भन्दै दाबीपत्र पेश गरेका थिए । मुख्यमन्त्रीमा नियुक्त भएका भट्टलाई शनिबार अपरान्ह ३ बजे सपथ खुवाइने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 
 
माओवादी केन्द्रका नेता भट्ट कुनै बेला भारतको मुम्बईमा चौकीदारी गरेका व्यक्ति हुन् । कमजोर आयश्रोत भएकोे परिवारमा जन्मेका त्रिलोचन आर्थिक अभावकै कारण ८ कक्षाको पढाइ छोडेर १४ वर्षमै भारत पसेका थिए । 
 
भारतमै रहँदा उनले २०४७ सालबाट अखिल भारत नेपाल एकता समाजको सदस्यबाट राजनीति सुरु गरेका थिए । भट्ट २०५६ सालबाट माओवादी पार्टीको पूर्णकालीन राजनीतिमा लागेका थिए । भट्ट २०६४ मा डोटी जिल्ला इन्चार्ज, हुँदै २०७१ देखि नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रहेका छन् । २०६४ र २०७० सालमा भएको संविधानसभा निर्वाचनमा डोटी क्षेत्र नं २ बाट चुनाव लडेका भट्ट दुवै निर्वाचनमा पराजित भएका थिए ।