विचार / ब्लग

घरवाली, परदेशवाली र नत्थीवाली

794 पटक पढिएको

केशव भट्टराई

15th Feb 2018, Thursday | २०७४ फाल्गुन ३, बिहीवार ००:३३
भ्यालेन्टाइन डे पनि हामीबाट भर्खरै बिदा भएको छ । तर, त्यस दिवसका केही अविस्मरणीय सन्दर्भहरु अझै पनि बाँकी छन् । म यसपटक मेरा अनन्य पाठकहरुलाई मेरो ओरजिनल भ्यालेन्टाइन्सबारे चर्चा गर्न चाहन्छु । यो प्रेमको दिवसका बारेमा मैले कति नै बुझ्न सकेको हुँला र ? मैले गर्ने तीतामीठा अनुभूति मात्रै हो । अहिलेसम्म पनि प्रेमको सर्वमान्य परिभाषा दिन प्रेमविद्हरु समेत असमर्थ छन् । प्रेमका विषयमा मेरा पाठकहरुलाई रोचक कुराहरु बताउने मेरो रहरमात्र हो । म त प्रेमी हूँ सबैको, भ्यालेन्टाइनजस्तै । भ्यालेन्टाइन कसैको हुन सकेन, सबैको भयो । यस्तै, म पनि सबैको भएको छु र सबै सधैँ मेरा भइरहून्... 
 
यो वर्ष मैले तीन जना भिन्न पात्रसँग भ्यालेन्टाइन मनाएको छु । अन्यथा मान्नुहुन्न भने म मेरो ‘भ्यालेन्टाइन्स डिस्कोर्स’बारे तपाईंहरुमा शेयर गर्न चाहन्छु । यी तीनै जना पात्रहरुसँग मेरो सम्बन्ध फरक–फरक छ । र, मैले फरक ढंगबाटै यिनीहरुसँग भ्यालेन्टाइन मनाएको हुँ । हुन त, यस्ता भ्यालेन्टाइन्स डे हामीले सधैँ मनाए पनि हुन्छ । हाम्रा हरेक दिनहरु प्रेमदिवसभन्दा पनि रमणीय र स्मरणीय बन्न पनि सक्छन् । मनाउने एउटा बहाना चाहिएको मात्र हो । मैले यसपालि घरवाली, परदेशवाली र नत्थीवालीसँग प्रेमदिवस मनाएको छु । यो प्रेमले व्यक्तिअनुसार र बुझाइअनुसार छुट्टै महरव राख्दोरहेछ । प्रख्यात गीत छ नि, ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार...’ हो यस्तै, यही गीतको भावजस्तै । 
 
नसोचेका कति कुरा मान्छेले जीवनमा भोग्नुपर्छ । नचाहेका मान्छेसँग संगत गर्नुपर्छ । सोच्दै नसोचेका झमेला पनि बेहोर्नुपर्छ । आखिर जीवनमा सबै चाहेकै मात्र पुग्ने हो भने जीवनको यति धेरै महत्व नै हुने थिएन । यो जीवन र जगतका बारेमा कसैले पनि लेखेर र पढेर भ्याउँदैन । जे लेखे पनि मान्छेले औसत आफ्नै बारेमा लेख्ने हो र जे देखे पनि आफ्नै आँखाले देख्ने हो । 
 
भ्यालेन्टाइन्स डेको चर्चा गाउँसहर जताततै चलिरहेकै थियो । यो युगौँसम्म चलिरहने छ । एक दिन गन्तव्यमा पुग्न हतार गर्दै थिएँ । सपनामा जसरी अपरिचित नम्बरबाट अपरिचित व्यक्तिको फोन आयो । औसत परिचितका भन्दा अपरिचितका फोन आइरहन्छन् । रङ नम्बरका विषयमा छुट्टै चर्चा गरौँला । अहिले नयाँ फोन–संवादमा नै लागौँ । आफ्ना बारेमा वृत्तान्त बताएपछि उसले पनि आफ्नो परिचय दिई । उसको नाम सुन्नासाथ म झसङ्गै भएँ । मानौँ, एक्कासि ६ रेक्टर–स्केलको भुइँचालो आयो । भुइँचालोले मेरो शरीरका अवयवहरुमा कुनै विनाश गरेन । तर, विस्मृत भइसकेको घटनालाई स्मृतिमा ल्याइदियो । संयोगवश उसको नाम र थरसँग हुबहु भूतपूर्व गर्लफ्रेन्डको नाम मिल्न गएको थियो । कताकता मुटुको कुनै कुनामा च्वास्स दुखेजस्तो भयो । पीडादायीचाहिँ होइन । 
 
केही दिनको फोनवार्तापछि पूर्वनिर्धारित समयमा भेटवार्ता जु¥यो । त्यो उसैको चाहनाबमोजिम जुरेको हो । म झनै अचम्मित भएँ । जीउडाल, हाउभाउ, बोल्ने शैली र पहिरनसमेत दुरूस्तै मिलेको थियो । म एकछिन त ट्वाल्ल परेर हेरिरहेँ । भूतपूर्वकै प्रतिबिम्ब हो वा मिथक, मैले छुट्याउनै सकिनँ । मानौँ, ऊ उसकै बिम्ब बोकेकी श्यामश्वेत तस्बिर थिई । ऊ नत्थीवाली थिई । मेरी भूतपूर्व प्रेमिका पनि नत्थीवाली नै थिई । एकमात्र होइन, अनेकानेक विशेषणको समानताका कारण म एकोहोरिएको थिएँ । 
 
म नत्थीवालीसँग नयाँ सम्बन्ध विस्तार गर्न पुगेको थिएँ । एकअर्कामा परिचय साटेपछि ऊ मेरो वर्तमानकी नयाँ प्रेमिका भएकी थिई । संयोगले जुरेको नयाँ सम्बन्धलाई नयाँ ढंगबाटै अघि बढाउने मेरो चाहना बनेको थियो । तर, यो नयाँ सम्बन्ध हाम्रा लागि वैधानिकचाहिँ थिएन । कारण, मैले घरजम गरिसकेको थिएँ । ऊ अविवाहित नै थिई । एउटा विवाहित पुरूष र अविवाहित महिलाबीच कस्तो सम्बन्ध हुनसक्छ रु मित्रवत सम्बन्ध नै सही, के यो समाजका लागि मान्य हुनसक्छ ?
 
अब लागौँ, तीन जना पात्रसँग भ्यालेन्टाइन मनाइएको सन्दर्भतर्फ । मेरी घरवाली अर्थात् दिलवालीसँग भ्यालेन्टाइन्स डेकै बिहान गुलाबको फूल आदानप्रदान भएको थियो । अर्थात्, प्रेम विनिमय गरिएको थियो । यो मौसममा गुलाबको फूल दुर्लभ भए पनि मेरी घरवाली अर्थात्, दिलवालीले गुलाबका दुई थान फूल दुई ज्यानका लागि जोहो गरेकी थिइन् । प्रेमदिवसकै दिन स्वस्थानी पूर्णिमा पनि परेकाले घरवालीले प्रेमपूर्वक फूल, फल र जल प्रदान गरेर प्रेम दर्शाएकी थिइन् । मैले पनि उधारो नै भए पनि भ्यालेन्टाइन्समा उनको फर्माइसबारे चासो राखेको थिएँ । तर, समयले घरवालीसँग घुमघाम गर्ने अवसर जुराएन । त्यसैले, उनलाई औपचारिकता ननिभाइकन उधारो सम्झौता गरेर म बाहिरिएँ । 
 
फुर्सदमा घरवालीसँग त मठमन्दिर, पार्क, पर्यटकीयस्थल, पिकनिक स्पट, ऐतिहासिक स्थलहरु लगायत दर्जनौँ ठाउँहरुमा पुगेकै हो । हनिमुन ट्रिपका लागि दार्जिलिङसम्मको यात्रा गरिएकै हो । होलिडे ट्रिप नारायणहिटी संग्रहालयमा भएको हो । मेला भर्न देवघाटधाम पुगिएकै हो । दर्शन गर्न पशुपतिनाथ, मनकामना र माईपोखरी गएकै हो । पिकनिक खान स्मारक लगेकै हो । बिहे–उत्सव मनाउन दामन, बर्थ डे सेलिब्रेट गर्न सौराहा र नयाँ वर्षमा डाँडाकालिकाको भ्रमण गराएकै हो । यसपालि भ्यालेन्टाइन्स घरमै मनाउँदा मैले अन्याय गरेजस्तो लाग्दैन । आफ्नो मान्छेलाई समय मिलाएर जहिले घुमाए पनि हुन्छ । सपिङ गर्न जहिले लगे पनि हुन्छ । 
 
भ्यालेन्टाइन्समा यसपालि परदेशवालीसँग पनि ‘भर्चुअल’ फूल गिफ्ट दिएर मनाइयो । बिहे नभए पनि उनीसँग प्रेम भएकै हो । भौतिक शरीर टाढा भए पनि भावनात्मक सम्बन्ध गाढा रहिरहेकै हो । फेरि प्रेममा आफ्नो भएमात्र प्रेम हुने, अर्काकी भएपछि प्रेम नरहने भन्ने हुँदोरहेनछ । त्यसैले, नेटमार्फतै भए पनि भेट गरेर प्रेमदिवस मनाएको हुँ । यही अङ्ग्रेजी नयाँ वर्षबाट सम्बन्ध नवीकरण भएपछि उसलाई पनि सम्झनास्वरुप मनभित्रैबाट शुभकामना दिएको हुँ । उसले ‘प्रपोज’को समयमा भनेको आजैजस्तो लाग्छ– 
 
‘मनको कुरा मनले बुझे भैहाल्छ नि, मुखै खोलेर सबथोक किन भन्नुप¥यो ।’ 
 
मैले यही भनाइबाट मनको कुरा मनले बुझ्न थालेको हुँ । त्यसपछि प्रेम सम्बन्धको ‘ब्रेकिङ पोइन्ट’मा पनि उसले भनेकी थिई– 
 
‘असल प्रेम बिहेपछि मर्छ, त्यसैले प्रेम तपाईंसँग र बिहे अर्कैसँग गर्छु ।’ 
 
उसको यो भनाइको असली कुरा धेरै वर्षपछि अहिले आएर मैले बुझ्न सकेँ । त्यही भएर मैले उसलाई ‘भर्चुअल’ फूलसहित शुभकामना दिएको हुँ । 
 
अब पालो नत्थीवालीको रह्यो । खासमा नत्थीवालीसँग भ्यालेन्टाइन मनाउनुको पनि एउटा कारण छ । नत्थीवाली मेरी शुभचिन्तक मात्र हुन् । तथापि, उनीसँग पनि अचम्मको प्रेम सम्बन्ध स्थापित भइसकेको छ । ‘बिहेपछि प्रेम गर्ने कोही छ ?’ शीर्षकको वियोगान्त प्रेमकथा पढेर उनी मेरी शुभचिन्तक बनेकी हुन् । उनले मैले सोधेको प्रश्नको च्यालेन्ज स्वीकार गरेकी थिइन् । एउटा असल पाठकका रुपमा उनले लेखकसँग भेट गर्ने इच्छा राखेकी थिइन् । तर, यो स्तम्भकार उनको सोचाइविपरीत भइदियो । कारण, मैले च्यालेन्ज फिर्ता लिनुप¥यो । 
 
म नत्थीवालीलाई भ्यालेन्टाइनमा के उपहार दिऊँ भनेर सोचिरहेको थिएँ । त्यसैबेला मेरो दिमागमा सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ को याद आयो । किताबले पढ्ने संस्कृतिको विकास पनि गराउँछ र यो सम्बन्ध समर लभजस्तै भएकाले उपन्यास दिने निर्णय गरेको हुँ, जसमा प्रेमको प्रतीक फूल त छँदै थियो । शुभकामनासँगै मैले उही पुस्तक उपहार दिएँ ।
 
उसले सोधी– ‘म यो अहिल्यै खोल्न सक्छु ?’
 
‘खोल्नुस् न !’, मैले उत्तर दिएँ । 
 
‘यसमा त फूल पनि रहेछ नि, यो मर्ने फूल कि नमर्ने फूल ?’ उसले सोधी । 
 
‘फूल त टिपेपछि मरिहाल्छ नि, तर मरे पनि यसले फूलको अस्तित्व राखेरै मर्छ’, मैले सोधेँ, ‘यो कुन फूल हो, तपाईं चिन्न सक्नुहुन्छ ? 
 
‘नाइँ मैले चिनिनँ’, उसले भनी । 
 
‘यो क्याक्टस्, अर्थात् सिउँडीको फूल हो । यो औसत मरूभूमिमा फूल्छ । सिउँडी धेरै प्रजातिका हुन्छन् । सबै सिउँडी फूल्दैनन् । र, कमै सिउँडीमात्र फूल्छन् । त्यही दुर्लभ सिउँडीको फूलमध्ये यो एउटा हो’, मैले बताएँ । 
 
ऊ हेरेको हे¥यै भई, मन्द मुस्कुराई । मैले उसको आँखामा प्रेम छचल्किरहेको पाएँ । एकछिन वातावरण स्तव्ध बन्योे । ऊ बोल्न सकिन, अर्थात् उसको बोल्ने शब्द नै सकिएको थियो । उसले एकपल्ट सोधी– 
 
‘तपाईंले मलाई केही कुरा ढाँटिरहनुभएको त छैन ?’ 
 
मैले उसको भनाइको आशय बुझिसकेको थिएँ । त्यसको जवाफ पनि मैले सिउँडीसँगै जोडेर मनोवैज्ञानिक ढंगले दिएँ– 
 
‘आज हामी यो ठाउँमा भ्यालेन्टाइन डे मनाउन आएका छौँ । यहाँ आउँदा पनि म कसैलाई ढाँटेर नै आएको हुनसक्छु । यो मेरो बाध्यता हो । तर, मैले तपाईंलाई गुलाबको फूल दिन सकिनँ । त्यो यथार्थ पनि तपाईं आफैँ बुझ्नुहुन्छ । तपाईंको र मेरो सम्बन्ध सामाजिक हिसाबले अवैध, मित्रताको हिसाबले अस्वाभाविक र प्रेमी–प्रेमिकाको हिसाबले अनैतिक ठहरिन पनि सक्छ । एक त, मैले तपाईंलाई पहिले नै आफ्ना कुरा स्पष्टसँग राखिसकेको छु । यो हाम्रो नयाँ मित्रता सिउँडीजस्तै अप्ठ्यारो र कठिन अवस्थामा छ । त्यसैले, तपाईंलाई सोचविचारका साथ मैले सिउँडीको फूल उपहार दिएको हुँ । विश्वभर अरबौँ जनसंख्या छ । सम्भवतः सिउँडीको फूल उपहार दिने म नै पहिलो पनि हुनसक्छु ।’ 
 
ऊ, अर्थात् नत्थीवाली पानीमा रूझ्दै भेट्न आएकी थिई । झरीले प्रेम गर्ने हरेक जोडीहरुलाई त्यो पानीले बिजोग बनाइदिएको थियो । ऊ झरीमा रूझेर निथ्रुक्क भए पनि कुनै प्रभाव देखिएको थिएन । मेरो भनाइले उसलाई के लाग्यो कुन्नि रु ऊ पुनः मुस्कुराई । उसको आँखामा स्पष्टसँग ‘समर लभ’ देखा परेको थियो । यसअघि मैले बिहे गरेर प्रेम गर्ने उम्मेदवारको प्रसङ्ग उठाएको थिएँ । बिहे गरेकाहरुसँग प्रेम गर्ने कुरा गरेको थिइनँ । तर, यहाँ त एउटा विवाहित युवकसँग कुनै अविवाहित युवतीको प्रेम भइरहेको थियो– ‘समर लभ’ ।
 
मैले घरवाली, परदेशवाली र नत्थीवालीसँग गर्ने प्रेम छुट्टाछुट्टै हो । त्यसो त, म प्रेम सबैलाई गर्छु । र, जीवनपर्यन्त गरिरहने नै छु । आउनुहोस्, प्रेमपूर्वक बाचौँ । प्रेममय बनाऔँ हरेक पलहरु र प्रेमिल बनिरहोस्, युयौँसम्म हरेकका प्रेमदिवसहरु...