मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

आधुनिक क्लाउडियसहरु अनि बिचरा प्रेम दिवस

आधुनिक क्लाउडियसहरु अनि बिचरा प्रेम दिवस


प्रेम र विवाहलाई संसारमा धेरै धर्महरूले आआफ्नै तरिकाले ब्यख्या गरेका रहेछन् । थरिथरीका शासकहरुले पनि शासनको बागडोर जसरी दह्रो हुन्छ त्यसरी नै समाजमा प्रेमलाई अनुमति दिने या नदिने काम गर्दै आएछन् । धार्मिक पादरीहरु समाजमा आफ्नो धार्मिक राजको आयु लम्ब्याउन युवा प्रेमी प्रेमिकाहरूलाई लट्ठ भएर स्वतन्त्र जीवन बिताउन नदिने जानी शत्रुकै रूपमा रहेका रहेछन् । पश्चिमी क्याथोलिक हुन वा इश्लाम या हिन्दु वा बौद्ध सबै धार्मिक तप्का र समूहमा खुल्लमखुल्ला प्रेम गर्नेलाई त्राहीमाम् नै रहँदै आएको पाइयो । 
 
आधुनिक समाजका युवा युवतीहरू प्रेममा पागल भए पछि न त अभिभावकले भनेको मान्दछन् न त समाजको रितिथितिको नै वास्ता गर्छन् । मन मिल्नु पर्‍यो, कुरा मिल्नु पर्‍यो, उमङ्ग र चाहनाको हाउभाउ एकै खालको हुनु पर्‍यो, अनि त के चाहियो र ? डेटिङ बाहिर, खाना बाहिर, सिनेमा बाहिर, भेटघाट बाहिर अनि अरू के के हे के हो ? कहिले पढाइको निहुँ, कहिले जागिरको निहुँ त कहिले अरू नै जरुरी काम । आखिर उनीहरूको लुकीछिपी गर्ने, उपहारको आदान प्रदान गर्ने काम जारी नै रहन्छ । 
 
कसैले उनीहरूको विरोध गरेमा उसलाई क्लाउडियस व्दितीय कै संज्ञा दिन पछि पर्दैनन् युवा युवतीहरू । उनीहरू आफूलाई उही पुरानो भ्याटिकन पादरी (सेन्ट भ्यालेन्टाइन) ठान्दछन् जो राजा क्लाउडियसको आदेशको उल्लंघन गर्दै जोडीहरूलाई सार्वजनिक रूपमै प्रेम गर्न उक्साउथे, प्रेमिल वातावरणमा रमाउन चाहन्थे उति बेला इश्वी सुरु हुनु भन्दा पनि २७० वर्ष अघि तिर । समाज र दरबारले मृत्युदण्ड नै दिन सक्ने जान्दा जान्दै पनि सेन्ट भ्यालेन्टाइन माया गर्ने जोडीलाई सकारात्मक उद्देश्यको लागि प्रेम गर्न दिनुपर्छ भन्दथे, प्रेमलाई धर्म कै संज्ञा पनि दिने गर्थे । 
 
क्लाउडियसको दरबार भने सधैँ मूर्ख र बलिया बाङ्गा सैनिकहरूको जगेर्ना गर्न चाहन्थ्यो, उनीहरूलाई प्रेम मायाजालबाट अगल्लै राखेर श्रीफ लडाइ र सीमा सुरक्षाको लागि प्रयोग गर्न चाहन्थ्यो । आखिर एक दिनको कुरा हो बिचरा भ्यालेन्टाइनलाई क्लाउडियसले प्रेम गरेकै आरोपमा फाँसी कै सजाय दियो । तैपनि आज आएर संसार भरिका प्रेमीहरूले उनकै नाममा भ्यालेण्डाइन डे मनाइ दिँदा प्रेममै सहिद बनेका उनी हरेक वर्ष यो सिजनमा पुनः जीवित हुने गरेका छन् । 
 
आज आएर दक्षिण एसिया त भ्यालेण्डाइन दिवसको उल्लासमा झुम्मिन थालेको छ भने अमेरिकी जीवनको त कुरै नगरौँ । संसारका जुन सुकै कुनाबाट आएका किन नहुन अमेरिकाको स्वतन्त्र समाजमा आफ्नो गच्छे अनुसार भ्यालेण्डाइन डेको तयारीमा जुटेकै हुन्छन् । उपहार, बेलुन र रंगीचंगी सामानको किनबेचमा भ्यालेण्डाइन सिजनले अमेरिकी बजारमा एक ज्वारभाटा नै ल्याउने गरेको छ हरेक साल । 
 
यस पटकको भ्यालेन्टाइन भने अमेरिकी जीवनका धेरैलाई एक बेग्लै समयको विगुल बोकेर आएको महसुस धेरै जोडीले गरेका छन् । सधैँ खुसीले उन्मुक्त हुने उनीहरूको छाती यस पटक भने कता कता खुम्चिएको अनुभूत हुन्छ । नजिकिएर मिल्नै लागेका ओठहरू कता कता आफ्नो दुरी मै अडीग रहेको भान हुन्छ । उपहार खरिदको लागि बाहिर निस्किएको क्रेडिट कार्ड पनि अनायासै वालेट तिरै घुसारेको देखिन्छ । 
 
प्रेमको मधुर स्पन्धन गुञ्जाउंदै सडक भरि छताछुल्ल हुने अमेरिकी युगलहरु त्यसो गर्नु भन्दा छाप्रो भित्रै सुरक्षित हुन ज्यादा लालायित भएझैँ लाग्दछ । सामाजिक संजालहरुमा खुल्लमखुल्ला पोष्टिएर गर्जिने लैला मजनुहरु आफ्नो हातलाई लगाम लगाउँदै अर्को सालतिरै ट्वीट गर्ने निधो गर्दै छन् । रमाइलो घरजमको सुन्दर परिकल्पनालाई अलिक थाती राखेरै अघि बढ्ने निधो पनि गर्दै छन् । भ्यालेण्डाइन डे मनाउनेहरुले मनाउँदै छन् तैपनि कता न कता केही न केही कमीको महसुस विशेषतः यहाँ रहेका अाप्रवासी युवा र भ्यालेण्डाइन कपलहरुले गरिरहेका छन् । 
 
यस पटक अमेरिकी युवा जोडीहरूलाई भने धेरै किसिमका क्लाउडियसहरुले घोच्ने र पोल्ने गरेको अनुभूत हुन्छ । एक र अर्को रूपमा हरेक महिना जस्तो ल्याइएका इमिग्रेसन पोलिसीहरु, देश भित्रै भइरहेका भरपकडहरु, अमेरिका भ्रमणमाथिका प्रतिबन्धहरू, ब्याज बढाइएका स्टुडेण्ट लोनहरू, नेट न्युट्रालिटी हटाएर इन्टरनेट महँगो बनाउने कुराहरू, सरकारी ट्याक्समा गरिएका कडाईहरु, राष्ट्रिय राजनीतिले दिनानुदिन निम्त्याइरहेका जडहरू र संस्कारयुक्त समाजको निर्माणमा लागि रहेका धमिराहरू आदिलाई यो देश र समाजलाई सर्धै अवसरको रूपमा मात्र देख्ने युवाले आधुनिक क्लाउडियस कै रूपमा हेरेको छैन भन्न सकिन्न । आगे दोहोर्याएरै छोडौँ न त धेरैको प्यारो यो नारा— भ्यालेन्टाइन अमर रहून्, जय प्रेम दिवस ।
 
– हर्नडन, भर्जिनिया