मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमति

सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमति


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो गर्ने गरी सहमति भएको बताएका छन् । 
 
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले ओली–प्रचण्डबीचको वान–टु–वान भेटवार्तामा आलोपालो नेतृत्वमा सरकार चलाउन सकिनेबारे समझदारी कायम भएको संकेत गरेका हुन् । 
 
उनले भने, “असोज १७ गते वाम गठबन्धन घोषणा गरेकै दिन हामीले ७ बुँदे सहमति बाहिर ल्याएका थियौं, त्यो सहमतिमा पनि नेतृत्व आलोपालो चलाउने अन्तरनिहित आशय थियो, कसको नेतृत्व भन्ने कुरै हुँदैन नि, पार्टी एक भैसकेको छ, खाली घोषणा गर्न मात्रै बाँकी छ ।” 
 
उनले प्रमुख नेताद्धय ओली र प्रचण्डवीचको निर्णायक वार्तामा पनि निर्वाचन आयोगले सम्पूर्ण मतपरिणाम सार्वजनिक गरेपछि वाम गठबन्धनकै संयुक्त रुपमा सरकार बनाउनेबारे सहमति भएको बताए । 
 
रावलले संयुक्त सरकार सञ्चालनकै अवस्थामा पार्टी एकता प्रक्रियालाई पनि निरन्तरता दिनेबारे मंगलबारको भेटवार्तामा छलफल भएको विश्वास दिलाए । 
 
उनले अबको एक हप्ताभित्रै एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने स्पष्ट पारेका छन् । रावलले भने, “अबको प्रधानमन्त्री ओली नै बन्नुहुन्छ, यो पनि भन्ने विषय हो र ? जनताले त्यही भन्छन्, जनमतले त्यही भनेको छ, पत्रपत्रिकाले त्यही भनेको छ, देश र जनताले भनिसक्यो त ?”
 
कुन नेतालाई कुन बेला कुन जिम्मेवारी दिने भन्ने कुरा समयले निर्धारण गर्ने र दुवै पार्टी एक भएकोले आलोपालो भन्ने कुरा नहुने रावलको भनाइ थियो । 
 
एकता प्रक्रियाको छलफल सकारात्मक दिशातर्फ उन्मुख रहेको उल्लेख गर्दै रावलले भने, “एकताले ठोस रुप लिनेवित्तिकै कार्यदलमार्फत सबै कुरा बाहिर ल्याउँछौं, सरकार गठन र एकता सँगसँगै अघि बढाउँछौं, एक अर्काका संवेदनशिलतालाई बुझेर अघि बढ्छौं, एकताबारे अब कुनै शंका वा भ्रम पाल्नुपर्ने जरुरी छैन ।”