मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

यी हुन् प्रदेश नं ६ बाट निर्वाचित राष्ट्रियसभा सदस्य

यी हुन् प्रदेश नं ६ बाट निर्वाचित राष्ट्रियसभा सदस्य


सुर्खेत । राष्ट्रियसभाको निर्वाचनमा प्रदेश नं ६ बाट निर्वाचित भएका वाम गठबन्धनका उम्मेदवार विभिन्न पृष्ठभूमिबाट आएका छन् ।
 
महिला तथा खुला सदस्य तीन/तीन र अपांग/अल्पसंख्यकमा एक र दलितमा एक गरी राष्ट्रियसभामा आठजना निर्वाचित भएका छन् । वाम गठबन्धनको भागबण्डाअनुसार यो प्रदेशमा नेकपा (एमाले)का तर्फबाट खुलातर्फ रुकुम पश्चिमका ठगेन्द्र पुरी, जाजरकोटका भैरवसुन्दर श्रेष्ठ, महिलातर्फ हुम्लाकी कविता बोगटी, सुर्खेतकी नन्दा शर्मा (चपाई) र दलिततर्फ कालीकोटका नरपति लुहार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । 
 
माओवादी केन्द्रबाट खुलातर्फ जाजरकोटका कालीबहादुर मल्ल, महिलातर्फ मुगुकी युटुल तामाङ र अपांग/अल्पसंख्यकतर्फ कालीकोटका जीवनबहादुर बुढा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । 
 
एकल संक्रमणीय प्रणालीअनुसार खुला तथा महिलातर्फ निर्धारण गरिएको मतभार एक हजार १६२ क्रस गरी उनीहरु विजयी भएको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले जानकारी दि । त्यसैगरी, बहुमतीय प्रणालीअनुसार अपांग/अल्पसंख्यक र दलित सदस्य निर्वाचित भएका थिए ।
 
उपप्रधानपञ्चदेखि राष्ट्रियसभा सांसदसम्म 
 
कालीकोटका नरपति लुहार राष्ट्रियसभाको सदस्यको निर्वाचनमा वाम गठबन्धनका तर्फवाट प्रदेश ६ बाट विजयीको खाता खोल्न सफल राष्ट्रियसभाको सदस्य भएका छन् । राष्ट्रियसभाको सदस्यमा विजयी नरपति लुहार उपप्रधानपञ्च, वडाध्यक्ष हुँदै राष्ट्रियसभाको सांसद बनेका छन् । बहुदल आएपछि एमालेको राजनीतिमा लागेका लुहारलाई नेकपा (एमाले)ले राष्ट्रियसभा सदस्यका उम्मेदवार बनाएको हो । २०४४ सालमा कालीकोट जिल्लाको स्युना गाउँ पञ्चायतको उपप्रधानपञ्चमा उनी विजयी भएका थिए । 
 
२०५४ सालमा साविकको स्युना गाविसमा एमालेबाट वडाध्यक्षमा विजयी भएका थिए । २०५३ सालमा एमालेको कालीकोट जिल्ला कमिटी सदस्य भएका लुहार हाल एमाले निकट जातीय मोर्चाको जिल्ला अध्यक्ष र कालीकोट जिल्ला कमिटी सदस्य हुनुहुन्छ । राष्ट्रिसभाको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट ६ नं प्रदेशबाट विजयको खाता खोल्न सफल लुहारले तीन हजार ६६६ मत ल्याएर आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मित्रलाल सार्कीलाई पराजित गरेका थिए । 
 
जनसेनाको कमाण्डर हुँदै राष्ट्रियसभाको सदस्य 
 
प्रदेश ६ बाट राष्ट्रियसभाको सदस्यमा निर्वाचित नरहरिनाथ गाउँपालिका–२ कालीकोटका जीवनबहादुर बुढा तत्कालीन नेकपा (माओवादी) जनयुद्धका सेना कमाण्डर हुँदै राष्ट्रियसभाको सदस्यमा चुनिनुभएको छ । सानैमा कम्युनिष्ट राजनीतिमा लागेका बुढा २०५२ सालमै पार्टीको सदस्यता प्राप्त गरेका थिए ।
 
२०५३ कात्तिकमा छापामार दलको सदस्य हुँदै बुढा माओवादी जनासेनामा भर्ना भएका थिए । बुढा २०६० सालमा माओवादी जनसेनाका बिग्रेड कमाण्डर हुँदै २०६१ को अन्तमा सातौँ डिभिजन सहकमाण्डर बनेका थिए । शान्ति प्रक्रियासँगै भएको माओवादी सेनाको व्यवस्थापन हुँदा उनले क्यान्टनमेन्टमा सेनाको नेतृत्व गरे ।
 
उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रोपटक प्रधानमन्त्री हुँदा स्वकीय सचिवका रुपमा सचिवालयमा रहेर काम गरिसकेका छन् ।
 
उनी अहिले नेकपा (माओवादी केन्द्र)को पोलिटब्यूरो सदस्य छन् । सेना हुँदाका सबै साथीहरूले समायोजन रोज्दा आफूले राजनीति रोजेको उनले बताए । “म राजनीति गर्न युद्धमा गएको हो, जागीर खान होइन, त्यसैले मैले सेना समायोजन प्रक्रियालाई अँगालिन,” उनले भने । 
 
शिक्षक जागिर छोडेर राष्ट्रिय सभा सदस्य
 
भेरी नगरपालिका–४ जाजरकोट निवासी कालीबहादुर मल्ल नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य हुन् । २०३४ सालदेखि शिक्षक पेशामा लागेका उनी २०४३ मा जागिर छोडेर राष्ट्रिय जनमोर्चाबाट राजनीतिक जीवन सुरू गरेका थिए । २०४९ सालमा जिल्ला विकास समिति जाजरकोटको सदस्यमा निर्वाचित भएको उनी २०५२ सालदेखि नेकपा (माओवादी) राजनीतिमा होमिएको थिए ।
 
२०६४ सालको संविधानको सभाको निर्वाचनमा विजयी भएका उनले यसपटक राष्ट्रियसभा निर्वाचनको खुला सदस्यमा जित हात पारेका छन् । 
 
त्यसैगरी, जाजरकोट भेरी नगरपालिका–४ निवासी भैरवसुन्दर श्रेष्ठ मावि स्थायी शिक्षकको जागिर छोडेर २०४७ सालमा राजनीतिमा लागेका हुन् । श्रेष्ठ तत्कालीन नेकपा (माले)को संस्थापक जिल्ला संयोजक थिए । निरन्तर पार्टी संगठनको राजनीति गर्दै आउनुभएका श्रेष्ठ नेकपा (एमाले)को नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए । 
 
श्रेष्ठ २०४९ मा जिल्ला विकास समिति जाजरकोटको उपसभापति र २०५४ सालमा सभापतिमा निर्वाचित भएका थिए । पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन गर्दैगर्दा अनेरास्वयिुबाट राजनीति यात्रा सुरू गरेकाले उनी यसपटकको राष्ट्रियसभाको खुला सदस्यमा निर्वाचित भएका छन् । 
 
निर्वाचित सदस्य मल्ल र श्रेष्ठ दुवै एउटै वडाका हुन् । २०४९ सालमा जिल्ला विकास समिति जाजरकोटको उपसभापतिमा श्रेष्ठ र सदस्यमा मल्ल निर्वाचित भएका थिए । मितेरी नाताका दुवैले २५ वर्षपछि पुनः एकै सभामा निर्वाचित भएका छन् । 
 
जिविस उपसभापति हुँदै राष्ट्रियसभा सदस्य
 
एमालेको विद्यार्थी तथा युवा राजनीतिबाट पार्टी राजनीतिमा आएका ठगेन्द्र पुरी रुकुम (पश्चिम) बाँफिकोट गाउँपालिका निवासी हुनुहुन्छ । पुरी एमालेका तर्फबाट २०५४ सालमा जिविस रुकुमको उपसभापतिमा जितेका थिए । पार्टीको तत्कालीन रुकुम जिल्ला कमिटी अध्यक्ष हुँदै निरन्तर राजनीतिमा लागेका राष्ट्रियसभाको खुला सदस्यमा निर्वाचित उनी हाल एमाले ६ नं प्रदेश कमिटी सदस्य हुन् ।
 
कविता बोगटी अदानचुली गाउँपालिका–२ हुम्ला निवासी हुन् । उनी नवलपरासीमा उच्च शिक्षा पढ्दै गर्दा अनेरास्ववियु हुँदै अनेम संघबाट पार्टी राजनीतिमा लागेका थिए । हाल उनी एमाले निकट कर्णाली–काठमाडौँ सम्पर्क मञ्चको सदस्य छन् । वाम गठबन्धनका तर्फबाट राष्ट्रियसभाको महिला सदस्यमा निर्वाचित भएका छन् । 
 
लामा समुदायबाट पहिलो महिला सदस्य
 
युटुल तामाङ (लामा) मुगु जिल्लाको कार्मारोङ गाउँपालिका निवासी हुन् । उनी मुगु जिल्लाको लामा समुदायबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित पहिलो महिला सदस्य भएका हुन् । माओवादी केन्द्र निकट अनेम संघ (क्रान्तिकारी) हुँदै पार्टी राजनीति सुरू गरेकी उनी संघको मुगु जिल्ला अध्यक्ष भएका थिए । 
 
राष्ट्रियसभा सदस्यमा निर्वाचित नेकपा (माओवादी) निकट उहाँले लामा मुक्ति मोर्चाको सचिवका रुपमा काम गरेका थिए । २०६४ सालको संविधानसभाको समानुपातिक सदस्यमा निर्वाचित तामाङ हाल नेकपा (माआवादी केन्द्र)को महाधिवेशन आयोजक समिति सदस्य हुन् । 
 
पञ्चायतविरुद्ध लडेकी शर्मा पनि सदस्य
 
सुर्खेतका ग्रामीण भेकमा तत्कालीन पञ्चायती शासनविरुद्ध भूमिगत संघर्ष गर्दै आएकी नन्दा शर्मा (चपाई) पञ्चपुरी गाउँपालिका–३ सुर्खेत सालकोट निवासी हुन् । उनी वाम गठबन्धनका तर्फबाट राष्ट्रिय सभाको महिला सदस्यमा निर्वाचित भएकी छन् । 
 
२०३५/०३६ सालदेखि कम्युनिष्ट राजनीतिमा लागेकी शर्मा अनेम संघको जिल्ला अध्यक्ष हुँदै हाल नेकपा (एमाले)कोे ६ नं प्रदेश कमिटी सदस्य तथा अनेम संघको केन्द्रीय सदस्य हुन् । रासस