मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

कतै नेकाले समय र साथी चिन्न नसकेको हो कि ?

कतै नेकाले समय र साथी चिन्न नसकेको हो कि ?


गएको आम निर्वाचनसँगै नेपाली राजनीतिले एउटा मोड लियो । लामो अन्तरालको संक्रमणकाल अब समाप्तितिर अग्रसर छ । शान्त र सम्पन्न नेपालको सपना अब साकार हुनुपर्छ । र, यो कामको बिँडा अरु कसैको होइन नेपाली आफैँले उठाउनुपर्छ । अपेक्षा गरौँ पक्का यसो हुनेछ । बोलीमा देखिएका र देखाइएका सपनाहरु मिथ्या हुनेछैनन् । यथार्थमै परिणत हुनेछ ।
 
संघीय गणतन्त्र नेपालको संबिधान जारी भयो । सोचेभन्दा धेरै शान्तिपुर्ण तबरले चुनाव भयो । स्वाभाविक छ जीत हार पनि भयो । मताधिकारको माग गर्नेले मतको निर्णय मान्नैपर्छ । र यो पाला अपेक्षाकृत जनमतनै आएको हो । कसैले अस्विकार गर्ने कुरा थिएन, भएन पनि । नेपालमा लोकतन्त्रको विजारोपण एवं अबिराम पृष्ठपोषण गर्ने दल नेपाली कांग्रेस हो । लोकतान्त्रकालिन नेपालमा सबैभन्दा बढी जनमत संगालेको र सबैभन्दा बढी शासन सम्हालेको दल नेपाली कांग्रेस हो । त्यो नेपाली कांग्रेस यो निर्वाचनको परिणामपछि दोस्रो स्थानमा झर्यो ।
 
परिणाम अनपेक्षित थिएन । नेपाली कांग्रेसका लागि यसपटक परिस्थिती सहज थिएन । प्रतिपक्ष सुधारोन्मुख, सुसंगठीत एवं आक्रामक थियो । थप सत्ता साझेदारीमा रहेको ठूलो घटक प्रतिपक्षीसँग गठजोड गर्न पुगेको थियो । प्रतिपक्ष नेकपा एमालेसँग सत्तारुढ माओवादी केन्द्रले अप्रत्याशित रुपमा गठन्धन गर्यो । राजनीतिमा ‘धोका’ भन्ने शव्दले कुनै माने राख्दैन शायद । तर, यस्ता साझेदारीमा न्यूनतम इमान्दारीको भने अवश्य अर्थ हुन्छ । यही इमानको उचनिचबाट नेकाका लागि प्रतिकूलता जन्मिएको हो । थप अन्य कारणहरुले यस प्रतिकूलताका लागि मलजल गरेको हो । यथा, आफ्ना उपलव्धिहरुलाई जनतासमक्ष पुर्याउन नसक्नु, सांगठनिक कमजोरीहरुलाई सुधार्न नसक्नु, गुटपरस्तीबाट उक्लिन नसक्नु, अन्तरघातको पुरानो रोगको रोकथाम नहुनु र आक्रामक हुनुपर्ने बेलामा रक्षात्मक हुनपुग्नु । यसका बावजुत नेकाले पाएको मत शानदार हो । जबकि स्थानीय चुनावसँगको मत तुलना गर्ने हो भने मतान्तर अझै धेरै हुनुपर्ने थियो ।
 
जे होस्, नेपाली कांग्रेसलाई जनताले प्रतिपक्षमा बस्ने आदेश दिए । ‘कम्युनिष्ट’ हरुलाई मिलेर शासन गर्ने जिम्मेवारी र अवसर मिलेको छ । प्रकृयाको समापनसँगै कांग्रेसले सत्ता बहिर्गमन गर्छ । सात दशकसम्म लोकतन्त्रका खातिर संघर्षरत बलिदान गरेको दल हो, नेपाली कांग्रेस । सत्ता छोडेर बस्नुपर्ने परिस्थिती पहिलो पटक आएको होइन नेपाली कांग्रेसलाई । कांग्रेसको मुल राजनीति विश्वास भनेकै जनमतको कार्यान्वयन हो ।
 
अहिले कांग्रेसलाई सत्ता छाड्ने दवाव दिइदैछ । उ माथि सत्तालोभको आरोप समेत लगाउन लागिएको छ । निर्वाचनको समाप्तिसँगै ‘कामचलाउ’ भैसकेको वर्तमान सरकारको जिम्मेवारी नवनिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुनै हो । तर, अहिलेको स्थितीमा सत्ता कस्लाई सुम्पने ? संसदले पुर्णता लिइसकेको छैन । प्रतिनिधि सभाको परिणामपछि कांग्रेसले सरकार बनाउने संभावना हाललाई देखिदैन । त्यो स्थिति राष्ट्रिय सभाको निर्वाचनपछि पनि नआउने स्पष्ट छ । तर हुन्छ चाँहि के ? कस्ले बनाउँछ सरकार ? कसैको एकल बहुमत आउँछ ? अथवा तालमेल गठवन्धनको सरकार बन्छ ? यावत प्रश्नहरुको जवाफ संसदको पूर्ण स्वरुपबाट मात्र पाउन सकिन्छ । वा एमाले र माओवादी केन्द्रको कथित एकीकरणले मुर्त रुप लिएको अवस्थामा पाउन सकिन्छ ? त्यसैका लागि ‘कुर्नु’ को विकल्प छैन ।
 
विगतमा आठ महिना लामो समयसम्म ‘काम चलाउ’ नै चलिरहेको नजीर पनि छ । अहिले निर्वाचन आयोगलाई आक्षेपित गर्ने काम पनि सुरु भएको छ  । प्रधानमन्त्रीलाई धारेहात लगाउन पनि थालिएको छ । यो हतारको काम भएको छ । जहाँसम्म निर्वाचन आयोगको सवाल छ, उसलाई कुनै विवादमा तान्नु जरुरी छैन । निर्वाचन आयोगले जान लागेको सरकारसँगको सहकार्यमा कुनै षडयन्त्रको तानाबाना बुनेको शंका बेकार छ ।शंका गर्नुपर्दा त बर्तमान निर्वाचन आयोग प्रमुखलाई नियुक्त गर्नेसँग जोडेर शंका गर्न सकिन्छ । अयोधीप्रसादको बफादारीताकै कुरा गर्ने हो भने उनको बफादारी नेपाली कांग्रेस र शेरबहादुर देउबाभन्दा आफुलाई नियुक्त गर्न माओवादी केन्द्र र पुष्पकमल दाहालप्रति हुनुपर्ने हो । यसै मेसोमा राजनीतिको पासा सदैब आफ्नो पक्षमा पार्न सिपालु प्रचण्डको भूमिका यतिखेर दृष्टिगत गरिनु बान्छनीय छ । वर्तमानमा उनको अभिष्ट के हो ? उनको खेलको शैली के हो, यता हेर्नु बान्छनीय हुन्छ कि, त्यसैगरि प्रचण्डका सहकारी खड्गप्रसाद ओली के पकाउँदैछन्, निर्वाचनपूर्बको संकल्प एवं वचनबद्धता निर्क्यैामा पुग्दैछ कि अर्को गन्तव्यमा लागिसक्यो ?
 
खैर, सत्ता सम्हाल्न आउनेहरु जसरी आउँछन् त्यसैगरि आउँछन् । यसमा अनुमानको खेती गर्नुभन्दा राजनीतिले स्वस्थ एवं नियमित गति लियोस् भन्ने शूभेच्छा बढी जायज हुनेछ । सिक्काको अर्को पाटोमा सत्ता बाहिर जान लागेको दल नेपाली कांग्रेस छ । नेकाले अब के गर्छ ? वा के गर्नुपर्छ ? पंक्तीकार आफू स्वयम् नेकासँग संबन्धित भएको कारण यतातिर केन्द्रीत हुनु बढी आवश्यक ठान्दछ ।
 
नेपाली कांग्रेससँग गौरवशाली इतिहास छ । कालजयी व्यक्तित्वहरुको मुर्धन्यता छ । विपी बिचारको विराशत छ । लोकतान्त्रिक समाजवाद मुलमा रहेको त्यो विचारले वर्तमान कालमा सर्वोच्चता राख्दछ । आज सबै धारहरुको दिशा त्यतैतिर गइरहेको देखिन्छ, जुन गन्तव्य विपीले सात दशक अघि नेपाल र नेपालीलाई देखाउनुभएको थियो । तर वहाव छैन, भूमरीमात्र छ । हामी संघर्ष, संघर्ष अनि फेरि संघर्षमै जेलिइरहेका छौँ । हाम्रा प्रत्येक संघर्षका परिणति प्राप्तीनै छ । तर, हामीले त्यो प्राप्तीलाई जगेर्ना गर्न सकेका छैनौ ।
 
आफ्नो आदर्श र मूल्यबाट हामी पटक पटक चिप्लिएका छौँ । म, नेतृत्वलाई ‘च्यूत’ भएको मान्दिन । तर, चुकेको भने अवश्य छ । आजको आवश्यकता शायद यही चुकको निदान र समाधान हो । कतै नेकाले समय र साथी चिन्न नसकेको पो हो कि ? अन्यथा कांग्रेसमा योग्य र इमान्दार व्यक्तिहरुको कमि छैन । खाँचो छ त केवल यस्तो विराट व्यक्तित्वको, जसले सबैलाई समेट्न सकोस् । आफू, आफन्त र आफ्नो गुट अनि स्वार्थभन्दा माथि उठ्न सकोस् । यस्तो व्यक्तित्व बाहिरबाट आउँदैन ।
 
आफूभित्रैबाट परिस्कृत र परिमार्जित भएर निस्कनुपर्छ । व्यक्तित्वहरुकै मन्थनबाट व्यक्तित्व निस्कन्छ । यसका लागि साथ सहयोग र विश्वास आवश्यक हुन्छ । सह–अस्तित्वलाई स्विकार्नुपर्छ । सामुहितालाई अंगाल्नुपर्छ । चरित्र र व्यबहारमा सुधार हुने हो भने अध्यावधि कांग्रेस बिग्रिएको छैन । विपीको विचार, सुवर्णको समर्पण, गणेशमानको संकल्प, किसुनजीको सादगी र गिरिजाबाबुको समय सापेक्ष सोच र शैलीका साथ अघि बढ्नुपर्छ । नेपाली कांग्रेस कहिल्यै हार्दैन ।
 
राष्ट्रियसभामा एउटा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न नेपाली कांग्रेसबाट छानिएका र निर्वाचित हुन लागेका युवा अनुहारहरूले पनि अाम कार्यकर्ताको यो भरोसालाइ जीवित बनाएका छन् ।
 
बिट मार्नु अघि एउटा सुखद प्रसंग । नेपाली कांग्रेसको प्रवक्तामा विश्वप्रकास शर्मालाई नियुक्त गरिएको छ । किशोर अवस्थादेखिनै लोकतान्त्रिक आन्दोलनमा समर्पित नेपाल विद्यार्थी संघका पूर्ब अध्यक्ष शर्मा शिष्ट एवं शालीन, निष्ठावान, कर्मठ, बौध्दिक एवं जुझारु युवानेताका रुपमा परिचित छन् । नेपाली कांग्रेसका अाम कार्यकर्ताहरूले उनी र उनीजस्ता तेस्रो पुस्ता प्रति ठूलो आशा र भरोसा राखेका छन् ।सेतोपाटिबाट 
 
(लेखकः नेका महासमितिको सदस्य हुन् ।)