मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

चितवनमा चेपाङ युवाले बनाए मिनी जहाज

चितवनमा चेपाङ युवाले बनाए मिनी जहाज


चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–२, गड्यौलीका सरोज चेपाङले ‘मिनी प्लेन’ बनाएर सबैलाई चकित बनाएका छन् । 
 
सानैदेखि तीक्ष्ण बुद्धिका सरोजको आर्थिक अवस्था कमजोर हुँदा पढ्ने रहर भने अधूरै रह्यो । उनले माध्यमिक तहको पढाइसमेत पूरा गर्न पाएनन् । सानैदेखि जिज्ञासु र प्राविधिक काममा चासो राख्ने सरोजले जीविकोपार्जनका लागि ग्यारेजमा काम गर्न थाले । त्यहाँ गाडी बनाउने काममा खटिए । 
 
सानो प्लेन र हेलिकप्टर बनाएर व्याट्रीमार्फत उडाए पनि प्लेन बनाएर आकाशमा उडाउने रहर भने बल्ल पूरा हुन लागेको छ । उनी यतिबेला दुई जना चढ्न मिल्ने मिनी एयर क्राफ्ट (सानो जहाज) बनाएर सबैको ध्यान खिचेका छन् । 
 
उनले बनाएको प्लेन हेर्नकै लागि दैनिक दुई सयभन्दा बढी मानिस आउन थालेका छन् । ६ महिनाअघि प्लेन निर्माणको काम सुरू गरेका सरोजले आर्थिक अभावकै पूर्णता दिन सकेका छैनन् । उनी भन्छन्, “आर्थिक अभावकै कारण पढाई पूरा गर्न सकिनँ । अहिले पनि पैसाकै कारण प्लेन निर्माणमा ढिलाइ भइरहेको छ ।” 
 
उनले ६ महिनाअघिदेखि प्लेन निर्माणको काम सुरू गरेका हुन् । उनका बाबु रोजगारीका लागि कतारमा गाडी चलाउँदै आएका छन् । सरोज भन्छन् “बाले पठाएको पैसाले सामान जोडेर प्लेन बनाएको हुँ । आल्मुनियम, स्टील, स्कुटरको टायर, मोटरसाइकलको ब्रेक र क्लजलगायत प्लेन निर्माणमा प्रयोग गरेको छु । अहिलेसम्म ५ लाख रुपैयाँ खर्च भइसकेको छ ।”
 
छोराले बनाएको प्लेन हेर्न दैनिक दुई सय जना आउने गरेको सरोजकी आमा लीला बताउँछिन् । उनी भन्छिन्, “पैसाभन्दा ठूलो नाम रहेछ । छोराले केही गर्छु भनेपछि उसको इच्छाविपरीत जान पनि भएन । छोराले घर बनाउने पैसा प्लेनमै सिध्याइसक्यो ।” काठमाडौँबाट पाइलट र ईन्जिनियरहरु आएर प्लेन निर्माणको काम हेरेर शुभकामना दिएर गएको लीला बताउँछिन् ।
 
सरोज भन्छन्, “६.५ हर्स पावरको तीन वटा इन्जिन भए पनि त्यसले नधान्ने भएकाले ठूलो इन्जिनको आवश्यकता परेको छ । प्लेन निर्माण भइसक्दा डेढ क्वीन्टल तौलको बन्छ । अहिले भएको इन्जिनले धान्दैन । ठूलो इन्जिन किन्न पैसा पुगेको छैन । ठूलो इन्जिन किन्न सके १५ दिनभित्रै प्लेन उडाएरै देखाउने छु ।”
 
बाबुको कमाइबाहेक अरु कसैबाट सहयोग नपाएको बताउँदै सरोज भन्छन्, “ठूलो इन्जिनका लागि ७० हजार रुपैयाँ जति लाग्छ । सुरक्षित इन्जिन भए प्लेन जतासुकै लैजान सकिन्छ । ठूलो इन्जिन नहुँदा प्लेनभन्दा पहिले प्याराग्लाइडिङ उडाउने तयारी गर्दैछु ।”