मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सन्तुलित खानपानले ६० प्रतिशत क्यान्सर नियन्त्रण हुने

सन्तुलित खानपानले ६० प्रतिशत क्यान्सर नियन्त्रण हुने


हिमालय खबर संवाददाता-
सन्तुलित खानपान र स्वस्थ्य जीवनशैलीबाट ६० प्रतिशत क्यान्सर नियन्त्रणमा आउने विज्ञहरूले औंल्याएका छन् । 
 
चितवनको भरतपुर, यज्ञपुरीस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले गरेको अनुसन्धानले स्वस्थकर नभएका खानेकुरा, विषादीयुक्त तरकारी तथा फलफूलको सेवनका कारण अत्यधिक क्यान्सर रोगी बढेको देखाएको छ । 
 
क्यान्सर रोकथाम नियन्त्रण तथा अनुसन्धान विभागका विभागीय प्रमुख भोला सिवाकोटी भन्छन्, “६० प्रतिशत क्यान्सरका बिरामी अस्वस्थकर खानपानका कारणले भइरहेका छन् ।”
 
भरतपुर क्यान्सर अस्पतालको वार्षिक अनुसन्धानले पनि ३० प्रतिशत क्यान्सरका बिरामी सूर्तीजन्य पदार्थको सेवनका कारणले भइरहेको देखाएको छ । बाँकी १० प्रतिशत क्यान्सरका बिरामी वातावरण प्रदूषण, सरसफाइ, व्यायाम, नियमित परीक्षण नगर्नुजस्ता कारणले भइरहेको प्रमुख सिवाकोटीले बताए । 
 
क्यान्सर अस्पतालको अध्ययनअनुसार बासी सडेगलेको खानेकुरा, अत्यधिक विषादीयुक्त तरकारी तथा फलफूल, अखाद्य रंग मिसिएका खाद्यपदार्थको सेवनका कारण क्यान्सरका बिरामी अत्यधिक बढेको देखाएको छ । रासायनिक मल प्रयोग गरेर उत्पादित खाद्यपदार्थको सेवनले पनि क्यान्सरका बिरामी बढेको क्यान्सर विशेषज्ञहरुले बताएका छन् ।
 
बीपी क्यान्सर अस्पतालका अनुसार नेपालमा बर्सेनि ३५ हजारको संख्यामा नयाँ क्यान्सरका बिरामी थपिने गरेका छन् । तीमध्ये १० हजार क्यान्सर बिरामीको निदान (क्यान्सर भए÷नभएको पत्ता लाग्ने) हुन्छन् । बाँकी २५ हजार क्यान्सरका बिरामी समाजमा त्यतिकै बसिरहेका हुन्छन् । अर्थात् उनीहरु बचाउन नसक्ने अवस्थामा पुग्छन् ।
 
क्यान्सर विशेषज्ञहरु शारीरिक सक्रियता, नियमित स्वास्थ्य परीक्षण, सूर्तीजन्य पदार्थको सेवनबाट टाढा रहेमात्रै ४० प्रतिशत क्यान्सरका बिरामी घट्ने बताउँछन् । उनीहरूका अनुसार नेपालमा एक लाख जनसंख्यामा १२० जनालाई क्यान्सर लाग्ने देखिएको छ ।
 
समयमै रोगको पहिचान गरेर सही उपचार गरे क्यान्सर रोग निको पार्न सकिन्छ । तर समयमै रोगको पहिचान नहुँदा क्यान्सरले विकराल रुप लिइरहेको बीपी क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्य बताउँछन् । 
 
डा. आचार्य भन्छन्, “मानिसहरुको आहारविहार, खानपिन, विलासी जीवनशैलीलगायतका विविध कारणले क्यान्सर रोगी बढिरहेका छन् । मानिसहरुमा क्यान्सरसम्बन्धी चेतना आए पनि अस्वस्थ जीवनशैलीका कारण यो रोग नजानिँदो पाराले बढिरहेको छ ।”
 
बीपी क्यान्सर अस्पतालमा वार्षिक १० हजारभन्दा बढी क्यान्सरका बिरामी आउने गरेका छन् । देशभरका ६० प्रतिशत क्यान्सरका बिरामीको उपचार यही अस्पतालमा हुने गरेको छ ।