मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

चितवन निकुञ्जमा संरक्षित पक्षी राजधनेशबारे अनुसन्धान

चितवन निकुञ्जमा संरक्षित पक्षी राजधनेशबारे अनुसन्धान


चितवन । त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरमा चौथो सेमेष्टरमा अध्ययनरत अर्जुन खनालले संरक्षित पक्षी राजधनेशमा अनुसन्धान सुरू गरेका छन् । 
 
नेपालमा पाइने तीन प्रजातिका धनेशमध्ये राजधनेशलाई सरकारले संरक्षित प्रजातिको सूचीमा राखेको छ । तराईका धना सालको जंगलमा औसत ५०० मिटरको उचाइमा राजधनेस पाइन्छ । नेपालमा विभिन्न वन तथा निकुञ्जहरुमा १५० देखि २०० को संख्यामा राजधनेस पाइन्छ । 
 
चितवन राष्ट्रिय निकुञ्जमा सन् २०१३ मा गरिएको गणनामा ४४ वटा राजधनेस फेला परेको थियो । खनालले सन् २०१८ मा चितवन निकुञ्जलाई ६ वटा ब्लकमा विभाजित गरेर गरेको पहिलो वैज्ञानिक अनुसन्धानमा ३० वटा राजधनेसको रेकर्ड गरिएको छ । उनले प्रत्येक ब्लकमा २० किलोमिटरको दूरीमा १४ दिनको पैदलयात्राबाट राजधनेसको संख्या पत्ता लगाएका हुन् । 
 
अनुसन्धानकर्ता खनालले विगत नौ वर्षदेखि चरा अवलोकन, अध्ययन तथा चराको वासस्थानबारे चासो लिँदै आएका छन् । नेपाल पक्षी संरक्षण र बेश चितवनका सदस्य रहेका उनले विभिन्न विद्यालयहरुमा चरा संरक्षण कार्यक्रम गर्दैै आएका छन् । 
 
अनुसन्धानकर्ता खनालले माडीदेखि ठोरी, अमलटारीदेखि कसरा, त्रिवेणीदेखि वागवन, त्रिवेणीदेखि सोमेश्वर र सौराहादेखि पोतना तालसम्मको निकुञ्ज क्षेत्रलाई आधार बनाएर अनुसन्धान गरेका हुन् । उनको अनुसन्धानमा सघाउ पु¥याउन नेचर गाइडसहित अन्य तीनजना  स्वयम्सेवी अनुसन्धानकर्ताले सघाएका थिए । 
 
 
ग्रेट हर्नविलको नामले चिनिने दुर्लभ पक्षी राजधनेशको संख्या घट्नुमा  वासस्थान नास हुँदै जानु, अनुसन्धान कम हुनु, ठूला–ठूला सालका रुख काटिनु र चोरी शिकार बढ्नु रहेको निष्कर्ष अनुसन्धानकर्ता खनालले निकालेका छन् । 
 
सुन्तला र पहेंलो रंगको लामो ठुँड र सिउर हुने सेता र काला प्वाख भएको चरालाई राजधनेश भनेर चिनिन्छ । राजधनेसको आहारामा लसुने फल, डुम्री, छेपारो, साना चरा र सर्प पर्दछन् । प्रायः जोडी बनेर हिँड्ने, समूहमै आहारा खाने राजधनेशले प्रजननका बेला गुँडको चयन गर्ने, करिब ३० सेमीको ठूलो गुँडमा बस्ने, प्रायः एउटा मुस्किलले दुईवटासम्म अण्डा पार्ने, पोथीले अण्डा पारेपछि ओथारो बस्ने र भालेले चारो खोजेर खुवाउने खनालले अनुसन्धानका क्रममा भेटेका छन् । 
 
आहारा खोज्नेक्रममा भालेको मृत्यु भएमा पोथी र बचेरा दुवै मर्ने भएकाले यसको संरक्षण र खोज अनुसन्धान गर्न जरूरी रहेको उनको भनाइ छ ।