मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

क्रिकेटर सन्दीप लामिछानेको चितवनदेखि आईपीएलसम्मको यात्रा

क्रिकेटर सन्दीप लामिछानेको चितवनदेखि आईपीएलसम्मको यात्रा


चितवन । नवलपरासीको रजहर  निवासी नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने बहुचर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पक्का भएसँगै नेपालभर खुशीयाली छाएको छ । उनी आईपीएलमा अनुबन्धित भएको खबरले यतिबेला चितवनका क्रिकेटरहरुले खुशी मनाउन आज बेलुकी वीरेन्द्र क्याम्पस अगाडि दीप प्रज्ज्वलन गर्ने तयारी गरेका छन् ।
 
आईपीएलको बोल कबोलको दोस्रो दिन सन्दीप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले २० लाख भारतीय रुपैयाँमा किनेपछि गृहजिल्ला चितवनमा खुशीयाली छाएको छ । चितवन क्रिकेट एकेडेमीबाट क्रिकेटको यात्रा सुरू गरेका सन्दीप चर्चित प्रतियोगिता आईपीएलमा खेल्ने भएपछि खुशी मनाउनु पनि स्वभाविक नै बनेको छ । 
 
सन्दीपका क्रिकेट फ्यान अर्जुन रिजाल भन्छन्,“सन्दीप भाइको क्रिकेट खेल देखेर असाधारण क्षमता देखेको थिएँ, ठाउँमा पुग्न पाए यसले केही गर्छ भन्ने लागेको थियो । अब त्यो क्षण आएको छ । यो हामी सबैका लागि गर्वको कुरा हो ।”
 
को हुन सन्दीप लामिछाने ?
 
नेपालको प्रशिक्षक पुवुदु दसानायके हुँदा सन्दीपको भाग्य चम्किन पुगेको थियो । चितवनको नारायणगढस्थित क्याम्पाचौरमा १४ वर्षीय सन्दीपले देखाएको असाधरण प्रतिभालाई मध्यनजर गर्दै पुवुदुले टपक्कै टिपेर काठमाडौंसम्मको यात्रा तय गराएका थिए । त्यसलगत्तै उनी युवा टिममा पर्न सफल भए । 
 
दुई वर्षअघि यू–१९ विश्वकप क्रिकेटमा आयरल्याण्डविरुद्ध ह्याट्रिक गरेपछि लेग स्पिनर सन्दीप लामिछानेको चर्चा विश्वव्यापी नै बन्न पुग्यो । एशोसियट टोलीबाट सम्भावना बोकेका खेलाडीको उदयका रुपमा अन्तर्र्रािष्ट्रय मिडियाले नै सन्दीपलाई अष्ट्रेलियाली महान् क्रिकेटर सेव वार्नसँग तुलनासमेत गरे । त्यसयता राष्ट्रिय टिमबाट खेल्दै आएका १७ वर्षीय लामिछानेको करिअरमा अर्को कोशेढुंगा बन्न पुगेको छ, आईपीएलको यात्रा । 
 
यसअघि उनी बंगलादेश प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिगलगायतका प्रतियोगिताको अक्सनमा समावेश भए पनि कुनै टिमले बोली नलगाउँदा खेल्नबाट वञ्चित भएका थिए । अन्ततः सन्दीपलाई विश्वकै ठूलो डोमेस्टिक क्रिकेट लिगको फ्रेन्चाइज टोली दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा आफ्नो बनाएको छ । उनको बेस मूल्य नै २० लाख थियो ।
 
सन्दीप आईपीएलको अक्सनमा परेर नेपाली खेलाडीहरुमा इतिहास बनाइसकेका थिए । अहिले अनुबन्धित नै भएपछि त नेपालमा क्रिकेटप्रेमीहरु हर्षविभोर  भएका छन् । 
 
नवलपरासीमा आफन्तको घरमा बसेर स्कुल पढ्दापढ्दै प्रशिक्षक राजु खड्काको समन्वयमा नारायणगढको क्याम्पाचौरमा भएको ट्यालेन्ट हन्टबाट छानेर प्रशिक्षक पुबुदुले सन्दीपलाई काठमाडौँ लगेका थिए । भारतीय रेल्वेमा कार्यरत पितासँगै भारतमै हुर्केका सन्दीपले ब्याट र बल समाउन उतै सिकेका हुन् । 
 
अध्ययनका लागि नवलपरासीमा आएसँगै क्रिकेटलाई पनि निरन्तरता दिए । सन् २०१६ मा बंगलादेशमा भएको आईसीसी यू–१९ विश्वकप क्रिकेटमा डेब्यू गरेका सन्दीपको सिनियर टोलीबाट पहिलो खेल भने नामिवियाविरुद्ध थियो । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिवियाविरुद्धको सन् २०१६ को सेप्टेम्बरमा उनले डेब्यू गरेका थिए ।
 
अष्ट्रेलियाली क्रिकेट टोलीका पूर्व कप्तान माइकल क्लार्कसमेत सन्दीपको बलिङ शैलीको फ्यान छन् । क्लार्ककै निमन्त्रणामा सन्दीपले अष्ट्रेलियामा स्थानीय लिग खेल्ने अवसर पाएका थिए । त्यस्तै हङकङमा भएको प्रतियोगितामा उनी क्लार्कसँग एउटै टिमबाट खेलेका थिए ।