मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

पिता गुमाएको त्यो निर्मम क्षण

पिता गुमाएको त्यो निर्मम क्षण


मृत्यु सास्वत सत्य हो । यसलाई कसैले रोकेर रोकिँदैन । तर यो वास्तविकता बोध हुँदा हुँदै पनि चित्त बुझाउन साह्रै कठिन हुँदोरहेछ । एकदिन संसार छाडेर जानुपर्ने नियतिबीच सीमित समयका लागि उत्पति भएका हामीले यही वास्तविकतालाई आत्मसात् गर्ने हो भने संसार अर्कै बन्ने थियो होला सायद । बुबाको मह¤व बुबा नरहँदा झनै बढी खट्किँदो रहेछ । हामीले कल्पनै गरेका थिएनौँ कि बुबाको यति चाँडै निधन होला, हामी असमयमै टुहुरा बन्नुपर्ला र यति ठूलो बज्रपात सहनुपर्ला । तर नियतिको चुटाइमा हामी चुटियौँ, पछारियौँ । 
 
प्रतिकूल मौसम र अनपेक्षित अवस्थामा उहाँको निधन भयो । २०७४ पुस २४ गते । जतिबेला म नियमित काममै कार्यालयमा व्यस्त थिएँ । बुबा लामो समयसम्म रहनुहुन्न भन्ने वास्तविकता थाहा पाए पनि यति छिट्टै अनपेक्षित घटना बेहोर्दा आकाश नै खसेजस्तो अनुभूति भयो । सामान्य ग्याष्टिकको समस्या रहे पनि क्यान्सरजस्तो भयानक रोगले आक्रमण गर्ला भन्ने कुरा कल्पनाभन्दा परको विषय थियो । सधैँ फुर्तिलो र जाँगरिलो अवस्थाको बुबा दशैँ अगाडिसम्म साविककै मानिसजस्तो देखिनुहुन्थ्यो । दशैँ पछाडि अस्वस्थ महसुस गरेपछि एकपटक सबै शरीरको स्वास्थ्य परीक्षण गर्दा हल्का ज्वरो देखिएको थियो । उपचारक्रममा ज्वरो नघटेपछि विभिन्न परीक्षण जारी राख्यौँ । हामीले सामान्य भाइरल ज्वरो नै ठानेका थियौँ । विभिन्न परीक्षणको नतिजा पनि सामान्य नै देखिएको थियो । 
 
 
सीएमसी हस्पिटलमा लामो समयसम्म उपचार गराउँदा पनि ज्वरो नघटेपछि काठमाडौँ वा नयाँदिल्ली लैजाने विषयमा भाइसँग सल्लाह भइरहेको थियो । आमाशयमा एउटा सानो मासुको डल्लो देखिएको छ, सामान्य अप्रेसनबाट ठीक हुन्छ भनेर डाक्टरहरुले सल्लाह दिइरहेका थिए । हामीले अप्रेसनको व्यवस्था पनि मिलाइरहेका थियौँ । ज्वरो ठीक भएपछि लक्ष्मीपूजाको दिनमा हामीले बुबालाई डिस्चार्ज गरेका थियौँ । बायोप्सी परीक्षणको नतिजा आउन दुई साता लाग्ने भएपछि तिहारपश्चात् अप्रेसन गर्ने योजनाका साथ हामीले बुबालाई घर फर्काएका थियौँ । धेरै वर्षपछि आउनुभएकी फूपू दिदीको हातबाट बुबालाई टीका लगाइदिने संयोग जुरेको थियो । जब तिहार मनाइयो, त्यसपछि सुरू भयो हाम्रो पीडादायी समय । बायोप्सीको रिपोर्ट लिन आउँदा हामी दाजुभाइलाई छाँगाबाटै खसेको अनुभूति भएको थियो । जतिबेला बुबाको निधन भयो, त्यसभन्दा डेढ महिनाअघि नै हामीलाई असह्य पीडा भएको थियो । 
 
जब बायोप्सीको रिपोर्ट आयो त्यसपछि सीधै सीएमसीले क्यान्सर अस्पतालमा रिफर गरिदियो । क्यान्सरका विशेषज्ञसँग परामर्श गरेपछि हामीले बुबालाई यस्तो घातक रोग लागेको कुरा कहीँ कतै सार्वजनिक नगर्ने प्रतिबद्धता जनाएका थियौँ । यतिसम्म कि केही सल्लाह गर्नुप¥यो भने घरमा थाहा होला भनेर एकान्तको चिया पसलमा जान थालेका थियौँ । हामी सकभर क्यान्सरको उपचार महङ्गो नै भए पनि निजी अस्पतालमै गर्ने तर क्यान्सर अस्पताल नलैजाने निधो गरेका थियौँ । संभव भए जति ठाउँमा आवश्यक परामर्श गरेका थियौँ । भाइ दीपकलाई काठमाडौँका विभिन्न अस्पतालमा विशेषज्ञ डाक्टरसँग परामर्श गर्न पठाएको थिएँ । जहाँ जोसँग परामर्श गरे पनि विशेषज्ञ डाक्टरहरुले रिपोर्टअनुसार नै ब्रिफिङ गर्थे । यताउति हल्लाखल्ला होला भनेर अग्रीम टिकट काटेर पालो आउन लागेपछिमात्रै बुबालाई अस्पताल ल्याउने गथ्र्यौं । 
 
डाक्टरले क्यान्सरले तेस्रो चरण पूरा गरेर चौथोमा प्रवेश गर्न लागेको बताइसकेका थिए– ‘अब उपचार गर्नु र नगर्नुको अर्थ छैन । बुबालाई घरमै राखेर टेक केयर गर्दा राम्रो हुन्छ ।’ हामीले बुबालाई घरमै राखेर डाक्टरको सल्लाहबमोजिम नै औषधि खुवाइरहेका थियौँ । मन जतिसुकै पोले पनि रातभर निद्रा नपरे पनि हामीले गुह्य कुरा कसैलाई खोलेका थिएनौँ । पछि दुई अंकललाई जानकारी गराऔँ भनेरै वास्तविकता खोल्यौँ । एक÷दुईजना साथीले पनि वास्तविकता थाहा पाएर सान्त्वना दिन थाले । दाजुभाइमा मात्रै सीमित राखेकाले हामीलाई आर्थिकदेखि सबै किसिमका समस्या आइप¥यो । तर, आन्तरिक पीडा कसैलाई पनि प्रदर्शन गरेनौँ । 
 
यतिसम्म कि हामी दाजुभाइले आफ्ना श्रीमतीलाई समेत वास्तविकता खोलेनौँ । यति कठोर बनेर आफ्नो पीडा आफैँभित्र दबाएका हामीलाई भने दुनियाँले दोहोलो काडे । बुबालाई उपचार नै नगरी मार्न लागेकोदेखि चन्दा उठाएर भए पनि हामीले उपचार गर्छौं भनेर केही मै हूँ भन्नेहरुले हाम्रो हुर्मत काडे । बुबालाई भेट्न आउनेहरुलाई हामीले सामान्य भाइरल ज्वरो हो एक/डेढ महिनासम्म निको हुन समय लाग्छ भनेर आश्वस्त बनायौँ । घरमा बस्यो, भेट्न आउनेका अस्वभाविक सवालको जवाफ दिनुपर्ने तनावले हामीलाई झनै पीडित बनायो । आफ्नो पिता÷अभिभावकलाई कसरी बचाउन सकिन्छ, कहाँ लगेर केसम्म गर्न सकिन्छ भन्ने चिन्तामा डुबिरहेका बेला नानाथरिका व्यक्तिले अनावश्यक टिप्पणी गर्दा हामीलाई कतिसम्म पीडा भयो होला, त्यो शब्दमा व्यक्त गर्न सकिँदैन । 
 
बुबाको असामयिक निधनले मृत्यु भएको कुरा पत्रिकाबाट नै धेरै जनाले थाहा पाए । हामीले बुबाको मृत्युपश्चात् पनि त्यो वास्तविकता सार्वजनिक गर्न चाहेका थिएनौँ । जे नहुनु भइहाल्यो । अहिले क्यान्सरका कारण बुबाको देहवसान भएको कुरा हाम्रो आफन्त र शुभेच्छुक सबैलाई थाहा भइसक्यो । किनभने हामीले तेह्र दिनको काज-किरिया सम्पन्न गरिसक्यौँ । हाम्रा बन्धुबान्धव र आफन्त सबै आश्चर्यमा पर्नुभयो । जो जसले कुरै नबुझी विभिन्न प्रतिक्रिया व्यक्त गरे, ती अझै हाम्रा सामुन्नेमा परेका छैनन् । मलाई लाग्छ, उहाँहरुलाई पक्कै पनि केही ग्लानि भएको हुनुपर्छ । कसैलाई केही प्रतिक्रिया दिँदा त्यसले पार्ने प्रभाव र पीडा के हुन्छ भन्ने पनि बुझ्नुपर्छ । आजको जमानामा कसैले पनि हेलचक्र्याइँ गरेर बिरामीलाई घरमै राख्दैन । आफ्नो बलबुताले भ्याएसम्म जसले पनि आफ्नो मान्छेलाई बचाउन चाहन्छ । तर, यस्तै समय आइदिन्छ जसले जति चाहेर पनि बचाउन सक्दैन । 
 
शोकको शून्य समयमा मलाई के महसुस भयो भने स्वास्थ्यभन्दा ठूलो धन केही पनि रहेनछ । त्यसैले धनको पछाडि होइन, स्वास्थ्यको पछाडि लाग्नुपर्दो रहेछ । समयमै स्वास्थ्य परीक्षण गरे उपचार पनि समयमै गर्न सकिने रहेछ । केही वर्षअघि क्यान्सरको संकेत जान्न सकिएको भए बुबालाई बचाउन सकिने थियो । हामी रोग लागेपछिमात्रै उपचार गराउँछौँ । रोग लागे नलागेको परीक्षण गराउने संस्कार अझै सुरू भइसकेको छैन । रोग लागे पनि, नलागे पनि स्वास्थ्य परीक्षण गराउनै पर्ने रहेछ भन्ने अहिले अनुभूति भएको छ । मानिस रुपैयाँ पैसाले सम्पन्न हुने होइन, स्वस्थले मात्रै धनी हुने रहेछ । 
 
गोरखाको साविक बगुवा गाविस (हाल भीमसेन गाउँपालिका ५ ) मा २०१० असोज १८ गते जन्मिनुभएका पिता घनश्याम भट्टराई, बाबुरामका नामले चिनिनुभयो । निधनका बेला कतिपय आफन्त झुक्किनुभयो । २०४७ सालमा गोर्खाबाट बसाईं सरी आउनुभएका बुबाले सामान्य गृहस्थी जीवन बिताउनुभयो । उहाँले कसैको बिगार गर्नुभएन । जे जतिसँग मित्रता जोड्नुभयो, त्यो ऐतिहासिक नै बन्न पुग्यो । खरो स्वभाव र न्यायका पक्षपाती उहाँले सबैसँग मित्रभाव राखेरै बिदा हुनुभयो । गोरखादेखि चितवनसम्मको जीवन यात्रामा उहाँबाट सिक्नुपर्ने थुप्रै कुरा छन्, थिए । त्यो हाम्रा लागि सधैँ मार्गदर्शन भइरहने छ ।
 
यो क्षणिक संसार एकदिन सबैले छाडेर जानु त छँदैछ, जानुअघि उहाँले हामीलाई सबैथोक दिएर जानुभएको छ । बोल्दा बोल्दै सबैसँग मित्रभाव राखेर बुबा परमधाम हुनुभएको छ । बुबाको अभाव त जीवनभर खट्किरहने नै छ । भौतिक शरीर नरहे पनि बुबा सधैँ हाम्रो मन मस्तिष्कमा रहनुहुनेछ । हामी सधैँ उहाँको स्मरण गरिरहने छौँ । शोकका बेला सान्त्वना दिने, सद्भाव व्यक्त गर्ने, सहयोग गर्ने सबैप्रति हामी कृतज्ञ छौँ ।