मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

कञ्चटमा पेस्तोल तेर्सिदा यसरी बाचेँ म

कञ्चटमा पेस्तोल तेर्सिदा यसरी बाचेँ म


एक दिनको अन्तरमा अमेरिकामा दुई नेपालीको ज्यान गएको छ । त्यो पनि अनाहक अर्थात अकालमा ।
 
शनिबार राति कामकै सिलसिलामा ड्यालसमा मनिष पाण्डेको हत्या भएको छ । आफन्तकै ग्याँस स्टेशनमा काम गर्दागर्दै लुटेराको बन्दुक प्रहारबाट ३५ वर्षिय पाण्डेको ज्यान गएको छ ।
 
उता बिहीबार नर्थ क्यारोलाइनको रेलेग शहरमा नेपाली युवा रुपेश उप्रेतीको सवारी दुर्घटनामा निधन भयो । राति कामबाट फर्कदै गर्दा उनका सहकर्मीले गल्तीवशः वान–वे (एकतर्फी) हाइवेमा कारलाई लैजाँदा अर्को दिशाबाट आएको पिकअपले ठक्कर दिएको थियो । दुर्घटनामा दुईजनाले ज्यान गुमाए ।
 
अमेरिकामा नेपालीहरुको संख्या बढेसँगै हरेक साता कसैको अकालमा त कसैको कालगतिले निधन हुने क्रम निरन्तर बढ्दो छ । अमेरिकामा झण्डै तीनलाख नेपालीहरु रहेको अनुमान छ । एनआरएन अमेरिकाले गत वर्ष निकालेको तथ्यांक अनुसार साढे दुईलाख नेपालीहरु रहेको देखाएको थियो ।
 
‘मानिस जन्मेपछि एकपटक मर्नैपर्छ । तर अमेरिकामा रहेका कतिपय घटना, दुर्घटनालाई हेर्दा मृत्युको कारण अमेरिका आगमननै हो कि भन्ने पनि परेको छ,’ आइतबार एकाबिहानै ड्यालसका एक समाजसेवी यो टिप्पणीकारसँग भन्दैथिए । हुनपनि घटना, दुर्घटनालाई शुक्ष्म रुपमा हेर्दा अमेरिका नआएको भए अकाल मृत्युको मुखमा धेरैजना पर्नुपर्ने अवस्था आउनेथिएन कि भन्ने पनि लाग्छ । जस्तो कि, शनिबार राति ग्याँस स्टेशनमा लुटेराको गोलीबाट मारिएका पाण्डे अमेरिका नआएको भए शायद अकाल मृत्यु हुनेथिएन । तर यो नै सत्य भने होइन ।
 
हुनत सवारी दुर्घटना, गोलीकाण्ड नेपालमा पनि नहुने भन्ने होइन । तथापी यी दुई घटनामा नेपालीको निधन हुनुमा अमेरिका आगमन भन्दा पनि अलिकति ‘ओभर कन्फिडेन्स’ हो कि भन्ने लाग्छ । जुन ओभर कन्फिडेन्सलाई धेरै हदसम्म न्यूनिकरण गर्न सकिन्छ । न्यूनीकरण गर्ने अरु कसैले होइन, संबन्धित व्यक्ति आफैँले हो । त्यस्तो न्यूनीकरण गर्दा आफ्नो ज्यानमात्र जोगिने होइन कि परिवारलाई समेत खुशी दिइरहन सकिन्छ ।
 
यो टिप्पणीकार पनि त्यस्तै एउटा कालको मुखबाट बाँचेर आएको हुँदा त्यो अनुभव साट्दा अरुका लागि पनि शिक्षा हुने ठानेर सार्वजनिक गर्दैछु ।
 
सन् २०१४ को नोभेम्बर महिना । जतिखेर म ड्यालसबाट दुईसय माइल उत्तरतर्फ रहेको ओक्लाहोमा सिटीमा बस्थेँ । आम नेपाली जसरी म पनि सुरुवाती दिनमा ग्याँस स्टेशनमा क्लर्कका रुपमा काम गर्दैथिएँ ।
 
नोभेम्बरको अन्तिम साता थियो । साँझ ७ बजेपछि अँध्यारोले छोपिसक्थ्यो । समय साँझ साढे आठको सेरोफेरोमा थियो । ग्राहक नभएको समय मिलाएर म डेलिभरी आएका सामानहरु मिलाउने, सामानमा धुलो टक्टकाउने काम गर्दैथिएँ । त्यतिनै खेर दुईजना व्यक्तिहरु स्टोरभित्र छिरे । ढोकाको एलार्मले उनीहरु छिरेको संकेत ग¥यो । मैले उनीहरु तर्फ आँखा पु¥याउन नपाउँदै कालो हुडी लगाएको एउटा चाँही बिजुलीको गतिमा म भएपट्टि आइपुग्यो । सामान्य अवस्थामा स्टोरमा सामान किन्न आएका ग्राहकहरु सामान लिएर काउण्टर अघिल्तिर उभिन्छन् । क्लर्क या क्यासिएर नभएको अवस्थामा पनि कुर्छन ग्राहकले ।
 
लगभग २२/२३ वर्षको, कालो वर्णको त्यो व्यक्ति म भएपतिर झम्टिएर आउनुलेनै मैले अनुमान लगाइसकेको थिएँ कि यो लुटेरानै हो भनेर । उसले एक्कासी मेरो कठालो समात्यो । मसँग प्रतिकार गर्ने नत बल, नत स्रोत साधननै थियो त्यतिखेर ।
 
‘के चाहन्छस् तँ’ मैले सोधेँ । उसै त अफ्रिकी मुलका अमेरिकनहरुले बोलेको अंग्रेजी बुझ्न हम्मेहम्मे पर्ने र अनुमानको भरमा बुझ्नुपर्छ । त्यसमाथि डरको समय भएकोले उसले बोलेका ७५ प्रतिशत शव्द मैले बुझिन । यतिमात्र मैले बुझेँ–‘तँ यहाँ हामीलाई ठगेर बसिरहेको छस् । खुरुक्क नगद निकाल ।’
 
मैले दुबै हात माथि उठाएँ । उसले मलाई घोक्राउँदै काउण्टरमा पु¥यायो । कारोवार गर्ने रजिष्टर मैले खोलिदिएँ । त्यसबेला त्यहाँ ७÷८ सय डलर नगद हुनुपर्छ । हातमा पञ्जा लगाएको अर्को चाहिले रजिष्टरबाट नगद निकाल्यो । क्वाटर, डायम, निकल, पेनी जस्ता खुद्रा छाडेर उसले त्यहाँबाट सबै नगद निकाल्यो ।
 
‘अरु पनि निकाल् । होइन भने यही मारिदिन्छु’ भन्दै दायाँ कञ्चटमा पेस्तोल तेस्र्यायो । मलाई लाग्यो–‘शायद अमेरो अन्तिम दिन अाजै हो ।’ मैले अरु नगद छैन भनेर अडान लिएँ । दुईमध्य एउटाले मुड्की कसेर मेरो दायाँ कञ्चटमा हान्यो । अर्को मुड्की फेरि बायाँपट्टिको गालामा हान्यो । म ढलमलाउँदै कुनामा पुगेर ढलेँ । त्यसपछि पनि ढाडमा लात्तिले हिर्काइनै रह्यो । मुखमा लात्तिले हानेपछि मलाई लाग्यो–‘मेरो कुनै दाँत बाँकी छैनन् अब ।’
 
ज्यानभन्दा ठूलो चिज केही होइन । आफन्तको स्टोरमा काम गर्थेँ । आफ्नै जस्तो ठानेर काम गर्थे । जहाँ जुन ठाउँमा काम गरेँ पनि मेरो एउटै शुत्र रहिआएको छ–इमान्दारिता । जहाँ, जुन दिनसम्म जे काम गरिन्छ इमान्दारिताका साथ गर्ने मेरो सुरुदेखिकै आदत हो । ताकी काम छाडेर जाँदा पनि ‘फलानो त मान्छे ठीक थियो’ भन्ने धारणा हाकिमदेखि लिएर मेनेजर तहका व्यक्तिसम्म रहिरहोस् भन्ने मेरो ध्येय रहँदै आएको छ ।
 
त्यसदिन पनि मैले एकहजार ६ सय डलर सेफमा ड्रप गर्नुअघि छुट्टै ठाउँमा राखेको थिएँ । बिहानदेखि रातिसम्मको कारोवार भएको नगद राति एकैपटक सेफमा ड्रप गर्ने चलन पहिलेदेखिकै रहेछ मैले काम गर्ने स्टोरमा । म पहिलोपटक ग्याँस स्टेसन सहितको कन्भिनेन्स स्टोरमा काम गरेको हुँदा अरु स्टोरका नियम पनि जानकारी थिएन ।
 
लुटेराहरुले सबैतिर खानतलास गर्ने क्रममा सेफ नजिकै कागजको बक्समा राखेको एकहजार ६ सय डलर पनि फेला पा¥यो । म उनीहरुको प्रहारले गर्दा घाइते भएको थिएँ । झण्डै दुईहजार ६ सय डलर नगद पाएपछि त अब त मलाई केही नगर्ला कि भन्ने आशा जाग्यो ।
 
फेरि अर्को लुटेराले ढाडमा लात्ति हान्दै भन्यो–‘सेफको चाबी दे । होइन भने मारिदिन्छौँ ।’ मैले आफुसँग सेफको चाबी नभएको बताएँ । लुटेराहरुले पत्याउँदै पत्याएनन् । अन्तिममा मैले मसँग यही चाबी छ ल खोल भन्दै लडिरहेकै अवस्थामा पाइन्टको खल्तीबाट एउटा चाबी निकालेर उनीहरु भएतिर मिल्काएँ । त्यो चाबी सेफको नभएर भरखरै किनिएको होण्डा सिआरभीको थियो ।
 
‘म…फ…(लेख्न नमिल्ने शव्द) यो चाबी भनेको होइन । सेफको चाबी दे भनेको,’ दुईमध्य एउटा चिच्यायो । मैले मसँग भएको चाबी त्यही हो भनेपछि उनीहरु एक्कासी त्यहाँबाट निस्किए । ‘यहाँबाट बाहिर निस्किइस् भने तलाई पछि आएर सिध्याइदिन्छु नि,’ अन्तिम वाक्य यसो भन्दै दुबै जना बाहिरिए । म भने अब चाँही बाँचे भन्दै मनमनै भगवानलाई पुकार्दै त्यही लडिनै रहेँ ।
 
तुरुन्तै एकजना व्यक्ति स्टोरमा बसेको संकेल एलार्मले ग¥यो । उसले मलाई बोलायो । म बल्लतल्ल आवाज निकाल्न सक्ने अवस्थामा थिएँ । मुखबाट रगत ह्वालह्वाल्ती आइरहेको थियो । त्यो मान्छे स्टोरमा नियमित आइरहने ग्राहक रहेछ । उ नजिकैको रेष्टुरेन्टमा काम गर्थ्यो । उसैले मलाई उठायो । म बल्लतल्ल उठेँ ।
 
दुईजना मान्छे स्टोरबाट निस्किएर बेपत्तासँग दौडिएको देखेर त्यो नियमित ग्राहकले समेत केही अनिष्ट भएको संकेत पाइसकेको रहेछ ।
 
९११ मा फोन गरेर उसैले पुलिसलाई बोलायो । पाँच मिनेटभित्र एम्बुलेन्स सहित पुलिस आइपुगे । मेरो मुखबाट रगत बगिनै रहेको थियो । दाँत सबै झरेको जस्तो लागेको थियो । तर एउटा चाँही अलिकति हल्लिएको रहेछ ।
 
एम्बुलेन्समा राखेर प्राथमिक उपचार भयो । त्यस्तो अवस्थामा पनि मेरो ब्लड प्रेसर नर्मल देखेर उनीहरुले भने–‘तिम्रो विलपावर गज्जबको रहेछ ।’
 
नेपालमा छँदा सधैँ अरुको समाचार लेखिरहने म त्यो घटनाले अमेरिका आएपछि समाचारको पात्र भएँ । अर्थात एकसाताभरि ओक्लाहोमाबाट निस्कने पत्रिकाहरु, टिभीमा मेरो कोट (भनाई) राखेर समाचार प्रकाशन/प्रशारण भइनै रहे ।
 
ग्याँस स्टेसन लुटपाटका घटनामा धेरैको ज्यान जानेगरेको छ । मैले ग्याँस स्टेशनमा काम गर्न सुरु गर्दा स्टोरको पुरानो धनी टम नाम गरेको भियतनामीसँग वरिपरीको अवस्थाका बारेमा जानकारी लिएको थिएँ । उसले भनेको थियो–‘अहिलेसम्म त केही भएको छैन । तर केही भन्न सकिँदैन । लुटेरा आइहालेको अवस्थामा दुबै हात ठड्याएर जे लैजान्छस् लैजा भनेर दिनु । उनीहरुसँग कुनै पनि प्रकारको भीडन्त गर्ने, प्रतिकार, ओभरस्मार्ट हुने काम गर्दै नगर्नु ।’
 
हुनपनि हो । नगद बाहेक स्टोरका सबै सामानको बीमा गरिएको हुन्छ । लुटिएको सामानको क्षतीपूर्ति साहुले बीमा कम्पनीसँग मज्जासँग पाउने भएकाले ज्यान बाजी राखेर लुटेराहरुसँग माथापच्ची गर्नुको कुनै तुक छैन । नगदको भने बीमा नहुने भएकाले अधिकांश स्टोरहरुले रजिष्टरमा दुईसय डलरमात्र राखेर बाँकी अरु सबै सेफमा ड्रप गर्ने चलन हुनेरहेछ । जुन कुरा मलाई यो घटनापछिमात्र जानकारी भयो । मैले काम गर्ने स्टोरमा पहिलेदेखिनै राति एकैपटक नगद सेफबक्समा खसाल्ने चलनले गर्दा पनि मैले त्यसैलाई फलो गरेको थिएँ । त्यही कारणले गर्दा लुटेरा २६ सय डलर लुट्न सफल भयो । नभए त्यति पनि लुट्न पाउने थिएनन् । किनकी सेफबक्स फुटाएर नगद लैजान संभवनै हुँदैन ।
 
त्यो घटनापछि म झण्डै एकसातासम्म काममा जान सकिन । म क्राइम भिक्टीम (अपराध पीडित) भएकोले अस्पतालको इमरजेन्सीमा गएर उपचार गरेको ठूलो रकम सरकारले तिरिदिएको थियो । त्यस्तो केसमा पीडितले सरकारी सुविधा पाउने भएपनि मैले अस्पतालको बील बाहेक अरु कुनैमा पनि दावी पनि गरिन र निवेदन पनि दिइन ।
 
शायद त्यो घटनामा ओभर स्मार्ट भएर लुटेराहरुसँग भिडेको भए यतिखेर मेरो तेस्रो वर्षको पनि श्राद्ध भैसक्नेथियो कि । पुरानो साहु टमले भनेको र स्टोरमा काम गर्ने अरुबाट ‘भीडन्त गर्दै नगर्नु, लुटेराले जे लैजान्छ त्यो दिनु’ भन्ने शुत्रले मेरो ज्यान त्यसदिन बाँचेको हो भन्ने मलाई लाग्छ । नभए कन्चटमा पेस्तोल तेर्सिइसकेको थियो । उसले पेस्तोलको ट्रिगरमा रहेको दायाँ हातको माइली औँला दबाइदिएको भए मेरो प्राण पखेरु ‘अन दी स्पट’ उँड्नेथियो ।
 
घटनाक्रमहरुलाई हेर्दा धेरै ग्याँस स्टेशनहरुमा लुटेराहरु मार्ने नियतले भन्दा पनि लुट्ने नियतले आउने गरेको देखिन्छ । लुट्दालुट्दै असुरक्षित महसुस भएमा, त्यतिखेर स्टोरमा ड्युटीमा रहेकाहरुले भीड्न खोजेमा, तत्काल पुलिसलाई खबर गर्ने प्रयास गरेमा, लुटेराको पहिचान खुल्ने अवस्था आएमा काम गर्ने माथि गोली हानेका घटनाहरु धेरै छन् ।
 
चाहे ग्याँस स्टोर हुन् या कन्भिनेन्स स्टोर या नगदको कारोवार हुने अरु थलो । अमेरिकामा ती ठाउँहरु बढी असुरक्षित ठानिन्छन् । त्यसो हुँदा जोखिम कम गर्न बीमा गरिएको हुन्छ ।
 
धेरै नवआगन्तुक नेपालीहरुले सुरुवाती चरणमा काम गर्ने भनेको ग्याँस स्टेशन, कन्भिनेन्स स्टोरनै हुन् । सामान्य अंग्रेजी भए चल्ने, गर्न सकेजति घण्टा पाइने, खासै गाह«ो काम पनि नभएकोले स्टोहरु नेपालीहरुको पहिलो रोजाईमा पर्ने गरेको छ । धेरै राज्यहरुमा नेपालीहरुले गर्ने रोजगारी भनेकै ग्याँस स्टेशननै हुन् । हरेक दिन ग्याँस स्टेशनहरुमा लुटपाट भइनै रहेको हुन्छ । त्यस्तो अवस्थामा साहुको प्रियपात्र बन्छु, लुटेरासँग भिडेर बहादुर हुन्छु भन्ने दुष्प्रयास नगर्दा ज्यान जोगाउन सकिन्छ । एउटा नेपाली भनाईनै छ नि–‘अनिकालमा बीउ जोगाउनु, हुलमुलमा ज्यान जोगाउनु ।’ हो, यो भनाई जस्तै त्यस्तो लुटपाटमा जसरी हुन्छ ज्यान जोगाउनेतिर लाग्नु बढ्ता श्रेयष्कर हुनेछ ।
 
ज्यान जोगियो भने ग्याँस स्टेशनको काम छाडेर भोली कम्पनीहरुमा काम पाउन सकिन्छ । ग्याँस स्टेशननै पहिलो र अन्तिम रोजगारीको विकल्प होइन अमेरिकामा ।