मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाः सरकारी कामकाज ठप्प हुने दिशामा?

अमेरिकाः सरकारी कामकाज ठप्प हुने दिशामा?


अमेरिकी सरकारको कामकाज ठप्प हुने समयसीमा स्थानीय समय अनुसार आज मध्यरात शुरु हुन लाग्दा वाशिङटनमा सहमति कायम गर्ने अन्तिम प्रयास भइरहेका छन्।
 
अर्को महिनासम्म संघीय निकायहरूलाई खर्च उपलब्ध गराउने सम्बन्धी विधेयक पारित गराउन अमेरिकी माथिल्लो सदन सिनेटमा रहेका रिपब्लिकनहरूलाई डेमोक्र्याटहरूको समर्थन आवश्यक छ।
 
सिनेटबाट उक्त विधेयक पारित गर्न आवश्यक ६० सांसदको समर्थन रिपब्लिकनहरूसँग छैन। ह्वाइट हाउसमा राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेटेपछि डेमोक्र्याटतर्फका सिनेटर चक सुमरले केही प्रगति भएपनि कैयौँ विषयमा असहमति कायम रहेको बताए।
 
अत्यावश्यक
ट्रम्पले सामाजिक सञ्जाल ट्विटर उक्त प्रारम्भिक बैठक राम्रो भएको प्रतिक्रिया दिएका छन्। मध्यरातको समयसीमाभित्र कानून पारित भएन भने अत्यावश्यक बाहेकका अमेरिकी संघीय निकायका कर्मचारीहरूलाई घरमै बस्न भनिनेछ।
 
वाशिङटनस्थित एकजना बीबीसी संवाददाता भन्छन्, घडीको सुई घुमिरहँदा कामकाज ठप्प हुने दिशातर्फ नै अमेरिका उन्मुख भएको देखिन्छ। सिनेटमा दलहरू सहमतिभन्दा टाढा नै छन् र रिपब्लिकनहरूलाई उक्त कानून पारित गराउन १० जना डेमोक्र्याटको समर्थन आवश्यक छ।
 
डेमोक्र्याटहरूले यस विवादको केन्द्रमा सपना देख्नेहरू समेत भनिने कलिलो उमेरमा गैरकानूनी रूपमा अमेरिका पुगेका ८ लाख मानिसको भविष्यबारेका समाधानलाई राखिदिएका छन्। राष्ट्रपति ट्रम्पले उनीहरूका काम गर्ने र अध्ययन गर्ने अधिकार मार्च महिनाको प्रारम्भमा रद्द गरिदिने बताएका छन्।
 
असहमति
उनीहरूलाई वैधानिकता दिनुपर्ने पक्षमा धेरै रिपब्लिकनहरू छन्। तर उनीहरू उक्त मुद्दा राष्ट्रपति ट्रम्पको सीमा पर्खालको मुद्दासँग जोडिनुपर्ने बताउँछन जसप्रति डेमोक्र्याटहरूको असहमति छ।
 
रिपब्लिकनतर्फका सिनेट नेता मिच मकोनलले डेमोक्र्याटहरूका कदमले सैन्य खर्च र बालबालिकालाई स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रमलाई अस्थिर बनाउने चेतावनी दिएका छन्।
डेमोक्र्याटहरूले आप्रवासनसम्बन्धी कानूनमा सहमति कायम नहुञ्जेल सरकारले चार वा पाँच दिन थप खर्च गर्न पाउने गरी सहमति दिन सकिने प्रस्ताव गरेका छन्।
 
सरकारी कामकाज ठप्प भए लाखौं अमेरिकी संघीय कर्मचारीहरूलाई घरमै बस्न भनिनेछ। एउटै दलले संसद्को दुईवटै सदन र ह्वाइट हाउसमा नियन्त्रण जमाएका बेला सरकारी कामकाज ठप्प हुने यो पहिलो घटना हुनेछ।