मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नुवाकोटमा जुधाइयो ४० हल गोरु

नुवाकोटमा जुधाइयो ४० हल गोरु


नुवाकोट, १ माघ– माघे संक्रान्ति पर्वका अवसरमा सोमबार स्थानीय तारुका, वेत्रवाती र पञ्चकन्यामा चालीस हल गोरु जुधाइएको छ ।
 
हरेक वर्ष किसानले पालेका गोरु प्रतिस्पर्धाअन्तर्गतको ‘गोरु जुधाई प्रतियोगिता’लाई यस वर्ष पनि निरन्तरता दिइएको हो । हिउँदमा फुर्सदका समयमा खेतबारीमा गोरु जुधाइने पुरानै रीति भए पनि बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएका बेला भाञ्जालाई मनोरञ्जन दिलाउन गोरु जुधाइएको भनाइ छ ।
 
‘तारुकाको पौरख, नेपालको गौरव’ नारासहित तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा २० हल गोरु प्रतिस्पर्धा गराइएको माघे संक्रान्ति गोरु जुधाइ संरक्षण संस्थाका अध्यक्ष शिवबहादुर अधिकारीले जानकारी दिए । प्रतिस्पर्धामा विजेता भएका गोरुधनीलाई पाँच हजार र उपविजेतालाई रु तीन हजारसहित प्रमाणपत्र दिइयो ।
 
गोरु जुधाइ प्रतियोगिताको एमाले महासचिव ईश्वर पोखरेलले उद्घाटन गर्दै सस्कृति र परम्पराका लागि स्थानीयवासीबाट चलाउँदै आएको मेलालाई आगामी दिनमा सरकारको पहलमा सञ्चालन गरिने बताए ।
 
‘गोरु जुधाइस्थलसम्म पुग्न कच्ची रहेको मोटरबाटोलाई व्यवस्थित गरी गोरु जुधाइने गरिएको किसानको बारीलाई गुठीका रुपमा विकास गरी संरक्षण गर्नु राज्यको दायित्व हो’, पोखरेलले भने, ‘सरकारले कृषिलाई आधुनिकीकरण र व्यावसायीकरण गराउन गोरुको विकल्पमा अनुदानमा ट्रयाक्टर वितरण गर्दै आएकाले गोरु पाल्ने किसानमा आएको नैराश्यता हटाउन पनि सक्नुपर्छ ।’
 
बझाङ्गी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर तारुकास्थित मामाघरमा आउँदा विसं १८८७ मा गोरु जुधाएर मनोरञ्जन दिएकाले यसलाई निरन्तरता दिन राज्यले बजेट र कार्यक्रम तय गर्नुपर्ने प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित तारुकावासी नारायणप्रसाद खतिवडाले बताए ।
 
मकर संक्रान्तिका अवसरमा नुवाकोट र रसुवाको संगमस्थल वेत्रावती र पञ्चकन्या, घलेभञ्ज्या¬ङमा पनि दश दश हल गोरु जुधाइएको छ । नेपाल र भोटबीच भएको युद्धअन्तर्गत विसं १८४९ मा वेत्रगंगाको नदी किनारमा भएको वेत्रावती सन्धिपछि नेपाली पक्षको जीतको उत्सवमा तत्कालीन समयमा गोरु जुधाइएको स्मरणमा सामरिक महत्व कायम राख्न स्थानीयवासीको पहलमा जोरु जुधाइलाई निरन्तरता दिइएको क्लबका अध्यक्ष सुरज लबटले बताए । वेत्रावतीमा २०६७ सालदेखि गोसाइँकुण्ड युवा क्लबको पहलमा व्यवस्थित रुपमा गोरु जुधाउन थालिएको हो ।
 
पञ्चकन्यामा जुधाइने गोरु बाइसे चौबीसे राज्य सञ्चालनका समयमा घले राजाहरुले मनोरञ्जन लिन गोरुलगायत पशु÷चौपाया जुधाउने गरेको इतिहासलाई निरन्तरता दिँदै यस वर्ष पनि दश हल गोरु जुधाइएको प्रचार समितिका संयोजक प्रदीप दाहालले जानकारी दिए ।
 
‘वान भर्सेज वान’ को आधारमा नछुट्टिएसम्म जुधाइने गोरुको बीमासमेत गरिएको थियो । अघिल्ला वर्षको तुलनामा गोरु पाल्ने किसानको संख्या घट्दै गए पनि प्रतियोगितामा भने गोरुको संख्या बढ्दै गएको छ । वर्षभरी खेती गर्न समेत गोरु पाल्न छाडेका किसानले मकर सक्रान्तिमा प्रतिष्पर्धा गराएर उत्कृष्ट गोरुधनी बन्न पौष्टिकयुक्त दाना, कुखुराको अण्डा, चना खुवाएर गोरु जुधाइमा सहभागी हुँदै आएका छन् ।
 
गोरु जुधाइबाट पछिल्लो समय खेल पर्यटनको प्रवद्र्धनमा टेवा पुग्दै आएको तारुकामा आयोजित गोरु जुधाइ अवलोकन गर्न आएका वरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डेले बताए । मकर संक्रान्ति पर्वको अवसरमा नुवाकोटका विभिन्न स्थान, धादिङको खाल्टेलगायतमा समेत गोरु जुधाइलाई निरन्तरता दिइएको छ । रासस