मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

टीपीएसको अन्यौलमा नबस्नुनै राम्रो

टीपीएसको अन्यौलमा नबस्नुनै राम्रो


अमेरिका बस्ने नेपालीले पाएको टेम्पोररी प्रोटेक्ट स्ट्याटस (टीपीएस) नविकरण गर्ने समय नजिकै आउन लाग्दा यसवारेमा नेपाली समुदाय भित्र चासो र कौतुहलता छ । नविकरण होला या नहोला भन्ने बारेमा समुदायभित्र ठूलो चासो छ । यो स्वभाविक हो । तर, यसलाई कतिपयले आफ्नो प्रभाव देखाउने अवसरका रुपमा पनि उपयोग गर्न खोजेका छन् । टीपीएसका बारेमा अहिले नेपाली समुदाय भित्र जसरी वहस चर्चा भईरहेको छ, कतिले हामी यसमा लागिरहेका छौं भनेका छन् । तर यसको कुनै अर्थ छैन ।
 
टीपीएस नविकरण गर्ने निकाय होमल्याण्ड सेक्यूरिटीज विभाग (डिएचएस)ले ह्वाइट हाउसको निर्देशन पर्खेर बस्नु पर्ने अवस्थामा न्यूयोर्कमा रहेका नेपाली कुटनीतिक कर्मचारीले यो विषयमा बोल्नुको कुनै अर्थ पनि छैन । उनले के भन्छन् यो पत्याउनु पनि पर्दैन । न त उनले सत्यनै बोल्न सक्छन् । कसरी बोलुन उनलाई पनि यही हुन्छ भनेर जानकारी छैन । यसो उसो नेपालको अवस्था, एलसाल्भाडोरको के भयो कति बर्ष देखी अरुले पाईरहेका छन् यस्तै सतही कुरा जोडेर गफ गर्ने मात्र हो । 
 
एउटा संस्थाले डिएचएका तल्लो श्रेणीका कर्मचारीलाई भेटेर टीपीएसका बारेमा कुरा राखेछन् । ती कर्मचारीले के भनुन् । उनले नेपाल सरकारले माग गर्नुपर्छ भनेर पठाईदिईन । 
 
राजदुत डा. अर्जुन कार्की टीपीएसका बारेमा जानकार छन् । यस अघिपनि उनले अमेरिका सरकारलाई टीपीएस नविकरण गर्नका लागि औपचारिक रुपमा पत्र लेखेका थिए । यसपटक पनि उनले लेख्छन भन्ने विश्वास गर्न सकिन्छ । राजदुत कार्कीलाई थाहा छ यसले नेपालीलाई तत्कालका लागि भनेपनि भलो नै गरेको छ । अमेरिकालाई पत्र लेख्दा केही फरक पनि पर्दैन । उनलाई पत्र लेख्न कठिन पनि छैन । 
 
नेपालमा भुकम्प पछिको पुननिर्माण सकिएकै छैन । यसको जिम्मेवारी लिएको पुननिर्माण प्राधिकरणले पैसा कम भयो भन्दै दातृ निकायसंग थप पुँजी माग्न दाता सम्मेलन गर्ने अवधारणा सार्वजनिक गरेको छ । यसले पनि डा. कार्कीले पत्राचार गर्छन भन्न सकिन्छ । यस अघि परराष्ट्रमन्त्रीले पत्र नलेख्दा के हुन्छ सम्म भनेका थिए । तर पत्राचार रोकिएन । यसबारेमा राजदुत कार्की पनि पक्कै जानकार हुनुपर्छ । 
 
अमेरिका सरकारको दैवि विपत्तिमा परेका देशका त्यसबेला अमेरिकामा रहेका नागरिकलाई बस्न र काम गर्न पाउने गरी टेम्पोररी प्रोटेक्ट स्ट्याटस दिने (टीपीएस) प्रावधान छ । तत्कालमा आफ्नो देश फर्किन अवस्था नरहेको अवस्थामा उक्त देशका नागरिकलाई यहाँ केही समयका लागि बस्न दिन टीपीएस कार्यक्रम ल्याईएको हो । टीपीएसको केही तथ्यहरु हेरौं । 
 
पहिलो यो स्थायी होइन, अस्थायी हो । एलसाल्भाडोरका नागरिकले पाएको टीपीएस १० बर्ष पछि रध्द भयो । हाइटीका नागरिकले पनि यही समस्या भोग्नुपर्यो । यसले पुष्टी गर्छ टीपीएस स्थायी होइन । एलसाल्भाडोरको टीपीएसमा रहेका नागरिकलाई डीएचएसले सुझाव दियो कि अर्को स्ट्याट्स (यहाँ वस्ने अधिकार)का लागि पहल गर या फर्क । 
 
टीपीएस स्थायी नहुने भएकाले यो हुदैंमा जति छिटो अमेरिकामा ग्रीनकार्ड बनाउने प्रयास गर्नु नै उत्तम हुन्छ । केही समय बस्छु, काम गर्छु कमाएर नेपाल नै जान्छु भन्दा टीपीएस ठिक छ । तर, यही बस्ने हो भने ग्रिनकार्डको प्रकृया शुरु गर्नैपर्छ । जति छिटो ग्रीनकार्ड प्रकृया सुरू गर्यो त्यति नै पहिले अमेरिकाको नागरिक बन्ने अवसर अाउँछ । 
 
टीपीएस पाउँदा यहाँ काम गर्ने वर्क परमिट हुन्छ, नेपाल जान आउन पाइन्छ । तर, परिवार भने ल्याउन सकिदैंन । ग्रीनकार्ड हुँदा परिवार ल्याउन पाइन्छ । कहिलेसम्म परिवारवाट टाढा वस्ने । टीपीएसमा वस्दा अमेरिकामा घर सम्पत्ति जोड्न पनि अन्यौल हुन्छ । कुनै दिन टीपीएस भएन भने त्यो सम्पत्ति कसरी व्यवस्थापन गर्ने यो प्रश्न उठिहाल्छ । 
 
टीपीएस लिएका विद्यार्थीले काम गर्न पाउँछन् यो भने सजिलो हो । तर, काम गर्दा पढाई बिग्रियो भने यहाँ राम्रो काम पाउन कठिन हुन्छ । यो पनि विचार गर्नु पर्छ । तर, विद्यार्थी भन्दा पनि पर्यटक भिसा (बी–वान, बी–टू)मा आउने धेरैले टीपीएस सुविधा लिएको बताईएको छ । 
 
दोस्रो यस पटक टीपीएसको नविकरण ह्वाइट हाउसको मुडमा निर्भर छ । ह्वाइट हाउसले के गर्छ यसै भन्न सकिन्न । एलसाल्भाडोरका जस्तै निर्णय पनि आउन सक्छ । टीपीएस अस्थायी हो र यसलाई स्थायी वनाउनु हुदैंन भन्ने ह्वाइट हाउसको मुड छ । तर, नेपालमा भुकम्पको पुननिर्माण कार्य सकिएकै छैन । पक्कैपनि काठमाडौ स्थित अमेरिकी दुतावासले यसवारेमा रिपोर्ट पठाएकै होला । कयौं भुकम्प प्रभावितले राहत समेत नपाएको अवस्था छ ।
 
यो अवस्थालाई हेरेर ह्वाइट हाउसले नेपालीको पक्षमा निर्णय गर्न सक्ने संभावना पनि बढी छ । तर, टीपीएसको समय १८ महिना थप भयो त्यसपछि भन्ने प्रश्न फेरी आउँछ । अर्को पटक पनि थपिने नथपिने यस्तै अन्यौल हुन्छ । यो अन्यौलवाट मुक्ति भनेको ग्रीनकार्ड लिने प्रकृयामा जाने वा नेपाल नै फर्किने हो । ग्रीनकार्ड लिने पहिले भन्दा अहिले कठिन भएको छ । विगतलाई हेर्दा आउने बर्षमा झन गाह्रो हुनेछ । 
 
टीपीएसको राम्रो पक्ष भुकम्प गएका वेला अमेरिकामा गैरकानुनी रुपमा बस्नेले पनि कानुनी प्रकृयामा जाने मौका पाए । यसले शरण माग्ने (एजाइलम गर्ने), विशेष योग्यता देखाएर ग्रीनकार्ड लिने बाटो खुलेको छ । यसलाई उपयोग गर्दा नै राम्रो । 
(भर्जिनिया, अमेरिका)