मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

प्रतिष्ठित परिवारमा जन्मिएर पनि यसरी भाग्यबाट ठगिए अशोक

प्रतिष्ठित परिवारमा जन्मिएर पनि यसरी भाग्यबाट ठगिए अशोक


सिकागो, (अमेरिका) – 
ललितपुर  महानगरपालिका–३ धोबिघाटमा सन् १९६० मा जन्मेका अशोक श्रेष्ठको पारिवारिक पृष्ठभूमि मध्यम खालको थियो । उनी जन्मदा पिता सरकारी कार्यालयको हाकिम थिए ।   जन्मिदा शरीरमा कुनै किसिमको खोट पनि थिएन । अन्य मान्छे जस्तै एकदम नर्मल र हट्टाकट्टा थिए । 
 
जन्मेको केहि महिना पछि दायाँ आँखा (हाल मासु बढेर छोपेको)को माथिल्लो परेलीमा केही हल्का सानो खटिरा जस्तो देखिएकोले उनको पिताले शान्तभवन (हालको पाटन हस्पिटल ) बिदेशी डाक्टरबाट पहिलो अपरेसन गराउनु भएको थियो । त्यति बेला उनको उमेर करिब एक बर्ष मात्र थियो । अप्रेसन पश्चात् यो झनझन बढ्न थाल्यो । 
 
आफुलाइ कुनै चालनै नहुने गरि अत्यन्त ढिलो गतिमा बढदै गइरहेको थियो । स्कुल पढ्न शुरु गरेदेखि क्याम्पस जीवनसम्म ठुलै बढिसके पनि यस्तो बिकराल थिएन । त्यही बीच भारतको दिल्लीमा दोश्रो अप्रेसन पनि गरियो । त्यसपछि २५ बर्ष र ३० बर्षको उमेर हुँदा दुइवटा अपरेसन फेरि भारतमा गरियो । चार गम्भिर अप्रेसन गरेका श्रेष्ठको हालको अवस्था भने हेर्दै डरलाग्दो छ ।
 
पिता हिराबहादुर श्रेष्ठ तत्कालिन कृषि मन्त्रालय अन्तरगतको मध्यमान्चलको क्षेत्रीय निर्देशक थिए । आमाले पनि शिक्षित थिइन् । एक्लो सन्तानको रुपमा अामाबाउको लाडप्यार र प्रेरणाबाट अशोकले वाणिज्यशास्त्रमा स्नाकोत्तर सम्म पढाइ पूरा गरेका थिए । पढदापढ्दै तत्कालिन पञ्चायत तथा स्थानीय बिकास मन्त्रालयमा चार बर्ष र पछि जनकपुर चुरोट कारखाना मा १० बर्षसम्म दैनिक ज्यालादारीको रुपमा एकाउन्टेन्टको पदमा काम गरेका थिए उनले ।
 
ज्यालादारीको काम पछि कम्प्युटरको सफ्टवेयर बनाउने तालिम पुरा गरेका श्रेष्ठले ललितपुरमै  कोठा लिएर ७/८ बर्षसम्म कम्प्युटर कोर्श सिकाए । त्यसरी नयाँ बिषयको कोर्श सिकाउदा निशुल्क पनि काम गरेको उनले बताए । 
 
आर्थिक अबस्था सामान्य थियो । बुवाले सानो घर र एउटा सानो घडेरी धोबिघाटमा जोडेका थिए । जीवनमा अपत्यारिलो अनि कहालीलाग्दो जीवन त्यो बेला सुरू भयो जब उनकी आमा भर्र्याङ्गबाट लडेर ब्रेन ह्यामरेज भयो । त्यही घटनापछि अामा १० बर्ष भन्दा बढी पक्षघात  भइ ओछ्यानमा परिन । आमाको कहालीलाग्दो अवस्था देखेर उनका पिता पनि बिते ।
 
पिताको निधन पछि घरको सबै जिम्मेवारी अशोककै काँधमा आयो । अामको उपचार र शल्यकृयामै घरघडेरी सबै सकिए । त्यसपछि उनको जीवन थप कहालीलाग्दो हुनपुग्यो । 
 
एकातिर घरको जिम्मेवारी, अर्कोतर्फ अनुहारको ट्युमरका कारण कुनै काम नपाउनु र कुनै आय स्रोत नहुनुले उनी बडो बिलखबन्दनमा परे । युबा उमेरमै उनको बिहेका लागि बुवा आमाले प्रयास नगरेका होइनन् । तर अनुहारमा बढेको ट्युमरले सिर्जना गरेको विरूपताले उनलाइ केटी दिन कोही तयार भएनन् । त्यसैबीचमा थलिएकी अामालाइ पनि उनले गुमाए । 
 
मातापिता दुबै गुमाएका एक्ला अशोकले इन्टरनेट मार्फत आफ्नो  उपचारका लागि खोजी गर्न थाले । यसक्रममा एनएफ midwest का director Diana को सहयोगबाट डाक्टर म्याके म्याककिननसँग सम्पर्क भयो । उनले इमेलबाट कुरा थाले । 
 
यसै क्रममा सिकागो प्लास्टिक सर्जरी गर्न विश्व प्रसिध्द रहेको र डा. म्याके म्याकीनन त्यसका लागि प्रख्यात चिकित्सक हुन भन्ने थाहा पाए । यस क्रममा उनको कम्तिमा चार जटिल  शल्यक्रिया गर्नुपर्ने देखियो । यसका लागि निकै ठूलो धनराशी आबश्यक पर्ने भएकोले कसरी सम्भव हुन सक्ला भनेर चिन्तित भए । 
 
यहि क्रममा भिडियोबाट आफ्नो पीडाको कथा बिश्वभर पुर्‍याउन सके सहयोगीहरु भेटिन सक्छन कि भन्ने लाग्यो । यसका लागि उनलाई  अनुप थापा नाम गरेक एक जना सहयोगी अघि अाए । यो भिडियो फेसबुकमा अपलोड भए लगत्तै तत्काल नेपालीमुलकी एक जना बेलायत निवासी कृष्टिना एलेनले  उपचार सफल गरेरै छोड्ने प्रतिज्ञा साथ "गो–फन्ड" मा खाता खोलिन ।   बिश्वभर अनलाइन मार्फत आर्थिक संकलन अभियान अघि बढ्यो।  
 
यो क्रम बिस्तार हुँदै विभिन्न देशमा रहेका नेपालीहरु रुपक खड्का, मुखिया गुरुङ, इपिएस अरुण श्रेष्ठ, जापान नेवा इन्टरनेशनल फोरम, भिमा नेम्वाङ,  मिना वान्तवा, बिनोद पौडेल जस्ता थुप्रै महान हृदय भएका नेपालीबाट आर्थिक संकलन अभियान संचालन भयो । गो–फण्डमा करिब २५ हजार डलर जति यो अभियानबाट जम्मा भयो । अहिले रकमलाई खल्तिमा हालेर अशोक उपचारका लागि अमेरिकाको सिकागो अाइपुगेका छन् ।
 
शल्यक्रिया सुरू हुनु अगाडि केही कुरा बुझ्नु पर्ने र सम्भाबित खर्चको अन्तिम ट्टुङ्गो लगाउन समय लिएको थिएन । डाक्टरसँग भेट मात्र गर्ने भनि सुरूमा एप्वान्ट्मेन्ट लिएर सिकागो आउन चाहेका थिए ।
 
सिकागोमा मेरो चिन्ने जान्ने कोहि नभएकोमा मैले नेपालबाटै करिब ६/७ जना नेपाली  दाज्यू भाइहरुको  फेसबुक सर्च गरे सेवाको भावाना भएका मान्छेलाई मैले सिकागोमा आईपर्ने समस्याको लागि सहयोग माग्न मसँग मेसेन्जर मार्फत सहयोग मागे  ।
 
उनी भन्छन्– मैले फेसबुकको मेसेन्जरबाट अाफ्नो अवस्था दर्शाएर सहयोग माग्दा टेकराज पाैडेलले तुरून्त रेस्पोन्स गर्नुभयो । टेकराजजीनै एअरपोर्टसम्म लिन अाउनुभयो । 
 
उनको अनुहारमा आएको यस्तो ट्युमरलाई न्युरोफिब्रोमाटोसिस भनिदो रहेछ । यस्ले शरिरको विभिन्न ठाउमा असर पुर्‍यानुको साथै हड्डीलाई समेत नष्ट गर्ने रहेछ । ट्युमरका कारण असाध्यै क्षति पुर्‍याएको दायाँ कन्चटको हड्डीको रि-कन्स्ट्रक्सन सर्जरी गर्नुपर्ने सोचेकोमा डा. म्याके म्यासिसन्को जाँचबाट पहिलोपल्ट मेरो दायाँ छोपेको आँखा पछाडिको भागबाट ब्रेन तल ट्युमर देखा पर्न थालेको र यसले दायाँ आँखाको पछाडिको हड्डि खोपिल्टाको हड्डी नस्ट भै ब्रेन तल झर्न सक्ने अवस्था छ । सो निश्चित निस्कर्श गर्न हड्डिको एक्सरे र सिटि स्क्यान गर्नुपर्ने स्थिति छ ।
 
संसारमा प्रत्येक ३० हजारमा एक जनालाई मात्र यस्तो रोग हुने चिकित्सकहरूले बताएका छन् । त्यसोहुँदा यो रोगको उपचार खर्च निकै महँगो छ । अझ हामी जस्तो गरिब देशका नागारिकले आफ्नो खर्चले सम्भाबना छैन । विगतमै भएभरको सम्पति आमाको उपचारमै सकिएकोले अहिले उपचारका लागि सहृदयीहरूको सहयोगको अपेक्षा उनले गरेका छन् । उपचार खर्चको तुलनामा गो-फण्डबाट संकलन भएको रकम ज्यादै सानो भएकाले उनको उपचारमा थप धनराशीको अावश्यकता छ ।
 
उनी भन्छन्–'मलाइ  सबैको सहयोगबाट नै बाच्छु कि जस्तो लागेको छ . सिकागोमा मेरो सफल उपचार सम्भव भयो भने मैले मेरो नयाँ जीवन बनाइ दिने समस्त साथीभाई महानुभाबहरुको  गुण बाचुन्जेल कसरि भुल्न सक्छु र ?' 
 
उनले सिकागोमा रहेका विभिन्न संघसस्था दाजुभाइ दिदिबहिनीमा सहयोगका लागि अपिल गरेका छन् । अहिले होटलमा बसेर प्रारम्भिक उपचार गराइरहेका अशोकले अनुरोध गरेका छन्– 'मलाइ कुनै आफ्नो घर हुने महान हृदय भएका दाजुभाइले बेसमेण्ट उपलब्ध गराईदिन सक्नुभयो भने वा आफ्नो एपार्टमेन्ट शेयर गरिदिनु भयो भने मलाइ ठुलो आर्थिक राहात हुने थियो ।
 
हाल म अस्थायी रुपमा ६१६ पश्चिम आर्लिङ्ग्टनको होस्टलमा टेकराज पौडेलले ब्यबस्थापन गरिदिनु भएको ठाउँमा छु । यहाँ धेरैमा १४ दिन भन्दा बढि बस्न पाइदोरहेनछ । चर्को मूल्य तिरेर म  होटेलमा बस्ने स्थिति छैन । सिकागोबासी मित्रहरुमा भौतिक र नैतिक सहयोग को अपेक्षा गरेको छु ।'
 
मानिसको जीवनमा सबैलाइ कुनै न कुनै विपत्ती अाउँछ । कसैलाइ सानो त कसैलाइ ठूलो । जस्तोसुकै विपत्तीमा पनि अरूको साथ, सहयोग र सद्भाव रह्यो भने सहजै समाधान हुन्छ । एकले अर्कालाइ विपत्तीमा पर्दा सहयोग गर्दा अाफूलाइ त्यस्तै समस्या पर्दा अरूबाट पनि सहयोग र सद्भाव मिल्छ । यतिखेर अशोक नयाँ जीवनको प्रतिक्षामा छन् । उनलाइ पनि अरू सामान्य मानिस सरह बाँच्ने, अाफ्नो क्षमताको उपयोग गरेर समाजलाइ योगदान गर्ने, परिवार घरपरिवार बसाउने चाहना स्वभाविक रूपमा छ । त्यसका लागि तपाइ हामी सबै सहृदयीहरूको साथ र सहयोग जरूरी छ । 
 
अाउनुस् सबैले नेपालदेखि ठूलो अाशा र अपेक्षा लिएर उपचारका लागि अमेरिका अाएका यी अशोकलाइ नयाँ जीवन लिएर नेपाल फर्कने उनको चाहनामा सबैले अा-अाफ्नो ठाउँबाट सहयोग गराैँ । भनाइ छ नि-'एकले थुकि सुकी, सयले थुकी नदी ।' 
 
हामी सबैले सानो सहयोग गर्दा पनि उनको जीवनले नयाँ गति लिनेछ । उनीसँग प्रत्यक्ष कुराकानी गर्न चाहनेका लागि फोन नम्बर ७७३२८९७०१५ हो । 
प्रस्तुति : टेकराज पौडेल