विचार / ब्लग

सपनामा राजनीति

217 पटक पढिएको

- धनराज गिरी

9th Jan 2018, Tuesday | २०७४ पुष २५, मंगलवार ०५:२५
जब जब मनमा केही कुरा खेल्न थाल्दछ तब तब ती कुराहरु सपनामा घटित हुन थाल्दछन् । एउटा सचेत नागरिक भएको नाताले देश, काल र वर्तमानमा घटित घटनाहरुबाट अछुतो रहने कुरै आएन । क्याम्पसमा साथीहरु आआफ्नो धारणा राख्दछन् उथलपुथलका बारेमा । म पनि मौन बस्ने कुरै आएन । आफू सोझै राजनीतिमा नहोमिए पनि २० वर्षदेखि अप्रत्यक्ष राजनीति गरिरहेको छु । म राजनीतिबाट टाढा छु भन्नु, स्वयम्लाई छल्नु हो । म पनि राजनीतिमा चासो राख्दछु । आफ्नो धारणा सार्वजनिक गरिरहेको छु ।
 
धेरै वर्षअघि चितवन जिल्लाका समाजसेवी एवम् प्रखरवक्ता शेषनाथ अधिकारीज्यूलाई मैले आफ्नो अनुमानशास्त्र प्रयोग गरेर भनेको थिएँ, ‘शेषनाथजी, म पढाएर गुजारा टार्ने मानिस हुँ । जे विषय पनि पढाएँ । अचेल लेख्छु पनि । राणाशासन अन्त्य हुनका कारणहरु पढाइयो, पञ्चायत पतन हुनका कारणहरु पनि मच्ची मच्ची पढाइयो । राजतन्त्रका बारेमा बोल्छन् । चारतारेहरुका नजिक छु, यथेष्ट माया नपाए पनि । बाबुराम पुरीजीले उच्च रक्तचापका कारणले म दाजु त्रिलोचन पौडेल वा सहकर्मी रामप्रसाद सिलवाल बन्न सकिरहेको छैन । भविष्यमा के हुन्छ ? भन्न सक्दिन । एउटा कुरा शेषनाथजी, मैले पास हुन्न भनेर ठोकुवा गरेको विद्यार्थी फेल भएको छ । मेरो अनुमान, अक्सर खेर जान्न ।
 
कतै कांग्रेस पतन हुनका कारणहरु पनि पढाउन पर्ने त होइन ? शेषनाथजीलाई मैले यो प्रश्न गरेको धेरै वर्षअघि हो । आज आएर सत्य सावित हुन खोजेको त होइन । यही कुराहरु मनमा खेलिरहेका थिए सपनामा रामचन्द्र पौैडेल, शेषनाथज्यू र अन्य नेताहरु आउनुभयो । एकछिन उहाँहरुको कुरा सुनेँ । ढाकछोप मात्रै । गल्ती स्वीकार्न कोही पनि तयार नहुने । मलाई न आश, न त्रास । इमान्दारीपूर्वक कमजोरी देखाउने मानिस शत्रु होइन । रामचन्द्र दाजीलाई सम्बोधन गर्दै बोलेछु, ‘दाजी, शेषनाथ अधिकारी मेरो पारिवारिक अभिभावक हुनुहुन्छ ।
 
चुनाव हारे पनि जिते पनि चितवन जिल्लामा उहाँको उचाइको अर्को मान्छे छैन । उहाँकै संगतले कुनै जमानामा सक्कली छत्तीसे भइयो । गर्व थियो कृष्णप्रसाद भट्टराईजस्ता सन्त बाबाको अनुयायी हुन पाएकोमा । गणेशमानदेखि सन्त बुढासम्मलाई रुवाएको कांग्रेसले मलाई पनि छोडेन । यति मात्र हो र बाबुराम पुरीलाई धुरुक्क रुने बनायो । दाजी त्रिलोचन पौडेलको पीडा कसले बुझ्ने ? रामचन्द्र दाजी, लेखेर राख्नुहोस् कांग्रेसलाई हराएको अरुले होइन । र, अब यो खेलको अन्त्य होलाजस्तो पनि छैन । २३ र ४० पनि कताबाट चिठ्ठा प¥यो भन्छु म । यो हालतमा दललाई पु¥याउने आधार २४ वर्षअघि नै बनेको थियो । विचरा हुन् शेरबहादुर अंग्रेजीमा एमए गरेर आएको मान्छेलाई संस्कृत पढाउन पठाएर हुनछ ? यदि कांग्रेसलाई प्रजापरिषद् नबनाउने हो भने यो दल एकदिन पर्यटकीय वस्तु’ बन्छ र विदेशी विद्वानहरु यसमाथि विद्यावारिधि गर्न आउनेछन् ।
 
वर्तमान कमजोर हुने मानिस इतिहासको शरणमा जान्छ । अब इतिहास जपेर ‘बीपी नाम रटेर यो पाराले खटेर चारतारेको अस्तित्व रहँदैन । प्रदीप गिरिको विद्वताले र गगन थापाको हुँकारले मात्र कति दिन धान्ने ? कांग्रेस अब चिलिम हुने विन्दुमा पुगिसकेको छ । आजसम्म वामपन्थीहरु फुटेर नै यो दललाई मोज भएको हो । फेरि पनि कम्युनिष्टहरु एक हुन्नन् र ५ वर्षपछि राज गर्ने हामी नै हौँ भनिन्छ भने त्यो दिवास्वप्न हुनेछ । दाजी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सुधारको आवश्यकता छ । परिवारवादलाई निस्तेज गर्नैपर्छ । एउटा परिवारको एकजना पात्र मात्र राजनीतिमा लाग्न पाउने व्यवस्था हुनुपर्छ । एकपटक मात्र प्रधानमन्त्री हुन पाउने चलन चलाए हुन्छ । वडाध्यक्ष हुन लायक पात्र सात पटक प्रधानमन्त्री हुने सपना देख्ने यो देशमा जनताले कसलाई विश्वास गर्ने ? इतर हामीभन्दा बढी नालायक होला र हामी लायक हौला भन्ने कल्पना गर्ने होइन, आफू काम गरेर लायक हुने हो ।
 
आज तपाईंहरुसित मनका कुरा राख्न पाएँ । मेरो कुरा सुन्नुभयो । म कांग्रेसको मित्र बन्न नसके पनि दुश्मन कदापि होइन । मलाई पनि मेरै वरिपरिका चारतारे हुँ भन्नेहरुले दिक्क बनाए । यहाँसम्म पारिवारिक जीवनमा पनि विघटन आयो । शेषनाथ अधिकारीजी पनि परिवारवादबाट ग्रसित हुनुभयो । चितवनको कांग्रेसी राजनीतिलाई अभिभावकत्व दिने काम उहाँको हो । प्रौढ भनेको प्रौढ नै हो । संरक्षक चाहिन्छ । युवा पुस्ताले अब नेपाली कांग्रेसलाई हाँक्ने हो भने पैसाबाट टाढा बस्न सक्नुपर्दछ । राजनीति सेवा हो, व्यापार होइन । सुरा र सुन्दरी राजनीति गर्नेहरुका लागि अभिशाप हुन् । हामी शुभचिन्तक हौँ । चित्त दुखेका साथीहरुलाई एक ठाउँमा भेला गरेर मन माझ्ने काम गर्नुपर्दछ । आन्तरिक विवाद जहाँ पनि हुन्छ । द्वन्द्व कहाँ हुन्न ? पराजित कांग्रेसलाई भन्दा विजयी वामपन्थीलाई यो पाँच वर्ष हम्मे हम्मे पर्नेछ ।
 
८४ वर्षको बूढाले २५ वर्षकी राम्री युवती विवाह गरेर ल्याउँदा जस्तो हुन्छ सोही हालत भएको पो छ कि लालनगरमा उता पनि मानिसहरु नै छन् । मानवीय कमजोरीहरु जहाँ पनि हुन्छ नै । सौन्दर्यको लडाइँ कहाँ हुन्न र ? यसपाली ढलेका रुखहरु जरैसहित उखेलिएका होइनन्,, पात्रमात्र झरेको हो र कांग्रेस कमजोर छैन भनेर प्रमाणित गर्ने हो भने ६० वर्ष कटेका बूढा रुखहरु स–मिलतिर पठाए हुन्छ । नयाँ विरुवाहरु रोपेर कांग्रेसी उपवन जोगाउन सकिन्छ । दुई दल भए पुग्छ । वामघटकहरुले पनि बढी चटक नगरी एउटै दल बनाए हुन्छ । सबै बलियो भए देश पनि बलियो हुन्छ । मजस्तो नागरिक कुनै पनि दलको अन्धभक्त हुँदैन । म पनि अलि अप्ठेरो र अकडो छु । मलाई शेषनाथ अधिकारीज्यूले राम्रोसित चिन्नुहुन्छ ।
 
रामचन्द्र दाजु, तपाईंको परिवारमा म परिचित छु । धेरैलाई पढाएको छु । विद्वान भाइ भरतराज पौडेल अष्ट्रेलिया बसेर पनि मलाई सम्झिरहन्छन् । आजसम्म कांग्रेसको पक्षमा खुलेर बोल्न र लेख्न मलाई कांग्रेसले नै मौका दिएन त्यसैले कांग्रेसप्रति आजसम्म म त्यति उदार हुन नसकेकै हो । वरिपरि रहेका कांग्रेसी स्वजनहरु मेरो तेजोवध गर्न कडाइ कसेरै लागेको हुनाले मैले पनि मानवीय कर्म निर्वाह गरेको हुँ । म चाहन्छु कुनै पनि योग्य र स्वाभिमानी नेपाली नागरिकलाई उचित सम्मान दिन नेपाली कांग्रेसले सिकोस् । कांग्रेसभित्र कस्ता कस्ता ऐंजेरु पलाएका छन् भन्ने कुरा बैनी रामेश्वरी पन्तले केही दिनअघि कान्तिपुरमा लेखिन् । “जनताले उचित पुरस्कार दिएकै हुन् । जनताले अर्को चुनावमा अझ कठोर निर्णय नगरुन् र ३६४ दिन जय नेपाल भनेर एक दिन रुखबाहेक अन्त छाप लगाउने परम्परा अन्त होस् ।” यसरी सपनामा भए पनि मैले यति भन्न पाएँ । भाइ सञ्जय पन्तले भने– “यो देशमा एउटा मात्र कांग्रेस बाँकी रहेछ भने त्यो व्यक्ति म हुनेछु ।” तर उनी छन् धेरै पर लण्डनमा ।