मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जाडोले कठ्यांग्रिएर रौतहटमा पाँच जनाको मृत्यु

जाडोले कठ्यांग्रिएर रौतहटमा पाँच जनाको मृत्यु


रौतहट । दिनप्रतिदिन बढ्दो शीतलहरका कारण रौतहटमा जाडोले कठ्यांग्रिएर पाँच जनाको मृत्यु भएको छ । 
 
आइतबारमात्रै परोहा नगरपालिका–२ का ४५ वर्षीय शेख समिम र वडा नं ९ का ६५ वर्षीय मरसियादेवी कुर्मीको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 
यसअघि शनिबार गडीमाई नगरपालिका–४ का ५५ वर्षीय महर्जन ठाकुर हजाम, राजदेवी नगरपालिका–७ मुडवलवाका ७५ वर्षीय अयोधी राय यादव र गढीमाई नगरपालिका–१ स्थित चिमनी भट्टामा काम गर्न आएका सर्लाहीका नेकमहम्मद अलीको मृत्यु भएको थियो । 
 
मृत्यु हुने सबै विपन्न र रोजगारीका लागि रौतहट आएका मजदूर हुन् । विगत एक हप्तादेखि बाक्लो कुहिरोसँगै शीतलहर बढेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ ।
 
चिसो हावासँगै शीतको वर्षा हुने गरेका कारणले चिसो अत्यधिक मात्रामा बढेको हो । जिल्लामा शीतलहर बढेपछि जिल्ला वन कार्यालयले अहिलेसम्म नौ स्थानमा दाउरा वितरण गरेको जनाएको छ । शीतलहरले जनजीवन प्रभावित भएपछि आपूर्ति समितिबाट सुलभ मूल्यमा दाउरा उपलब्ध गराइएको वन अधिकृत दीर्घनारायण कोइरालाले जानकारी दिए । 
 
सामुदायिक विद्यालय थप चार दिन बन्द 
 
यसैबीच, शीतलहर बढेपछि जिल्ला शिक्षा कार्यालयले फेरि थप चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शीतलहर कारण विद्यार्थीलाई विद्यालय आउन कठिन भएपछि आइतबारदेखि पुनः चार दिन बिदा थप गरेको जिल्ला शिक्षा अधिकारी रामविनय सिंहले जानकारी दिए । 
 
यसअघि गत पुस १७ गते सोमबारदेखि २१ गते शुक्रबारसम्म सबै सामुदायिक विद्यालय बन्द निर्णय भएको थियो । रौतहटमा ४२ निजी विद्यालय र ३५१ सामुदायिक विद्यालय सञ्चालित छन् । 
 
यसैबीच, निजी विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले बिदा नदिएको र केही निजी विद्यालयले भने थप दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । विद्यार्थी विद्यालय आउने अवस्था नभएपछि थप दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको मुनलाइट एकेडेमी चन्द्रनिगाहपुरका प्राचार्य श्यामकिशोर चौधरीले बताए । रासस