मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चिसोले एक बालकसहित पाँच जनाको मृत्यु

चिसोले एक बालकसहित पाँच जनाको मृत्यु


लहान । पछिल्लो केही दिनयता  अत्यधिक चिसोका कारण सिरहामा एक नाबालकसहित तीन जनाको मृत्यु भएको छ ।
 
अत्यधिक चिसोका कारण शनिबार राति गोलबजार नगारपालिका–४ निवासी शम्भु साहको छ वर्षीय छोरा लभकुमार साह र गोलबजार–२ लालपुर निवासी ७० वर्षीय रामप्रसाद महतोको मृत्यु भएको हो ।
 
जाडोका कारण बेहोस भएका बालक साहको धामीझाँक्री लाउन थालेपछि मृत्यु भएको स्थानीय रामभरोसी यादवले जानकारी दिए ।
 
यस्तै चिसोकै कारण शनिबार धनगढीमाई नगरपालिका–७ कसहा निवासी ५५ वर्षीय रामरतन महतोको मृत्यु भएको छ । श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित महतोको चिसोका कारण मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।
 
अत्यधिक जाडोका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । अत्यावश्यक कामबाहेक नागरिक घर बाहिर निस्कन सकिरहेको छैनन् भने अस्पतालमा रुघाखोकी, ज्वरो, कोल्ड डायरियालगायतका बिरामी बढेका छन् ।
 
यसैबीच, सिरहाको विष्णुपुर गाउँपालिकाले ३०० विपन्न गरिब घर परिवारलाई कम्बल बितरण गरेको छ । गाउँपालिकाको पाँच वटै वडाका ७५ वर्ष नाघेको वुद्धा, दलित, अपांग, सुत्केरी महिला र असहाय बालबालिका तथा अति विपन्न परिवारलाई कम्बल वितरण गरेको गाउँपालिका प्रमुख जागेश्वर यादवले बताए ।
 
यसैगरी, राजविराजको सप्तरीमा विगत चार÷पाँच दिनदेखि चलेको शीतलहर र चिसो हावाका कारण दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ बस्ने ६५ वर्षीय लखन ठाकुर र खडक नगरपालिका–८ मुसरनिया बस्ने ७० वर्षीय मुसहरू चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए ।
 
ठाकुरको गाईगोठमा बसिरहेको अवस्थामा जाडोको कारण मृत्यु भएको हो भने चौधरीको आफ्नै घरमा सुतिरहेको स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तरीमा चिसोका कारण अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ ।