अन्तर्वार्ता

महिलालाई बच्चा जन्माउने मेसिनको रुपमा मात्रै लिइन्छ : केकी अधिकारी

485 पटक पढिएको

5th Jan 2018, Friday | २०७४ पुष २१, शुक्रबार १७:१९

केकी अधिकारी नेपाली रजतपटकी लोकप्रिय नायिका हुन् । बब्ली स्वर अनि मिजासिलो स्वभाव उनको पहिचान हो । दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी केकीले सयौं म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । कलाकारिता क्षेत्रमा नै जिन्दगी बिताउने सोच रहेको बताउने केकी स्वयम्ले चलचित्र निर्माणमा हात हालेकी छिन् ।

‘कोहलपुर एक्सप्रेस’ उनले निर्माण सुरु गरेको चलचित्र हो । अहिले भने उनको अभिनय रहेको चलचित्र ‘राज्जा रानी’ यही पुस २१ गतेबाट अल नेपाल रिजिल हुँदैछ । ‘राज्जा रानी’ सँगै समग्र चलचित्र उद्योगका विषयमा केन्द्रित रहेर बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः  
० ० ०
प्रदर्शनको तयारीमा रहेको ‘राज्जा रानी’ कस्तो खालको चलचित्र हो ?

 

इस्यू बेसमा केन्द्रित रहेर निर्माण गरिएको चलचित्र हो, ‘राज्जा रानी’ । ‘सोसल लब स्टोरी ड्रामा’ बेसमा रहेर निर्माण गरिएको चलचित्र हो । 

के विषयलाई चलचित्रले उठान गरेको  छ ?
 

तराईमा रहेको दाइजो प्रथालाई चलचित्रले उठान गरेको छ । दाइजो प्रथाले कसरी हामी नेपाली महिलाको जीवनलाई प्रभाव पारेको छ भनेर यो चलचित्रमार्फत हामीले देखाउन खोजेका छौं । अझै पनि दाइजोका कारण महिलाहरुले भोग्दै आएको अन्याय, अत्याचार, हिंसा र त्यसले समाजमा पारेको प्रभाव कस्तो खालको छ भनेर हामीले मनोरञ्जनका माध्यमबाट देखाउन खोजेका छौं । हेरौं, कस्तो हुन्छ ।  

तपाईं त काठमाडौंको मान्छे, कत्तिको गाह्रो भयो नेपालगञ्जको महिलाको चरित्रमा ढल्न ?
 

पक्कै गाह्रो नै भएको थियो । मेरो को–एक्टर नाजिर हुसेन तराईको हुनुहुन्थ्यो, उहाँलाई भाषादेखि परिवेशबारे धेरै जानकारी थियो तर मलाई भने खासै जानकारी थिएन । त्यसैले मैले ‘स्क्रिप्ट’ पाउनेबित्तिकै नेपालगञ्जको एक जना दाइसँग कुरा गरें । उहाँले बोलेको मोबाइलमा रेकर्ड गरेर उहाँको जस्तै लवजमा बोल्न प्रयास गरेँ । त्यस्तै, उहाँले स्पटमा पुगेपछि त्यहाँ दुई जना बहिनीबाट त्यहाँका महिलाले भोग्नुपर्ने समस्याका विषयमा जानकारी लिएँ ।

चरित्रमा ढल्ने सकेसम्म प्रयास गरेकीछु । फेक नदेखिउँ भनेर त्यहाँको लवजमा मलाई ढल्नका लागि मैले मोबाइलमा रेकर्ड गरेको कुरा पटक पटक सुन्थेँ । त्यहाँको स्थानीय लवज जस्ताको तस्तै उतार्ने प्रयास गरेकी छु । 

कस्तो रहेछ त्यहाँका महिलाले भोग्नुपर्ने समस्या, के देख्नु भयो ?
 

समस्या धेरैछन् । मान्छेले मान्छेको जस्तो व्यवहार गरिँदैन । त्यहाँका युवती जिउँदै मरिरहेका छन् । दाइजोले महिलालाई गर्ने व्यवहारनिर्धारण गर्छ । महिलालाई बच्चा जन्माउने मेसिनको रुपमा लिइन्छ । बच्चा जन्माउने र बच्चा जन्माइसकेपछि महिलालाई रोग लागेपछि उसलाई उपचार गर्न पनि आवश्यक ठानिँदैन । यस्तोसम्म छ त्यहाँ । चलचित्रमा एउटा नाजिरले मलाई पिट्ने सिन छ । उसले मलाई पिट्दा त्यहाँ छायांकन हेर्न आएका स्थानीयले मलाई (महिला) पिटेको भनेर खुसीले ताली बजाउँछन् । 

यस्तो गम्भीर विषयलाई तपाईंहरुले काठमाडौं गएर कसरी सही तरिकाले उठान गर्नुभयो, न्याय गर्न सकेजस्तो लाग्छ ?
 

हामीले रिसर्च गरेर स्क्रिप्ट तयार गरेका छौं । त्यहीँ गएर स्थानीयसँग बसेर धेरै कुरा जान्ने प्रयास गरेका छौं । म स्वयम्ले पनि अघि नै भनिसकेको छु, महिलालाई साथी बनाएर धेरै कुरा जस्ताको तस्तै उतार्ने प्रयास गरेको छु । नाजिर तराई मूलकै भएकाले उसको पनि इनपुट छ । सकेको प्रयास गरेका छौं । अझै पनि पर्याप्त रिसर्च गर्नुपर्छ र मधेसका सबै समस्या चलचित्रमार्फत बाहिर ल्याउनुपर्छ भन्ने लाग्छ मलाई ।  

‘इस्यू’ बेसको चलचित्र भन्नुभयो, ‘इस्यू’प्रधान चलचित्रले बक्स अफिसमा राम्रो उपस्थिति जनाउन सकेका छैनन् नि !
 

काम गर्दा हामी सबैले सकारात्मक अपेक्षा नै राखेका हुन्छौं र राख्नु पनि पर्छ । इमानदार भएर काम गर्नुपर्छ र गरेका पनि छौं । योकाम बिग्रिएला कि भनेर गरेको काम राम्रो हुँदैन । हो,‘इस्यू’ बेसका चलचित्रले बक्स अफिसमा राम्रो गर्न सकेका छैनन्, मलाई थाहा छ । ‘इस्यू’ बेसका चलचित्रलाई दर्शकले स्वीकार गरिसक्नु भएको छैन तर यसो भन्दैमा यस्ता खालका चलचित्र बनाउनै छोड्नु पनि भएन । चल्दैनन् भनेर इस्यू बेसका चलचित्र नबनाउने होभने एकै खालका चलचित्रमात्रै बन्छन् । एकै खालका चलचित्रका लागि यो चलचित्र उद्योग होइन । दर्शकले चलचित्र छान्न पाउनुपर्छ । समय अनुसार दर्शकको टेस्टमा पनि फरक आउँछ भन्ने मेरो विश्वास छ । 

नेपाली चलचित्रले उठान गरेका विषय पर्याप्त छन् ?
 

छैनन् । हाम्रो रिसर्च पुग्दैन । बजेट पुग्दैन । हामी कुनै पनि काम गर्न पैसा हैन मन चाहिन्छ भन्छौं तर यो यस्तो एउटा फिल्ड हो, जहाँ पैसा पनि बराबर चाहिन्छ ।

वास्तविकतासँग नजिक पुर्याउनका लागि बजेट चाहिन्छ । तर अभावकै कारण भने जस्तो भैरहेको छैन भनेर हामी उम्किन मिल्दैन । हामी आफ्नोतर्फबाट गर्ने रिसर्च पर्याप्त गर्दैनौं । मेरो कुरा गर्ने होभने एउटा चलचित्रबाट तुरुन्त अर्को चलचित्रमा जानुपर्ने अवस्था छ । आय स्रोत र बजार भ्यालुका कारण म चाहेर पनि मेरो चलचित्रमा पर्याप्त रिसर्च गर्न सक्तिन । वर्षमा एउटामात्रै चलचित्र गर्न पाए यही चलचित्रको रानीको चरित्रमा लामो समय रिसर्च गरेर म अझ राम्रो गर्न सक्थेँ भन्ने लाग्छ । यो कुराले मलाई सधैं पश्चाताप लाग्छ । 

बजार र बजेट ठूलो भए नेपाली चलचित्र पनि हलिउड, बलिउडका जस्तै राम्रा चलचित्र बनाउन सकिन्थ्यो ?
 

यसमा दुई मत नै छैन । बजेट र बजार ठूलो हुने हो भने पर्याप्त रिसर्च गरेर चलचित्र बनाइन्थ्यो र त्यही अनुसारको इनपुट प्रत्यक व्यक्तिले गर्थे । यति हुनेबित्तिकै चलचित्रको गुणस्तर माथि उठ्थ्यो । 

हामीले राम्रो चलचित्र राम्रो भएर पनि बेच्न सकेनौं कि चलचित्र नै नराम्रो बनायौं ?
 

दुवै पक्ष हो । भर्खरमात्रैहामी मार्केटिङ प्लान बनाउन थालेका छौं । प्रोमोशनका नयाँ थिम लिएर आउन थालेका छौं । हामी सिक्दै गरेको चरणमा छौं । लामो समयको राजनीतिक र आर्थिक अस्थिरता हाम्रो पुस्ताले नै देख्यो । त्यसको प्रभाव यो क्षेत्रमा पनि पर्यो । कतै न कतै राजनीतिक द्वन्द्व र आर्थिक संकटको मनोवैज्ञानिक असर चलचित्र क्षेत्रमा पनि छ ।

विस्तारै यी कुरा सेटल भएपछि चलचित्र क्षेत्र पनि राम्रो हुँदै जान्छ । समाजका सबै क्षेत्रअस्तव्यस्त भएका बेला चलचित्र क्षेत्रमात्रै राम्रोभएन भनेर सोच्नु पनि गलत हुन्छ । हामीले जति गर्न सक्थ्यौं, त्यति पनि गर्न सकेका छैनौं । हामी अध्ययन गर्न थालेका छौं । यसको असर अब चाँडै पर्छ भन्ने लाग्छ । 

तपाईंको अभिनय सबैले रुचाउँछन्, क्यारेक्टर पनि हिट हुन्छ तर चलचित्र भने हिट हुँदैन, कारण के हो समीक्षा गर्नु भएको  छ ?
 

यसको कारण म पनि भन्न सक्दिन । मसँग केही सीमितता हुन्छन् । मैले मेरो क्यारेक्टरलाई परिमाजर्नन गरेर यस्तो गर्न सक्छु भन्ने इमाजिन त गर्न सक्छु तर त्यो स्क्रिप्ट नै परिमार्जन भने गर्न सक्तिन । मैले मेरो सुझाव माने चलचित्र राम्रो हुन्छ भन्न खोजेको भने होइन । मैले गर्न सक्ने भनेको मेरो पात्रलाई न्याय हो, जुन गरिरहेकै छु । मैलै कुनै पनि चलचित्रमा मेरा दर्शकलाई निराश पारेको छैन । प्रत्येक चलचित्रमा म ‘ग्रो’ भैरहेको छु । मैले मेरो सफलताको माध्यम यसैलाई बनाएको छु । बक्स अफिस हिटलाई मैले मेरो ग्रोथको आधार बनाएको छैन । 

अरुका चलचित्रको स्क्रिप्टलाई परिमार्जन गर्न सक्तिन, आफ्नो चरित्रलाई न्यायमात्रै गर्न सक्छु भन्नुभयो । यही कारण हो चलचित्र निर्माणमा प्रवेश गर्नुको ?
 

सायद यस्ता धेरै कारण हुन सक्छन् मैले चलचित्र निर्माण गर्नुको । तर यसको मतलब अहिलेसम्म प्रोडुसरले गर्नु भएको गलत हो, राइटरले राम्रो कथा भन्न सक्नु भएन त्यही भएर मैले चलचित्र निर्माणमा हात हालेँ भन्ने होइन ।

बाहिरबाट यो भएन त्यो भएन भन्न सजिलो छ तर सेटमा गएर काम गर्न निकै गाह्रो छ । त्यो म आफैं पनि फिल गरिरहेको छु । मेरा पनि धेरै कमीकमजोरीहरु छन् । म अहिले थाहा पाइरहेको छु ।

यो चलचित्रमा देखिएका कमजोरी म अन्य चलचित्रमा देखाउँदिन । मलाई एउटा कथा भन्न मन लागिरहेको थियो । ‘कोहलपुर एक्स्प्रेस’ मैले सोचेजस्तो कथा बोकेर मसम्म आइपुग्यो र बनाऔं नत भन्ने भयो र निर्माण सुरु गरियो । मैले जानेको, देखेको  यही चलचित्रको काम हो । त्यसैले सम्बन्धित काम नै हो भनेर पनि निर्माणमा प्रवेश गरेको हुँ । 

अब केकी अधिकारी निर्मात्री भएका चलचित्र दर्शकलेनिरन्तर देख्न पाउने छन् ?
 

म चाहन्छु म सधैँ यही चलचित्र क्षेत्रमै रहिरहुँ । म अहिले हिरोइनको रुपमा छु । हिरो हिरोइनको आयु कति नै लामा हुन्छ र ? तर प्रोडुसरको त आयु यति नै भन्ने हुँदैन । त्यसैले पनि हेरौं, पहिलो चलचित्र कस्तो हुन्छ । 

पछिल्लो समय त निर्माणसँगै नायिकाहरु निर्देशनमा पनि प्रवेश गरिरहेका छन् नि !
 

हुनुहुन्छ । तर, निर्देशन त्यति सजिलो काम हैन । धेरै अप्ठ्यारो काममध्येको एक काम हो निर्देशन । मेरो अहिलेको नलेजले यो काम गर्न म सक्तिन । मेरालागि यो धेरै परको कुरा हो । म अहिले नै निर्देशन गर्न सक्छु जस्तो मलाई लाग्दैन । 

के भयो भने नेपाली चलचित्र अझ राम्रो हुनसक्छ ?
 

हामी अझ बढी इमान्दार हुनुपर्छ । तातै खाऔं जली मरौं भन्ने प्रवृत्ति हामीमा छ । यसको अन्त्य गर्दै धैर्य गर्ने बानी पनि बसाउन सक्नुपर्छ । अध्ययनशील हुनुपर्छ । चलचित्रको आत्मा स्क्रिप्टमा हामी धेरैसमय दिदैनौं । एउटा ‘प्लट’ छ भने फ्लोरमा गैहाल्ने चलन छ । यसको अन्त्य हुनुपर्छ । चलचित्र ‘प्रोमोशन प्लान’ बनाउँदैनौं, यसमा विशेष ध्यान दिनुपर्छ ।बाह्रखरी