मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रदेशको नबने पनि चितवन आर्थिक राजधानी बन्छ : प्रचण्ड

प्रदेशको नबने पनि चितवन आर्थिक राजधानी बन्छ : प्रचण्ड


भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनलाई नेपालको आर्थिक विकासको राजधानी बनाउन अब कसैले रोकेर रोकिनेवाला नरहेको बताएका छन् । 
 
उनले भने, “चितवन वैकल्पिक राजधानी, प्रदेशको राजधानी हुन सक्ला, नसक्ला तर आर्थिक विकासमा भने अग्रणी रहेकाले आर्थिक राजधानी बन्नचाहिँ कसैले रोकेर रोकिनेवाला छैन ।” 
 
शुक्रबार चितवन उद्योग संघको नवौं अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवम् चितवन ३ का सांसद प्रचण्डले चितवनको समग्र विकासको वस्तुगत परिस्थितिलाई अगाडि बढाउने आफ्नो जमर्को अब जनप्रतिनिधिको हैसियतमा हुने बताए ।
 
उनले भने, “यो आर्थिक क्रान्ति र समृद्धिको युग हो । चितवन आर्थिक विकासमा अग्रणी र देशकै केन्द्रबिन्दुमा छ । रेल लाइनका लागि चितवनले कनेक्टिभिटीको भूमिका निर्वाह गर्ने भएकाले विकासको संभावना पनि बढी हुन्छ ।” 
 
प्रचण्डले कृष्णनगरदेखि हेटौँडा हुँदै काठमाडौँ र केरुङदेखि काठमाडौँ हुँदै चितवन जोड्ने रेलमार्गका लागि भरतपुर महानगरले कनेक्टिभिटीको काम गर्ने उल्लेख गरे । उनले भने, “दुई छिमेकी भारत र चीनबीच कनेक्टिभिटीको रुपमा रहेर पाँच वर्षभित्र नयाँ युग आएकै हो भन्ने अनुभूति गराउन राजनीतिक र आर्थिक क्षेत्रबाट सबैले संकल्प गरौँ ।” 
 
“हामीले परिवर्तनलाई संस्थागत गर्ने क्रममा संविधान निर्माणमा सहमति र समझदारीका साथ अघि बढ्यौँ । अब नयाँ नेपाल बनाउने संकल्पका साथ सबै मिलेर विकास निर्माणलाई गति दिन सकेनौँ भने देश निकै अफ्ठ्यारो पर्नेछ”, उनले भने ।  
 
अब कसैलाई दोष देखाएर पन्छिन नमिल्ने बताउँदै प्रचण्डले थपे, “देशको विकास भएन भनेर हामीले राजालाई दोष दियौँ, दलहरुलाई दोष दियौँ, अब कसैलाई दोष दिने ठाउँ छैन । विकास र समृद्धिलाई गति दिन सकेनौँ भने हामी सबै दोषी हुनेछौँ । त्यतिबेला मुलुक निकै अप्ठेरो अवस्थामा हुनेछ ।”