मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकार गठनअघि नै पार्टी एकीकरण : प्रचण्ड

सरकार गठनअघि नै पार्टी एकीकरण : प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनअघि नै पार्टी एकीकरण हुने दाबी गरेका छन् । 
 
प्रेस चौतारी चितवन र प्रेस सेन्टर चितवनले बिहीबार भरतपुर विमानस्थलमा गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले सरकार गठनको बाटो खुलिसकेकोले दुवै दलका नेताहरु पार्टी एकीकरणमा केन्द्रित भएको उल्लेख गरे । 
 
उनले पार्टी एकीकरणमा एमाले र माओवादी केन्द्रमा कुनै मतभेद नभएको भन्दै आजसम्म भएका छलफलहरु सकारात्मक ढंगले अघि बढेको बताए । प्रचण्डले दुई दलका नेतालाई समुचित भूमिका दिनेमा यसअघि नै सहमति भइसकेकाले कुनै विवाद बाँकी नरहेको प्रष्ट पारे । 
 
अध्यक्ष प्रचण्डले भने, “अध्यक्ष र प्रधानमन्त्रीभन्दा पनि सुशासन, समृद्धि र राष्ट्रिय एकतामा जोड दिएको छु । यस विषयमा नेतृत्वमा गम्भीर छलफल भइरहेको छ ।” पार्टी एकताबारे कसैले पनि कहीँ कतै आशंका गर्न जरूरी नरहेको उनले बताए । 
 
प्रचण्डले राष्ट्रिय सभाको निर्वाचनको मिति तोक्ने र प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने जिम्मा आजको बैठकबाट सरकारलाई नै दिएको बताए । उनले सरकारले संविधानको भावनाअनुरुप प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोकिनुपर्ने जिकिर गरे । 
 
उनले अस्थायी केन्द्रका बारेमा चिन्ता नलिन सबैलाई आह्वान गर्दै भने, “अहिलेको निर्णय तुरून्तै प्रदेशसभाले फेर्न पनि सक्ने भएकाले यसलाई ठूलो विषय बनाइनु जरूरी छैन ।”
 
प्रचण्डले राष्ट्रिय सभाको निर्वाचनलगत्तै सरकार गठन हुने बताएका छन् । चितवन उद्योग संघको अधिवेशन तथा भरतपुर महानगरपालिकाको नगरपरिषद् उद्घाटन गर्न तीनदिने गृहनगर बसाईंमा प्रचण्ड चितवन आएका हुन् । उनी शनिबारसम्म चितवनमै रहने कार्यक्रम रहेको उनका प्रेस सहयोगी मनहरि तिमिल्सिनाले जानकारी दिए ।