विचार / ब्लग

सन् २०१७ मा प्रविधिमा के विकास भयो ?

381 पटक पढिएको

सुरेन्द्रबहादुर नेपाली | 2nd Jan 2018, Tuesday | २०७४ पुष १८, मंगलवार ०२:३४
सन् २००१ को जनवरी १ मा ‘इमर्जिङ टेक्नोलोजिज द्याट विल चेन्ज द वल्र्ड’ (विश्वलाई परिवर्तन गर्ने उदाउँदा प्रविधि) शीर्षकमा १० प्रविधिका सूची प्रकाशन गर्दा ‘एमआईटी टेक रिभ्यु’ का सम्पादकहरूले ‘यदि तपाईंलाई सन् १९९० मै इन्टरनेटले २००१ को जस्तो आकार लिन्छ भन्ने थाहा भएको भए तपाईं के गर्नुहुन्थ्यो ?’ भन्ने प्रश्न गरेका थिए र उनीहरूले मानव अर्थतन्त्र, जीवन र काममा गहन प्रभाव पार्ने प्रमुख १० प्रविधिका सूची उपलब्ध गराएका थिए ।
 
उनीहरूले उपलब्ध गराएको सूचीका प्रविधिले त्यसपछिका वर्षमा मानव अर्थतन्त्र, जीवन र कार्यशैलीमा निरन्तर रूपमा प्रभाव पार्दैगयो र सन् २०१७ मा पनि उनीहरूले यस्तै प्रकारको सूची उपलब्ध गराएका छन् । यस वर्षपछि दिइएका सूचीका प्रविधिसँग निरन्तर कायम रहने शक्ति रहेको दाबी उनीहरूको छ । यसपटक पनि सम्पादकहरूले ‘‘यी प्रविधिले मानव अर्थतन्त्र तथा राजनीतिमा प्रभाव पार्ने, चिकित्साविज्ञानलाई सुधार्ने तथा संस्कृतिमा प्रभाव पार्ने’’ दाबी गरेका छन् । 
 
यी सम्पादकका अनुसार यी केही प्रविधि बजारमा आउँदैछन् र केही आउन केही दशक लाग्ने छ । सन् २०१७ ले हामीबाट बिदा लिएको र नयाँ वर्ष सन् २०१८ लाई हामीले स्वागत गरिसकेका छौँ । त्यसैले यी प्रविधिका बारेमा जान्दा फाइदै हुनसक्छ ।  
 
पक्षघातमाथि विजय
 
मेरुदण्डमा लागेका चोटपटकबाट प्राणीको अङ्गमा गुमेको हलचल पुनस्र्थापना गर्न वैज्ञानिकहरूले मस्तिष्क रोपणबाट असाधारण प्रगति हासिल गरेका छन् । उनीहरूले यो प्रविधि आउँदा १० देखि १५ वर्षसम्म उपयोगमा आउने अनुमान गरेका छन् । ‘एमआईटी टेक रिभ्यु’ मा यस वर्ष एन्टोनियो रेगालाडोले पक्षघातमाथि विजयमा वैज्ञानिकहरूले हासिल गरेको प्रगतिका विषयमा एक समाचार प्रकाशन गरेका छन् । 
 
हालका वर्षमा प्रयोगशालामा उपयोग हुने जनावर तथा केही व्यक्तिले आफ्नो मस्तिष्कमा सोचेको आधारमा कम्प्युटर कर्सर वा रोबोटिक हात नियन्त्रण गरिरहेका छन् । उनीहरूको मस्तिष्कमा मेसिनको तार जोडिएको छ । यसैका आधारमा अनुसन्धानकर्ताहरूले पक्षघातलाई एकपटक र सदाका लागि पराजित गरिदिने अर्को महत्वपूर्ण पाइला लिन लागेका छन् । उनीहरूले मस्तिष्क अध्ययन प्रविधिलाई विद्युतीय सिमुलेटर्सको माध्यमबाट शरीरमा सोझै जडान गरिरहेका छन् । फ्रान्सेली वैज्ञानिक ग्रेग्वा कुर्टिन यस प्रविधिलाई ‘‘न्युरल बाइपास’’ भन्ने गर्छन् । उनका अनुसार यस प्रविधिको माध्यमबाट मानिसको सोचले आफ्नो अङ्ग पुन सञ्चालन गर्नसक्छ । 
 
फ्रान्सेली बैज्ञानिकहरूले अफ्रिकी लङ्गुर बाँदरमा यससम्बन्धी परीक्षण गरेका थिए । उनीहरूले यस जनावरको मेरुदण्ड ब्लेडले काटिदिएका थिए र त्यसका कारण उसको दायाँ खुट्टामा पक्षघात भएको थियो । अब कुर्टिन यो जनावर पुन राम्रोसँग हिँड्नसक्छ भन्ने प्रमाणित गर्न चाहन्थे । यसका लागि उनीहरूले बाँदरको खप्पर तल रेकर्ड गर्ने यन्त्र जडान गरिदिए र त्यसलाई मस्तिष्कमा जोडी त्यसका इलेक्ट्रोडलाई मेरुदण्डको चारैतिर घुमाउँदै मेरुदण्डमा चोट लागेको भागभन्दा तल जोडिदिए । यी दुई इलेक्ट्रिकल यन्त्रलाई तारविहीन तरिकाले जोडिएको थियो । 
 
यसको नतिजाको रूपमा यस प्रणालीले लङ्गुको हिँड्ने चाहनालाई इलेक्ट्रिकल सिमुलेसनको धक्काको रूपमा मेरुदण्डमा पु¥यायो र यो धक्का यस लङ्गुरको दायाँ खट्टालाई चलाउन पर्याप्त भयो । त्यसपछि लङ्गुर हिँड्न थाल्यो । कुर्टिन स्विजरल्यान्डको इकोले पोलिटेक्निक फेडेराल डे लुजानसँग सम्बन्धित हुनुहुन्छ । 
 
चालकविहीन ट्रक 
 
अमेरिकाका राजमार्गमा आउँदा केही वर्षमा ट्रयाक्टर तथा ट्रेलरहरू चालकविहीन रूपमा गुडिरहेको देखिनेछन् । अमेरिकामा हाल १७ लाख ट्रक चालक छन् । अब उनीहरूले के गर्नेहुन् भन्ने कुरा थाहा हुनसकेको छैन । यो प्रविधि आउँदा पाँच देखि १० वर्षमा उपलब्ध हुनेछ । यस वर्ष एमआईटी टेक रिभ्युमा डेविड एच फ्रिडम्यानले यससम्बन्धी एक समाचार समाचार लेखेका छन् । 
 
विश्वका अनेकौँ कम्पनीले हाल चालकविहीन ट्रकको परीक्षण सञ्चालन गरिहेका छन् । धेरै प्राविधिक समस्या अझै समाधान गर्न बाँकी छ तर यसका प्रस्तावकहरूले चालकविहीन ट्रक बढी सुरक्षित तथा कम खर्चिलो हुने बताएका छन् । चालीस वर्षसम्म ट्रक सञ्चालनको अनुभव भएका ग्रेग मर्फी यो प्रणालीले आफूले भन्दा राम्रोसँग ट्रक चलाउने बताए । हाल उहाँ सान फ्रान्सिस्कोस्थित ओटो नाम गरेको कम्पनीको चालकविहीन गाडीमा थप सुरक्षा चालकको रूपमा काम गर्नुहुन्छ । यस कम्पनीले चालकविहीन ट्रकका लागि आवश्यक उपकरण उपलब्ध गराउँछ । 
 
आफ्नै अनुहारबाट बिल भुक्तानी 
 
चीनमा हाल अनुहार पहिचान गर्ने प्रणालीको माध्यमबाट बिल भुक्तानी गर्न, सुविधामा पहुँच प्राप्त गर्न र अपराधी पत्ता लगाउन अनुमति दिइएको छ । यो प्रविधि हाल उपलब्ध छ । यस वर्ष एमआईटी टेक रिभ्युमा विल नाइटले यससम्बन्धी एक समाचार लेखेका छन् ।
 
समाचारमा उनले चीनमा एक अर्ब अमेरिकी डलरमा स्थापना भएको फेसप्लसप्ल कम्पनीको भवनमा प्रवेश गर्दाको अनुभव उल्लेख गरेका छन् । उनले अनुहार पहिचान गर्ने प्रविधिमा आफ्नो फोटो खिचाउँदा सफ्टवेयरले ८३ विभिन्न कोणबाट फोटो लिने गरेको त्यसका माध्यमबाट आफू उक्त कम्पनीको कुनै पनि कोठामा रहँदा आफ्नो गतिविधि रेकर्ड हुने गरेको उल्लेख गरेका छन् । 
 
फेसप्ल सप्लसको प्रविधिका सहयोगले चीनमा एलिपेको मोबाइलमा पैसा पठाउन सकिन्छ र त्यसलाई चीनमा १२ करोड बढी व्यक्तिले उपयोग गरिहेका छन् । यसले सवारी उपलब्ध गराउने कम्पनी डिडीको ग्राहकलाई आफूले चढेको गाडीको चालक सही छ कि छैन भन्ने थाहा दिन्छ । 
व्यवहारिक क्वान्टम कम्प्युटर 
 
गुगल, इन्टेल तथा अन्य धेरै अनुसन्धान समूहहरूले पहिले कल्पनै गर्न नसकिने क्षमताको कम्प्युटर अव उपलब्ध भएको बताएका छन् । यो प्रविधि बजारमा आउन चारदेखि पाँच वर्ष लाग्नेछ । यस वर्ष एमआईटी टेक रिभ्युमा रस जस्कालियानले यससम्बन्धी समाचार लेखेका छन् ।
 
डेल्फ प्रविधि विश्वविद्यालयको एउटा एकान्त कुनामा डेनमार्कको अनुसन्धान संस्था क्युटेक स्थापित छ र त्यहाँ हाल क्वान्टम कम्प्युटिङको विश्वमै सबैभन्दा विकसित काम भइरहेको छ । त्यहाँ मानिस देखिँदैनन् तर फट्याङ्ग्राले निकालेजस्तो इलेक्ट्रिक आवाज आइरहन्छ । त्यसको केन्द्रमा तीन वा चार खुटाको आडमा ठूलो निलो सिलिन्डर राखिएको छ र त्यसभित्र अनेकौँ ट्युब, तार तथा नियन्त्रित हार्डवेयर छन् । 
 
यसै निलो सिलिन्डरभित्र सुपरचार्ज भएको रेफ्रिजेरेटर छ र यहाँ डरलाग्दा क्वान्टम मेकानिकल काम हुन्छन् । यहाँका अति मसिना तार, सेमिकन्डक्टर तथा सुपरकन्डकटरहरूलाई पूर्णतया शून्य ताफक्रममा राखिएको हुन्छ । आउँदा केही वर्षमा उनीहरूले डिजिटल लेखन, पदार्थ विज्ञान, औसधी अनुसन्धान तथा कृत्रिम वौद्धिकताका काम गर्नसक्छन् । यस वर्ष गुगल, आइबीएम, इन्टेल तथा माइक्रोसफ्टजस्ता कम्पनीले यस प्रविधिको अनुसन्धानमा संस्थागत लगानी गरेका छन् । 
 
३६० डिग्री सेल्फी 
 
सस्ता तथा चारैतिरको फोटो लिनसक्ने क्यामराले फोटोग्राफीमा नयाँ युग आरम्भ गराएको छ र यसले मानिसको कथा भन्ने तरिकामा परिवर्तन गरिदिएको छ । यो प्रविधि हाल उपलब्ध छ । यस वर्ष एमआईटी टेक रिभ्युमा एलिजावेथ वाकले यससम्बन्धी एक समाचार लेखेका छन् ।
 
हार्वडमा पर्यावरणीय अनुसन्धान गरिरहनुभएका कोन हफकेन्सले म्यासाचुसेट्सस्थित वनबाट आफ्नो वेबसाइटमा चित्र प्रसारण गर्न यस प्रविधिले सहयोग गरेको छ । ३६० डिग्री कोणमा चित्र खिच्ने क्यामरा प्रयोग गर्दा वेबसाइट प्रयोगकर्ताले आफ्नो माउसको कर्सर चलाउँदा वा स्मार्टफोनमा औँला चलाउँदा वनको जमिनदेखि छतसम्मका सबै भाग देख्न सक्छ । भर्चुअल रियालिटी उपयोग गर्दा टाउको घुमाउँदा यस्तो अनुभव गर्न सकिन्छ । 
 
अफकेन्सले यस प्रविधिको सहयोगले न्यु इङल्यान्डमा मौसम परिवर्तनबाट पातमा पर्ने प्रभाव बारेमा विवरण तयार गर्न सकिने बताउँछन् । यसको लागत अमेरिकी डलर ३५० मा रिको थेटा एस क्यामरासहित ५५० अमेरिकी डलर छ । 
 
हट सोलास सेल (तातो सौर्य कोष) 
 
तापलाई प्रकासको केन्द्रित किरणमा परिवर्तन गर्ने नयाँ सौर्य यन्त्रले सस्तो र निरन्तर ऊर्जा उपलब्ध गराउन सक्छ । यो प्रविधि १० देखि १५ वर्षमा उपलब्ध हुन्छ । यस वर्ष एमआईटी टेक रिभ्युमा जेम्स टेम्पलले यससम्बन्धी एक समाचार लेखेका छन् । सोलार प्यानलयुक्त घरका छतको सङ्ख्या बढदे छ तर विकास भएका दशकौँ बित्दा पनि यी सिलिकन तख्ता खर्चिलो र अप्रभावकारी देखिएका छन् । यी फोटोभोल्टियाकले सौर्य ऊर्जाको निकै कम भाग ग्रहण गर्न सकेका छन् । एमआइटीमा तयार भएका नयाँ उपकरणले परम्परागत तख्ताभन्दा दोब्बर उर्जा ग्रहण गर्नसक्ने अनुमान गरिएको छ । 
 
जिन थेरापी २.० (वंशानुगत उपचार) 
 
बिरलै देखिने वंशानुगत रोगको उपचारका आधारभूत समस्यालाई वैज्ञानिकहरूले समाधान गरेका छन् । अब यस समाधानले अर्बुद, मुटुका रोग तथा अन्य सामान्य रोगको उपचारमा सहयोग गर्न सक्छ कि सक्दैन भन्ने हेर्न बाँकी छ । यो प्रविधि हाल उपलब्ध छ । यस वर्ष एमआईटी टेक रिभ्युमा इमिली मुलिनले यससम्बन्धी एक समाचार लेखेका छन् ।
 
काला लुक्सले सन् २०१५ मा जुम्ल्याहा बालक जन्माउँदा तीमध्ये एक लेभीको शरीरमा रोगप्रतिरोध क्षमता सिर्जना गर्ने अनुवंश निस्क्रिय हुने अवस्था प्राप्त गरेको विषयमा उनी र उनका पति फिल्पलाई थाहा थिएन । जन्मेको तीन महिनापछि लेभीमा यो रोग रहेको देखियो । लेभीलाई जोगाउन काला र फिल्पले आफ्ना बिरालो परित्याग गरे र रोग सङ्क्रमण हुन नदिन घरमा निकै सरसफाइ गरे । लेभीका खेलौनालाई पानीमा उमाल्न थालियो । फिल्पले पनि कार्यालयबाट घर फर्कदा सर्जिकल मास्क लगाउन थाले । 
 
काला र फिल्पले ‘बोन म्यारो’ प्रतिस्थापन गर्दा लेभीलाई जोगाउन सकिन्छ भन्ने ठानेका थिए तर पनि त्यो पनि सम्भव देखिएन । यसपछि उनीहरूले लेभीलाई बोस्टन बाल अस्पताल लगे र त्यहाँ रोगप्रतिरोध क्षमता नष्ट गर्ने अनुवंश प्रतिस्थापन गरियो । 
 
कोष एटलास 
 
जीवविज्ञानको नयाँ बृहत् परियोजनाले हामी वास्तवमा केबाट बनेका छौँ भन्ने कुरा पत्ता लगाउँदैछ । यो प्रविधि आउँदो पाँच वर्षमा उपलब्ध हुनेछ । यस वर्ष एमआईटी टेक रिभ्युमा स्टिभ कर्नरले यससम्बन्धी एक समाचार लेखेका छन् । 
 
सन् १६६५ मा रोबर्ट हुकले कर्कको एक टुक्रामा आफ्नो सुक्ष्मदर्शकयन्त्रबाट हेर्दा बिहारको अकारमा सानासाना कोठा फेला पारे । उनी कोषका बारेमा ब्याख्या गर्ने प्रथम वैज्ञानिक थिए । जीवविज्ञानको नयाँ परियोजनामा आधुनिक अनुवंशशास्त्र तथा कोष जीवशास्त्रको शक्तिशाली उपकरण उपयोग गरी यस्ता दशौँ लाख कोषको संरचना पत्ता लगाउने लक्ष्य लिइएको छ ।
 
यस परियोजनाको उद्देश्य पहिलो एकीकृत कोष एटलास तयार गर्नु हो । अर्थात यसले मानव कोषको नक्सा उपलब्ध गराउँछ । यसले वास्तवमा मानव शरीर केबाट बनेको छ भन्ने जानकारी दिन्छ र औषधिको खोजलाई गति दिने अनुमान गरिएको छ । 
 
वास्तवमा मानव शरीरमा ३७ हजार २०० अर्ब कोष हुन्छन् र यस परियोजनाले ती कोषको क्याटलग तयार गर्नेछ । यस परियोजनामा अमेरिका, बेलायत, स्विडेन, इजरायल, नेदरल्यान्ड्स तथा जापानका वैज्ञानिकहरूको समूह कार्यरत छन् । उनीहरूले हाम्रा शरीरका हरेक प्रकारका कोषको त्रिआयामिक चित्र तथा कोड तयार गर्नेछन् । बेलायतमा साङगर इन्स्टिच्युटमा सेल एटलसको समूहका प्रमुख माइक स्टबिङटनले यस परियोजनाबाट आफूहरूले थाहा पाएको कुरा देख्न पाउने बताए । 
 
उपकरणहरूको बोटनेट्स 
 
थप घरेलु उपकरणहरूलाई निरन्तर रूपमा इन्टरनेटमा जोड्दै जाने क्रियाकलापले यस्ता उपकरणमा खतरायुक्त नकारात्मक प्रभाव पर्नसक्ने अनुमान गर्न थालिएको छ । यो प्रविधि हाल उपलब्ध छ । यस वर्ष एमआईटी टेक रिभ्युमा बुस स्नियरले यससम्बन्धी एक समाचार लेखेका छन् । 
बोटनेट्सको उपस्थिति कम्तीमा एक दशकदेखि छ । सन् २००० देखि नै ह्याकरहरूले इन्टरनेटको माध्यमबाट कम्प्युटरहरूमा प्रवेशगरी एक केन्द्रीकृत प्रणालीको माध्यमबाट उनीहरूलाई सामुहिक रूपमा नियन्त्रण गर्ने गरेका छन् । यसरी यी कम्प्युटरको सामुहिक शक्ति प्रयोगगरी ह्याकरहरूले तिनीहरूको काम बन्द गरिदिने गरेका छन् । 
 
सस्ता वेबक्याम, डिजिटल भिडियो रेकर्डर तथा अन्य उपकरणलाई इन्टरनेटमा जोड्दा समस्या अझै जटिल बनेको छ । वास्तवमा यी उपकरणमा सुरक्षा व्यवस्था हुँदैन र त्यसलाई ह्याकरहरूले सजिलै आफ्नो नियन्त्रणमा लिनसक्छन् । यस्तो अवस्थामा ह्याकरहरूलाई निकै ठूलो बोटनेट्स बनाउन सजिलो हुन्छ र त्यसको प्रभाव अझै नकारात्मक हुन्छ । 
 
अक्टोबर महिनामा करिब एक लाख यस्ता उपकरणको बोटनेटले इन्टरनेट संरचना डायनलाई आंशिक रूपमा बन्द गराइदियो । त्यसको प्रभाव ट्विटर तथा नेटफिक्स जस्ता संस्थामा पनि प¥यो । डायनमा आक्रमण गर्ने बोटनेट सार्वजनिक रूपमा उपलब्ध मालवेर मिराइबाट बनेको हो । यसले स्वचालित रूपमा कम्प्युटरहरूको प्रणालीगत समूह बनाउने काम गर्छ । 
 
सबलीकरण अध्ययन 
 
अनुभवको आधारमा कम्प्युटरहरूले कुनै पनि काम कसरी गर्ने भन्ने कुरा कुनै पनि प्रोग्रामरले सिकाएभन्दा राम्रोसँग आफैँ सिकिरहेका छन् । यो प्रविधि एक वा दुई वर्षमा उपलब्ध हुनेछ । यस वर्ष एमआईटी टेक रिभ्युमा विल नाइटले यससम्बन्धी एक समाचार लेखेका छन् ।
 
सबलीकरण अध्ययन प्रकृतिबाट सिक्ने सिद्धान्तमा आधारित साधारण प्रक्रिया हो । मनोचिकित्सक एडवर्ड थोर्नडाइकले यो प्रक्रिया १०० वर्ष अगाडि बिरालोमा आरम्भ गरेका थिए । उनले एक बिरालोलाई एक बाकसभित्र राखी एक लिभर थिच्दा बाकस खोल्न सकिने र भाग्नसकिने अवस्था सिर्जना गरेका थिए । अनेकौँ प्रयासपछि उक्त बिरालो आफूलाई उक्त बाकसभित्र राख्नासाथ एकै पटकमा लिभर थिच्ने र बाकसबाट भाग्ने कलामा सक्षम भएको थियो । 
 
एक साधारण कम्प्युटर सिमुलेसनमा स्वचालित गाडीहरू चार लेनको कृत्रिम राजमार्गमा अनौठो तरिकाले सञ्चालन भइरहेको देखिन्छ । आधा गाडी दायाँबाट तथा आधा गाडी बाँयाबाट आउँदा पनि उनीहरूले आफूलाई सही तरिकाले जोगाउँदै अगाडि बढाएको देखिन्छ । यहाँ सफ्टवेयरलाई गाडीको क्रियाकलापको बारेमा जानकारी दिइएको थिएन भने उनीहरूले गाडिको क्रियाकलाप आफैँले अभ्यास गरि नियन्त्रण गर्नसक्नुपथ्र्यो । तालिमको समयमा नियन्त्रण सफ्टवेयरले हरेक पछिल्लो पटकको प्रयासमा आफ्नो तरिकालाई सच्याउँदै अगाडि बढेको देखियो । 
 
अल्फाबेटको सहायक संस्था डिपमाइन्डले तयार गरेको अल्फागो नामक कम्प्युटरलाई यस प्रकारको सबलीकरण अध्ययनका विषयमा सिकाइएको छ । यस कम्प्युटरले गत वर्षको उच्चस्तरीय प्रतिस्पर्धामा सबैभन्दा सफल मानव खेलाडीलाई पनि पराजित गरिदिएको थियो । आउँदा वर्षमा यस्ता सबलीकरण अध्ययन प्रविधि अन्य कृत्रिम बोद्धिकतामा उपयोग हुनसक्नेछ । स्वचालित गाडिको साथमा यस्ता प्रविधि कुनै पनि वस्तुका विषयमा आफैँ जानकारी हासिल गर्ने रोबोटमा पनि प्रतिस्थापन हुनेछ ।