मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नारायणगढ–मुग्लिन सडक राति बन्द हुने

नारायणगढ–मुग्लिन सडक राति बन्द हुने


चितवन । राजधानी काठमाडौँलगायत देशका प्रमुख सहर जोड्ने ‘लाइफलाइन’का रुपमा परिचित नारायणगढ–मुग्लिन सडकखण्डमा मंगलबार रातिदेखि यातायात पूर्ण रुपमा बन्द गरेर निर्माणका काम गरिने भएको छ । 
 
सडक विस्तारको काम भइरहेको उक्त सडकखण्डमा अझै ८०० मिटर भित्तो काट्ने काम बाँकी रहेकाले राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तले जनाए । ठेक्का अवधि पूरा भइसक्दासमेत काममा सन्तोषजनक प्रगति हुन नसकेपछि तीव्रता दिन यातायात रोकेर काम गर्न लागिएको हो ।  
 
नारायणढबाट मुग्लिनतर्फ जाने बस र साना सवारीलाई दासढुंगाको मानवबस्ती नभएको खोला किनारमा रोक्ने व्यवस्था गरिने भएको छ । यसैगरी ट्रकलाई भतेरी र रामनगरको जंगल क्षेत्रमा रोक्ने व्यवस्था मिलाइएको छ । काठमाडौँतर्फबाट आउने बस र साना सवारीका लागि मुग्लिनबजार र ट्रकलाई लेवाटारमा रोक्ने व्यवस्था मिलाइएको छ । तनहुँतर्फबाट आउने सवारीलाई पुलपारि नै रोक्ने व्यवस्था गरिएको छ । 
 
चितवन ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गरी सो मार्ग हुँदै आवतजावत गर्ने सवारीसाधनलाई सडक बन्द हुने समय मिलाई आवतजावत गर्न आग्रह गरेको छ ।  सूचनामा काठमाडौँबाट छुट्ने बस र साना सवारीलाई राति १० बजेभित्र मुग्लिन बजार पार गर्ने गरी आउन भनिएको तथा मुग्लिनतर्फ जाने सवारीलाई बिहान ३ बजे रामनगर पार गर्ने गरी समय व्यवस्थापन गर्न प्रहरी निरीक्षक सन्तोष पन्तले आग्रह गरेका छन् । 
 
पन्तका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउने मालवाहक ट्रकलाई राति ९ बजेभित्र लेवाटार पार गर्ने गरी सञ्चालन गर्न आग्रह गरिएको छ । अन्यथा ती सवारी लेवाटारमा रोकिनेछन् । मुग्लिनतर्फ जाने ट्रकलाई राति ९ बजेपछि रामनगरको भतेरी जंगल इलाका पार गरिसक्न आग्रह गरिएको छ । 
 
नारायणढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले ३२.२ किलोमिटर सो सडकखण्डमा समग्रमा ६८ प्रतिशत काम सम्पन्न भएको जानकारी दिएका छन् । उनले भने, “पहिलो खण्डमा ६८ प्रतिशत, दोस्रो खण्डमा ७४ प्रतिशत र तेस्रो खण्डमा ६१ प्रतिशत काम सम्पन्न भएको छ ।” 
 
उक्त सडकखण्डको १६ किलो र २२ किलोमा पाँच सय मिटर र ३३ किलोमा ३०० मि भित्तो काट्ने काम अझै बाँकी रहेको इन्जिनियर खनालको भनाइ छ । हालसम्म १३ दशमलव ५ किमी सडकको एकतहको कालोपत्रे गर्ने काम सकिएको छ । सो सडकमा एसियाली मापदण्डअनुसार तीन तहको कालोपत्रे गरिने भएको छ ।