मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

चितवनको विकास भारतको प्राथमिकतामा : महावाणिज्यदूत

चितवनको विकास भारतको प्राथमिकतामा : महावाणिज्यदूत


चितवन । भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्यदूत बीसी प्रधानले नेपालको विकासका लागि भारत सदैव तयार रहेको बताएका छन् । 
 
आइतबार चितवनका पत्रकारसँग कुरा गर्दै महावाणिज्यदूत प्रधानले नेपालको विकासका लागि भारतले लगानी बढाइरहेको र यसलाई निरन्तरता दिइने उल्लेख गरे । उनले नेपालमा स्थिर सरकार नबनेसम्म विकास निर्माणले गति लिने नसक्ने बताउँदै अब विकास निर्माणलाई प्राथमिकता राखेर अघि बढ्नुपर्ने समय आएको बताए । 
 
उनले भने, “नेपालको विकासका लागि सबैभन्दा बढी भारतकै सहयोग रहेको छ । आगामी दिनमा पनि सहयोग बढाउँदै लैजाने योजना बनाएका छौँ ।”  
 
महावाणिज्यदूत प्रधानले नेपालको सडक निर्माणलाई भारत सरकारले प्राथमिकता दिइरहेको भन्दै हुलाकी राजमार्गपछि अन्य क्षेत्रको राजमार्ग फराकिलो बनाउने अभियानमा जुट्ने बताए । उनले नेपालको राजनीतिक परिवर्तनले भारतको सहयोग नरोकिनेसमेत स्पष्ट पारे । 
 
उनले भने, “वीरगञ्जदेखि नारायणगढ सडक खण्डलाई ६ लेनको बनाउन र ठोरीदेखि भरतपुरसम्मको बाटोलाई विस्तार गर्न भारत सरकार सकारात्मक छ ।”
 
यसैबीच, महावाणिज्यदूत प्रधानले नेपाल–भारतमैत्री ई–लाईब्रेरी निर्माण लागि भरतपुरको राष्ट्रिय आधारभूत विद्यालय शान्तिपुरको स्थलगत निरीक्षण गरेका छन् । 
 
विद्यालय निरीक्षणका क्रममा महावाणिज्यदूत प्रधानले पूर्वप्रधानमन्त्री एवम् चितवन क्षेत्र नं ३ का सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’को शिवनगरस्थित विद्यालयको समेत निरीक्षण गरेका थिए ।