मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

शाश्वतधाममा दश लाख दर्शनार्थीद्वारा अवलोकन

शाश्वतधाममा दश लाख दर्शनार्थीद्वारा अवलोकन


नवलपुर । नवलपुरको दुम्कौलीस्थित चौधरी ग्रुप (सीजी)कोे शाश्वतधामका बारेमा नसुन्ने हिजोआज कमै होलान् । सिराहा गोलबजार नगरपालिका वडा नं ५ का शिक्षक सच्चिदानन्द साहले पनि यो धामका बारेमा धेरै नै सुनेका थिए । गोलबजार–२ मा रहेको आधारभूत विद्यालयका सहायक प्रधानाध्यापक साह शनिबार विद्यार्थीको भ्रमण दलसहित धाममा पुगे ।
 
धाम पुग्दा उनी त्यहाँको दृश्य हेरेर दंग पर्नु त स्वभाविकै थियो अर्को नसोचेको कुरा उनले धामका तर्फबाट सम्मान पनि पाए । उनी धामको प्रवेशद्वार छिर्दा धाम घुम्न आउनेको संख्या १० लाख पार भइसकेको थियो । धाम घुम्नेको संख्या १० लाख पुगेपछि नयाँ आउने ११ जनालाई सम्मान गर्ने योजना थियो । साह र उनको विद्यार्थीको टोली सोही समूहभित्र प¥यो । 
 
सञ्चालनमा आएको नौ महिना नपुग्दै सीजी शाश्वत धाम घुम्नेको संख्या १० लाख नाघेको शनिबार धाम परिसरमा औपचारिक कार्यक्रम गरेर जानकारी दिइयो । व्यवसायिक संस्था चौधरी ग्रुपको सामाजिक एवम मानवीय कल्याणकारी निकाय चौधरी फाउण्डेशनले देवचुली नगरपालिका वडा नं. २ मा रहेको दुम्कौलीमा शाश्वतधाम निर्माण गरेको हो । 
 
सीजी इन्डष्ट्रियल पार्क (सीजी आईपी) परिसरभित्र करिब सात बिघा जमिनमा शाश्वतधाम निर्माण भएको छ । सीजी आईपीका वरिष्ठ महाप्रवन्धक रामभक्त केसीले १० लाख नाघेपछि धामभित्र प्रवेश गरेका नयाँ ११ दर्शनार्थीलाई सीजीको तर्फबाट सम्मान गरे । उनीहरुलाई पञ्चे बाजा बजाउँदै धाम परिसर घुमाइएको थियो । धामको उद्घाटन गत वर्षको फागुन २४ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको थियो । 
 
पूर्वपश्चिम राजमार्गसँग जोडिएको सो ठाउँ नारायणगढदेखि लगभग २२ किलोमिटर पश्चिममा छ । गाडीमा हिँडेका बेलामा पनि सजिलै देखिने धामले धेरैलाई लोभ्याएको छ । ‘उद्घाटनको भोलिपल्टबाट सर्वसाधारणका लागि धाम खुला भएको हो । यो आकर्षक छ । हेर्नलाई मान्छेहरु आउँछन् भन्ने थाहा त थियो तर यति छोटो समयमै १० औं लाख नै आउँछन् भन्ने अनुमान थिएन’ केसीले भने ।
 
धाम घुमेको शुल्क तिर्नु पर्दैन । तर, धामभित्रै रहेको विशेष धार्मिक सङ्ग्रहालय घुम्न १०० रुपैयाँको टिकट काट्नु पर्छ । धामको प्रवेशद्वार छिर्दा नै दर्शन गर्न आउनेहरुको विवरण लिन विशेष यन्त्र रहेको सीजीका अधिकारीहरुले जानकारी दिएका छन् ।
 
‘भित्र आउने सबैको टिकट काट्ने गरिएको छैन । तर गेटबाट छिर्दा नै विवरण लिन मिल्ने उपकरण छ  । कुन दिन कुन समयमा कति दर्शक आएभन्ने पनि थाहा हुन्छ’ केसीले भने । 
 
नयाँ वर्षको दिन वैशाख १ गते एकै दिन ३० हजार जना आएको उनले बताए । ‘दसैँका बेलामा लगातार जसो दिनमा १०÷१० हजारले धाम अवलोकन गरेका छन्’ सीजीका अर्का अधिकारी रामचन्द्र धितालले भने । दिनमा कम्तीमा २५ सयजनाले धाम घुमेको अधिकारीहरुले बताएका छन् ।
 
‘यो धाम सनातन धर्म र आध्यात्मको संगम हो । सबै उमेर समूहकाहरुले घुम्न रुचि देखाएका छन्’ चौधरी ग्रुपका प्रमुख रहेका नेपालका ख्याति प्राप्त उद्योगपति विनोद चौधरीले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । हिन्दू धर्मका साथै वौद्ध धर्मका विषयहरुलाई पनि धामभित्र राख्न लागेको जानकारी प्रेस विज्ञप्तिमा छ । 
 
शंकराचार्य जयेन्द्र सरस्वतीले चौधरी ग्रुपका संस्थापक स्वर्गीय लुनकरण चौधरीलाई दिएको सल्लाह अनुरुप लुनकरणका छोरा विनोद चौधरीले सो धाम निर्माण गरेका हुन् । धामको मध्य भागमा विश्वमै प्रसिद्धि कमाएको खजुरावान शैलीमा बनेको बुट्टेदार एकम्बरेश्वर शिव मन्दिर रहेको छ ।