मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नेपाल स्काउट टोलीलाई चितवनमा स्वागत

नेपाल स्काउट टोलीलाई चितवनमा स्वागत


चितवन– नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिलाई नेपाल स्काउट जिल्ला समिति चितवनले शुक्रबार स्वागत तथा सम्मान गरेको छ । 
 
स्काउटरहरूको राष्ट्रिय भेला (ज्याम्बोरी) गर्ने उचित स्थानको खोजी गर्दै चितवन आइपुगेको टोलीलाई शुक्रबार स्काउट चितवनको कार्यालयमा जिल्ला आयुक्त तीर्थराज न्यौपानेले स्वागत गरेका हुन् । 
 
टोलीमा तदर्थ समितिका राष्ट्रिय आयुक्त चन्दन कौशिक, पूर्व राष्ट्रिय आयुक्त श्रीराम लामिछानेलगायत ११ जना चितवन आएका थिए । उनीहरू ज्याम्बोरी गर्ने ठाउँ अवलोकन गर्दै मकवानपुर हुँदै चितवन आएका हुन् । 
 
२०७० सालमा चितवनमा ज्याम्बोरी भएको थियो । हरेक चार÷चार वर्षमा हुने कार्यक्रमको लागि यसपटक पनि राष्ट्रिय समितिले चाहेमा चितवन जिल्ला समिति तयार रहेको जिल्ला समिति चितवनका जिल्ला आयुक्त तीर्थराज न्यौपानेले बताए । 
 
‘अघिल्लो पटक पनि चितवनमै भएकोले यो पटक पनि हामी आयोजना गर्न सक्छौँ,’ उनले भने, यसको लागि राष्ट्रिय समितिले निर्णय गरेर आउँदा हुन्छ ।’ 
 
राष्ट्रिय समितिले पनि चितवनमै ज्याम्बोरी गर्ने कि भनेर सोचिरहेको छ । हेटौँडामा पर्याप्त स्थान नभएकोले फराकिलो ठाउँको लागि पनि चितवनमा गर्न सकिने प्रतिक्रिया दिएको छ । यस विषयमा राष्ट्रिय समितिका पदाधिकारीहरूबीच छलफल गरेर निर्णय लिने राष्ट्रिय आयुक्त कौशिकले बताए । 
 
जिल्ला समितिको आफ्नै जग्गामा भवन नभएकोले राष्ट्रिय समितिले यस विषयमा सरकारसँग पहल गरिदिन आग्रह गरेको छ । नेपाल स्काउट जिल्ला समिति चितवन २०३२ सालदेखि जिल्ला विकास समिति (हालको जिल्ला समन्वय समिति)को जग्गामा भवन बनाएर बसेको छ । 
 
नेपाल स्काउट पनि नेपाल सरकारको मातहतमै चल्ने संस्था भएकोले सकभर नेपाल स्काउटको नाममै दर्ता गरिदिन जिल्ला समितिले माग गरेको पूर्व जिल्ला आयुक्त भुवानीप्रसाद पौडेलले बताए । यस विषयमा सकभर पहल गरिने स्काउट परिषद्का अध्यक्ष मनोज गैरेले बताए ।