मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वाम सरकार आउँदैमा छिमेकीहरु आत्तिनु पर्दैन : प्रचण्ड

वाम सरकार आउँदैमा छिमेकीहरु आत्तिनु पर्दैन : प्रचण्ड


चितवन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम सरकार आउनेवित्तिकै छिमेकी देशहरु आत्तिनु नपर्ने बताएका छन् । 
 
नेपाल पत्रकार महासंघ चितवनले बिहीबार जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरुको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै क्षेत्र नं ३ बाट निर्वाचित प्रचण्डले वाम गठबन्धनको उत्साहजनक जीतबाट कोही पनि आत्तिनु नपर्ने बताएका हुन् । 
 
उनले भने– ‘सारा विश्व समुदायले अति नै चासो र गहिरो ढंगबाट हेरिरहेका छन्, यसले वामपन्थीले जित्दा अधिनायकवाद आउँछ भनेर गरिएको प्रचार गलत सावित भएको छ ।’ 
 
नेपाली कांग्रेससहितका केही शक्तिले वामपन्थीले जिते मुलुकमा अधिनायकवाद ल्याउने र निरंकुशता जन्मिने बताइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै मिलेर जारी भएको लोकतान्त्रिक संविधानअनुसार नै नयाँ सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले मुलुक राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिको यात्रातिर अघि बढेकोले यसमा सबैको साथ र सहयोग आवश्यक रहेको औँल्याए । 
 
‘जनताले स्थिरता, सुशासन र भ्रष्टाचारमुक्त शासन व्यवस्थाको अपेक्षा गरेका छन्’, उनले थपे– ‘हाम्रा यिनै एजेण्डालाई जनताले बढो उत्साहजनक ढंगले ‘रेस्पोन्स’ गरेका छन् । हामीमाथि ठूलो जिम्मेवारी दिइएको छ । जनअपेक्षाअनुसार आफूलाई खरो उत्तार्ने प्रयासमा हामी छौँ ।’ 
 
जनताको सुशासन, समृद्धि र विकासका प्रतिबद्धता एवम् संकल्पहरु दृढतापूर्वक पूरा गर्ने विश्वास प्रचण्डले व्यक्त गरेका छन् । 
 
नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् चितवन निर्वाचन क्षेत्र नं १ का विजयी सांसद सुरेन्द्र पाण्डेले देश विकासका लागि संकल्पसहितको सरकार र परिश्रमी जनता भए एकदशकमै देश बदलिने बताए । 
 
उनले भने– ‘जनताको भावना र इच्छाअनुसार काम गर्न सक्ने प्रतिबद्ध सरकार र परिश्रमी जनता भए देशले काँचुली फेर्न बेर लाग्दैन’, उनले थपे– ‘अब सरकारका लागि सरकार होइन, स्थायित्व र संकल्पसहितको सरकार चाहिन्छ । चुनाव त धेरैले धेरैपटक जितेका छन् तर विकास गर्न स्पष्ट ‘भिजन’ चाहिन्छ ।’ 
 
वापमन्थीले जितेपछि प्रेस स्वतन्त्रतामा अंकुश लाग्छ कि भनेर गरिएको प्रचारको पछि नलाग्न उनले पत्रकारहरुलाइ स्पष्ट पारे । 
यस्तै, क्षेत्र नं २ बाट विजयी सांसद कृष्णभक्त पोखरेलले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने बताए । कार्यक्रम पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाको सभाध्यक्षमा सम्पन्न भएको थियो ।