मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बिना मगर बनिन् प्रदेश नं ७ की एक्ली महिला सांसद

बिना मगर बनिन् प्रदेश नं ७ की एक्ली महिला सांसद


कञ्चनपुर । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) की विजयी उम्मेदवार बीना मगर प्रदेश नं ७ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बनेकी छन् । 
 
कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रतिस्पर्धामा रहेकी आरजु राणा देउवा र कैलालीकै निर्वाचन क्षेत्र नं १ बाट प्रतिस्पर्धामा रहेकी वाम गठबन्धनकी उम्मेदवार गरिमा शाह पराजित हुँदा बिनामात्रै चुनावमा भारी मतको अन्तरका साथ विजयी भएका हुन् । 
 
दशवर्षे जनयुद्धका क्रममा २७ महिने नारकीय हिरासत जीवन बिताएकी मगरले निर्वाचनकै प्रचारप्रसारका क्रममा उनका श्रीमान् एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको असामयिक निधन हुँदासमेत राम्ररी प्रचारप्रसारको कार्य गर्न नपाउँदासमेत जनताको साथ र समर्थन पाएर विजयी भएकी छन् । 
 
संविधानसभाको निर्वाचनमा झिनो मतअन्तरले पराजित हुँदाको बदला मगरले यस निर्वाचनमा विजयी भएर लिएकी छन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)को उम्मेदवार भई ३८ हजार ४६८ मत ल्याई मगर विजयी भएकी छन् ।
 
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिवानसिंह विष्टले १९ हजार २१९ मत ल्याएका छन् । विष्टलाई मगरले १९ हजार २४९ मतको फराकिलो अन्तरले पराजित गरेकी छन् । 
 
विजयी उम्मेदवार मगरले जन्मभूमिको सेवामा सधैँ समर्पित हुने बताएकी छन् । विजयी भएपछि प्रतिक्रया दिँदै उनले निरन्तर जनसम्पर्क स्थापित गर्न तथा गुनासो र समस्याको समाधानका लागि स्थानीय तहमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्ने घोषणा गरेकी छन् ।
 
निर्वाचन प्रचारका क्रममा सार्वजनिक गरेको प्रतिबद्धतापत्रलाई मुख्य मार्गचित्र मानेर क्षेत्रको विकासमा लाग्न वाम गठबन्धनका उम्मेदवार एकमत रहेका छौँ, उनले भनिन्, “यसमा सबैको साथ र सहयोगको आवश्यकता पर्छ ।” 
 
स्थानीय तह, प्रदेश र केन्द्र गरी तीनवटै तहबीच आवश्यक समन्वय गरेर विकासको सपनालाई मूर्तरुप दिनुपर्नेमा आफू दृढ रहेको उल्लेख गर्दै उनले संसद् र सिंहदरबारमा सक्रिय भूमिका निर्वाह गरेर आफ्नो क्षेत्रमा बढीभन्दा बढी बजेट र योजना ल्याउने र समयसीमाभित्रै प्रभावकारी कार्यान्वयन गराउने बताइन् । 
 
मानसिकरुपमा जटिल परिस्थिति र स्वास्थ्य अवस्था अनुकूल नभएका बेला मतदाताबाट पाएको साथ जीवनभर नबिर्सिने उनले उल्लेख गरिन् । विसं २०४० मंसिर २२ गते पुनर्वास नगरपालिकामा जन्मिएकी मगर यस क्षेत्रको समाज, संस्कृति, परम्परा, जातजाति, वेषभूषा र चाडपर्वसँग रमाउँदै हुर्किएकी हुन् । 
 
पुनर्वासको अरनिको बस्तीको अरनिको प्राविबाट शिक्षा आर्जन सुरू गरेकी उनले गौरीशंकर निम्न मावि र जनता मावि पुनर्वासबाट माध्यमिक तहसम्मको शिक्षा आर्जन गरेकी छन् ।
 
राज्यको विभेदकारी नीतिलाई फेर्ने उद्देश्य लिएर मगरले विसं २०५१ सालमा ११ वर्षको कलिलै उमेरदेखि तत्कालीन नेकपा (माओवादी)को सशस्त्र आन्दोलनमा सक्रिय सहभागिता जनाएकी थिइन् ।  
 
जनयुद्धको सुरूवाती चरणको सांगठनिक र सांस्कृतिक कार्यक्रममा उनले सक्रियता बढाउँदै राजनीतिक नेतृत्व लिन सुरू गरिन् । आन्दोलनमा सहभागिता जनाउँदै गर्दा विसं २०५६ मा मगरले महिलाको हकअधिकार प्राप्तिका साथै सांगठनिक र वैचारिक अवस्था विकास गराउन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरको अध्यक्षको भूमिका निर्वाह गरिन् । 
 
राजनीतिक यात्रासँगै उच्च शिक्षा अध्ययनका लागि उनी काठमाडौँ प्रस्थान गरिन् । काठमाडौँमा उनलाई राजधानीकोे वातावरण, रहनसहन, समाज र राजनीतिक शासन व्यवस्थाबारे नजिकबाट अध्ययन गर्ने अवसर मिल्यो । राजधानी काठमाडौँ र जन्मभूमि पुनर्वासलगायत आसपासका क्षेत्रको विकासको अवस्था तुलना गर्दा राज्यले गरेको विभेद प्रत्यक्ष देख्न पाइन् । 
 
गाउँगाउँमा विकास पु¥याउन र एकात्मक शासन सत्ताको अन्त्यका लागि संघर्ष नै मुख्य बाटो देखेर मगरले सशस्त्र संघर्षको यात्रालाई अगाडि बढाइन् । काठमाडौँमा पनि तत्कालीन अखिल क्रान्तिकारीको विद्यार्थी संगठनमा आबद्ध भएर भित्रिरूपमा नेकपा (माओवादी) पार्टीको पूर्णकालीन सदस्यको रूपमा उनले कार्य गरिन् ।
 
विद्यार्थीका थुप्रै हकअधिकार र जनजीविकाका लागि संघर्ष गरिरहँदा उनलाई विसं २०६० मा अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्ला अध्यक्षसम्मको जिम्मेवारी प्राप्त भयो । 
 
राज्यको व्यापक धरपकड र दमनबीच मगर विसं २०६० मा तत्कालीन शाही नेपाली सेनाको गिरफ्तारीमा परिन् । मानव बधशाला भनेर चिनिएको भैरवनाथ गणमा उनले २७ महिना बेपत्ताको अवस्थामा रहनुप¥यो ।
 
जनताको मुक्ति, व्यवस्था परिवर्तन र जनताको स्वतन्त्रताको संघर्षसँग जोडिएको आन्दोलनको क्रममा मगरले २७ महिनासम्म पाशविक यातना भोग्नुप¥यो । “सेनाको हिरासतमा रहँदा करेन्ट लगाउने, पानीमा डुबाउने, पाइपले पिट्नेलगायतका अमानवीय यातना दिइने गरिन्थ्यो” मगरले भनिन् । 
 
मुलुकमा २०६२ / ६३ को जनआन्दोलन उत्कर्षमा थियो । त्यति नै बेला परिवारको तर्फबाट रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट सर्वाेच्च अदालतमा दर्ता गरिएपछि त्यसपछि अदालतले गैरन्यायिक हिरासतबाट मगरलाई रिहा गर्न आदेश दिएको उनले बताइन् ।
 
सम्मानित सर्वोच्च अदालतको रिहाइको आदेशलाई बेवास्ता गरी पुनः गिरफ्तार गर्ने प्रशासनको चाललाई राष्ट्रिय अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थाको संघर्ष र सहयोगले निस्तेज पारेर रिहा हुन सफल भएको उनले बताइन् । 
 
विसं २०७० को दोस्रो संविधानसभा निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्ष उम्मेदवार भएकी उनी झिनो मतान्तरले पराजित भएकी थिइन् । प्रतिनिधिसभाको उम्मेदवार भई प्रचारप्रसारमा संलग्न रहेकै बेला श्रीमान् प्रकाश दाहालको असामयिक निधन भएपछि पनि उनले हिम्मत हारिनन् ।
 
शोकलाई शक्तिमा बदल्दै जनताका समस्या समाधानका लागि निरन्तर लाग्दा उनले अहिले विजय प्राप्त गरेकी छन् । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उनी प्रदेश नं ७ की एक्ली विजयी महिला उम्मेदवार बन्न पुगेकी छन् ।