मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एमालेकी चौधरीलाई ३२१ मतअन्तरले हराउँदै गच्छदार

एमालेकी चौधरीलाई ३२१ मतअन्तरले हराउँदै गच्छदार


काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका छन् । उनले एमालेकी भगवती चौधरीलाई ३२१ मतअन्तरले पराजित गर्दै आफ्नो अपराजित यात्रा अघि बढाएका हुन् ।
 
गच्छदार ३८ हजार ९७२ मत ल्याएर विजयी हुँदा उनकी निकटतम प्रतिस्पर्धी एमालेकी चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरेकी छन् । उनले २०४८ सालदेखि लगातार चुनाव जित्दै आएका छन् ।   
 
यसअघि उनले दोस्रो संविधान सभा निर्वाचनमा पनि चौधरीलाई ६६२ मतले पराजित गरेका थिए । त्यो बेला उनी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष थिए । 
 
मंसिर १० र २१ गते निर्धारण गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता साझेदार माओवादी केन्द्र र प्रतिपक्षी एमालेले कम्युनिष्ट गठबन्धन निर्माण गरेपछि उनले फोरम (लोकतान्त्रिक)लाई कांग्रेसमा समाहित गराएका थिए । 
 
नेता गच्छदारले २०४८ सालको आम निर्वाचन, २०५१ को मध्यावधि निर्वाचन र ५६ को आम निर्वाचन कांग्रेसबाटै जितेका थिए । उनले २०६४ को पहिलो संविधानसभा निर्वाचन मधेसी जनअधिकार फोरमबाट र २०७० को दोस्रो संविधानसभा निर्वाचन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)बाट आफ्नो अपराजित यात्रा जारी राखेका छन् ।   
 
२०४८ सालबाट लागातार चुनाव जित्दै आएका नेता गच्छदार सधैँ सत्ताको केन्द्रविन्दुमा रहँदै आए । २०४८ पछि गिरिजाप्रसाद कोइरालाको निकट भई उनले छवि प्रभावशाली मन्त्रीका रूपमा स्थापित गरेका थिए । कोइरालाको देहवसानपछि पनि उनी कहिल्यै सत्ताबाट बाहिर रहनुपरेको छैन । 
 
पहिलो संविधानसभा निर्वाचनभन्दा केही समयअघि आफ्ना केही मान्छेले टिकट नपाएको झोँकमा गच्छदारले तत्कालीन पार्टी सभापति कोइरालासँग विद्रोह गरेर कांग्रेस छाडेका थिए । तर, कांग्रेससँगको पार्टी एकीकरणमा उनले मधेसी जनताको हक–अधिकार स्थापित गर्न पार्टी परित्याग गरेको बताएका थिए । 
 
गच्छदार पाँचपटक उपप्रधानमन्त्री, १३ पटक मन्त्री बनेर सत्तामा छाइसकेका छन् । प्रतिनिधिसभा निर्वाचनमा उनले मतदातासँग भावी प्रधानमन्त्रीका रुपमा आफूलाई प्रस्तुत गरेका थिए ।