मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकार गठनसँगै पार्टी एकता हुन्छ : प्रचण्ड

सरकार गठनसँगै पार्टी एकता हुन्छ : प्रचण्ड


चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र ३ को प्रतिनिधिसभामा विजयी हुन सफल पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार गठन र पार्टी एकता सँगसँगै हुने बताएका छन् ।
 
चुनावलगत्तै माओवादी केन्द्र र नेकपा एमाले पार्टी एकीकरण हुने भन्दै अध्यक्ष दाहाल र एमाले अध्यक्ष केपी ओलीले चुनावी प्रचार गरेका थिए । प्रचार गरेअनुसार निकट भविष्यमै सरकार गठन र पार्टी एक हुनेमा विश्वस्त हुन उनले आग्रह गरे ।
 
नेतृत्वको इच्छाशक्ति भएमा पार्टी एकता नौलो विषय नभएको उल्लेख गर्दै नेता उनले भने, ‘जनता र कार्यकर्ताको भावनाको सम्मान गर्न पनि पार्टी एकीकरण आवश्यक छ ।’
 
माओवादी र एमाले मिले भने देश बनाउँछन् भन्ने विश्वासका साथ जनताले अत्यधिक मतले जिताएको प्रचण्डको भनाइ छ ।
 
पार्टी एक नभएसम्म जनताले चाहेको राजनीतिक स्थायित्व र विकास सम्भव नहुने भन्दै प्रचण्डले देशको समृद्धिका लागि नै पार्टी एकता गर्न लागिएको बताए । 
 
यसअघि कम्युनिस्ट पार्टी नमिल्दा देशवासीले चाहेअनुसार विकास र समृद्धि नभएको बताउँदै अध्यक्ष प्रचण्डले जनचाहनाअनुसार नै पार्टी एकता गर्न लागेको बताए ।
 
इतिहासको तीता अनुभवबाट पाठ सिकेर विभिन्न समयमा पैदा भएका कठिनाइहरु मनन गरी अघि बढ्नुपर्ने उनको भनाइ छ ।
‘नेतृत्वको इच्छाशक्तिबाट एकता हुन्छ । नेतृत्वले कार्यकर्ता र जनताको भावनालाई सम्मान गर्नुपर्छ ।’
 
पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावअघि भएका सबै प्रतिबद्धता क्रमशः पूरा हुँदै जाने बताएका छन् । उनले भने, ‘चुनावमा प्रस्तुत गरिएका केही एजेण्डा महत्वाकांक्षी पनि छन्, तर ती पूरा हुन्छन् ढुक्क रहनुुहोस् ।’
 
प्रचण्डले जनयुद्धको सपना अझै पूरा नभएको बताएका छन् । समाजवाद र साम्यवादको यात्रा पूरा गर्नुपर्ने भन्दै उनले दीर्घकालीन प्रक्रिया र क्रान्तिबाट मात्र यो उद्देश्य सम्भव रहेको बताए । 
 
जनयुद्धले परिकल्पना गरेअनुसार संविधानसभाबाट सविधान बनाउने, देशमा गणतन्त्र ल्याउने, संघीयतामा लैजाने, संविधान कार्यान्वयन गर्नेजस्ता सपना मुलभूतरुपमा पूरा भएको उनले उल्लेख गरे ।
 
सुकुुम्बासी व्यवस्थापन देशको प्रमुख समस्या रहेकाले यसको समाधानका लागि अब बन्ने सरकारले पहिलो एजेण्डा बनाउने उनले बताए ।
 
उनले भने– ‘सुकुम्बासी समस्या समाधान कार्यलाई अघि बढाउने छ । पूर्जा वितरण सम्भव भए बाँड्ने, नत्र स्थानान्तरण गर्ने र कतिपयलाई तालिम र रोजगारीका वैकल्पिक व्यवस्था गरी राज्यले आवासको व्यवस्था गर्छ ।’ 
 
चितवनको विकासका लागि प्रशस्त सम्भावना र योजनाहरु रहेको उनको भनाइ छ । नारायणी नदी, रिउ र राप्ती तटबन्ध रिङ रोड र लिंक रोड बनाउने सपना छिट्टै पूरा हुने आश्वासन पनि उनले दिए ।