विचार / ब्लग

समापन बाटोको राप्रपा

1034 पटक पढिएको

- रामचन्द्र भट्ट

11th Dec 2017, Monday | २०७४ मंसिर २५, सोमबार ०९:५६
आइतबार बिहानै राप्रपाका अध्यक्ष कमल थापाले ट्विटरमा राजेन्द्र लिङदेनलाई बधाई दिँदै ट्विट गरे । उनले बडो निर्लज्ज ढंगबाट लिङदेनलाई बधाई मात्र दिएनन्, झापाका मतदाता तथा सहयोगी दललाई धन्यवाद पनि त्यही ट्विटर मार्फत ज्ञापन गरे । 
 
थापा आफू चाँहि मकवानपुरमा नेपाली कांग्रेसको बुई चढेर चुनाव लडे । चुनावको केही दिन अघिमात्र निर्वाचन परिणाम आफ्नो पक्षमा पार्नका लागि पूर्ब–पश्चिम राजमार्गलाइनै हेटौँडाबाट बाहिर्याए । तर यी कुनै पनि बुटी काममा आउन सकेनन् । सत्ताधारी दलसँगको संसर्ग थापाका लागि प्रत्युत्पादक हुनपुग्यो । 
 
नेपाली कांग्रेसले अरु सबै ठाउँमा थापाको राप्रपासँग सहकार्य गर्न तयार भएपनि झापा–३ छाड्न चाहेन । जसका कारण राजेन्द्र लिङदेन एमाले अर्थात बाम गठवन्धनको नजिक पुगेका थिए । थापालाई कांग्रेससँगको साथ जुन रुपले प्रत्युत्पादक ठहरियो, ठीक त्यसको उल्टो लिङदेनलाई बामपन्थीको साथ निकैनै उपलव्धिमुलक प्रमाणित भयो । उनी गणतन्त्र ल्याउनमा नेपाली कांग्रेसमा मुख्य भूमिका खेल्ने कृष्ण सिटौलालाई साढे १३ हजारको भारी मतले पराजित गर्दै विजयी भए । 
 
यसपटकको चुनावमा नेपालको राजनीतिलाई दुर्गन्धीकरण गर्ने एउटा शक्ति पाँच वर्षको लागि सखाप भएको छ । त्यो शक्ति भनेको राप्रपा हो । राप्रपाको एउटैमात्र बीउ यसपटक संसदमा बाँकी रहेको छ । त्यो पनि वाम गठवन्धनको सद्भावले गर्र्दा । 
 
पञ्चायतको अवशेषका रुपमा राप्रपा चिनिन्छ । पञ्चायतको अन्त्यपछि २०४८ को चुनावमा चार सिट जितेको राप्रपा त्यसपछि सत्ता गठन र बिघटनको खेलमा सधैँभरि साँचोका रुपमा चिनिइरह्यो । घरि नेपाली कांग्रेससँग मिल्ने त घरि एमालेसँग मिलेर देशमा राजनीतिक अस्थिरताको एउटा मुख्य साँचो पनि बनिरह्यो । त्यही क्रममा यो दल अनेक टुक्रामा बिभाजन पनि भइनै रहेको थियो । घरि लोकेन्द्रबहादुर चन्दको इगो त घरि सूर्यबहादुर थापाका कारण यो दल बिभाजन भैरहेको थियो । 
 
राजाको सकृय शासनकालमा कमल थापा हर्ताकर्ता भएपछि राप्रपा फेरि चोइटियो । जसले गर्दा थापा राजा निकट हुन पुगे । बाँकी चन्द र थापाले नेतृत्व गरेको राप्रपा त उसै चोइटानै थिए । 
 
२०७० को संबिधान सभाको चुनावमा आइपुग्दा कमल थापाले बोकेको हिन्दूत्व र राजतन्त्रले त्यो दललाई निकै महत्वपुर्ण सिट दिलायो । प्रत्यक्षतर्फ एक सिट ल्याउन नसकेपनि कमल थापा नेतृत्वको राप्रपा नेपालले समानुपातिक प्रणालीले गर्दा २५ सिट ल्यायो । जुन संख्या अस्थिरताका लागि पावरफुल हुनपुग्यो । घरि एमालेसँग मिल्ने त घरि माओवादीसँग । कहिले काँंग्रेससँग मिलेर यो संख्यात्मक शक्तिलाई कमल थापाले पंगु बनाए । कमल थापाका लागि २५ सिटको यो संख्या भस्मासुरले पाएको बर जस्तो हुनपुग्यो । 
 
अगाडि राप्रपा झुण्डिएको पूर्ब पञ्चहरुको तीन टुक्राहरु गत वर्षको मंसिरमा एक भएको घोषणा पनि गरे । एक हुँदा राप्रपा नेपाल र राप्रपाकोको सांसद संख्या ३७ पुग्यो । तर कमल थापाको चरित्रले गर्दा यो एकीकरण तीन महिना पनि टिक्न सकेन । संबिधान संशोधनको विवादमा राप्रपा दुई होइन तीन चिरा भयो । एकातिर पशुपति शमसेर, अर्कातिर कमल थापा र अर्कातिर डा. प्रकाशचन्द्र लोहनी पुगे । 
 
२०५१ साल र २०५६ को चुनावले तेस्रो राजनीतिक शक्ति बन्न पुगेको राप्रपा त्यसपछि क्रमशः क्षयीकरण हुँदै गएको छ । यो चुनावले त राप्रपाको अस्तित्वनै पूर्ण रुपमा नामेट गर्ने अवस्था देखिएको छ । पशुपति शमसेर, कमल थापा, सुनिल थापा, दीपक बोहोरा लगायतले नेपाली कांग्रेससँग मिलेर चुनावमा होमिएका थिए । उता डा. लोहनीको राप्रपा राष्ट्रवादीले केही क्षेत्रमा एक्लै लडेपनि उपस्थिती शून्य जस्तै हुन पुगेको छ । माथिनै उल्लेख गरिसकियो वाम गठवन्धनको सहयोग र सद्भावले मात्र कमल थापा नेतृत्वको राप्रपाले झापामा एक सिट जितेर बीउ जोगाउन सफल भएको छ । तीन प्रतिशत मत ल्याउनै पर्ने संबैधानिक प्रावधानले गर्दा संभवतः कमल थापाले नेतृत्व गरेको लगायत कुनै पनि राप्रपाले समानुपातिकमा एक सिट पनि जित्ने अवस्था छैन । जसले गर्दा अब राप्रपाले राष्ट्रिय दलको हैसियत गुमाउने अवस्था छ ।
 
कुनै बेला सत्ता र शक्तिको निकट राप्रपा किन यस्तो भयो ? यसको निर्मम विवेचना गर्ने ल्याकत र बुद्धि समेत तिनका नेताहरुमा छैन । नभए एकाध सिटका लागि आफ्नो सारा अस्तित्व नेपाली कांग्रेसजस्तो ठूलो दलसँग गएर मिलाउने थिएनन् । राप्रपा दल भँड््खारोमा जाओस्, आपूmले भने जसरी पनि जित्नैपर्छ भन्ने मानसिकताले त्यसका नेता भनिएकाहरुसँग देखियो । जसले गर्दा राप्रपा अब घाटमा पुगेको छ । 
 
राप्रपा यस्तो दल हो जसमा युवापिढीको पटक्कै आकर्षण छैन । अधिकांश यसका नेताहरुको उमेर ५० वर्षभन्दा तल छैन । अझै धेरैको उमेर ७० कटिसकेको छ । पञ्चायतकालमा मन्त्री, राष्ट्रिय पञ्चायतको सदस्य भएको भरमा राप्रपाको केन्द्रमा रहेका छन् । तिनैले पटक पटक टिकट पाउँछन् । युवाहरु यो दलमा आकर्षित हुन नसक्नुले यो दलको औचित्य अब लगभग समाप्त हुन लागेको छ । 
 
यो दल समापनको अवस्थामा जानुको अर्को कारण चाहि यो दलको स्पष्ट एजेण्डा पनि देखिएन । घरि हिन्दू देश, घरि राजतन्त्रको भुमरीले यो दलको एजेण्डा के हो भन्ने पनि स्पष्ट छैन । अघिल्लो चुनावमा हिन्दूत्वकै कारण समानुपातिकमा २५ सिट जितेको तथ्यलाई कमल थापाले चटक्कै भुलेर सरकार गठन र बिघटनको साँचो हातमा लिएर हिँडेपछि पूर्ब पञ्चहरुको दल समापनतिर पुगेको हो । 
 
राप्रपासँग स्पष्ट एजेण्डा पनि छैनन् । हिन्दु देश, राजतन्त्रका विषयमा आफैँभित्र पनि यी दलहरुबीच स्पष्टता छैन । अघिल्लो चुनावमा यसले पाएको मत हिन्दुत्वलाई उरालेकै कारणले मात्र थियो । 
 
अबको पाँच वर्षसम्म राप्रपाका सबै धारका अधिकांश नेताहरु उम्मेदवारनै हुन नसक्ने उमेरमा चढिसक्नेछन् । एकातिर पुराना नेताहरु राजनीतिबाट बिदा हुनुपर्ने र अर्कातिर नयाँ युवाहरु यो दलप्रति आकर्षित नहुनुले गर्दा राप्रपाको अवस्था पाँच वर्षपछिको चुनावमा उम्मेदवारनै नरहने संभावना पनि त्यत्तिकै छ । त्यस्तो अवस्थामा जे जति संभावना भएका राप्रपाका नेताहरु छन् तिनीहरुमध्य अधिकांश विचारधारा मिल्ने नेपाली कांग्रेसमा समाहित हुनेछन् । बाँकी केही एमाले र नयाँ दलहरुमा प्रवेश गर्नेछन् । 
 
यो चुनावले दिएको स्पष्ट संकेत के हो भने अब नेपालमा धेरै दलहरुको औचित्य छैन । जति धेरै दलहरु हुन्छन् त्यतिनै धेरै अस्थिरता र सरकारी स्रोतको सत्यानाशमात्र हुने हो । आपूmलाई ‘प्रगतिशील’ भनाउन चाहने वामपन्थी र ‘लोकतान्त्रिक’ दावी गर्ने दक्षिणपन्थी मात्र अब अस्तित्वमा रहनेछन् ।  जसका कारण राजनीतिक स्थिरता हुनेमा विश्वास गर्न सकिन्छ । 
 
यो चुनावमा सखाप भएको राप्रपा लगायत दलहरुको मतले देखाएको संकेत पनि यो हो कि–‘अति गर्नु अत्याचार नगर्नु ।’ कांग्रेस र एमालेले बहुमत नपाएको अवस्थामा राप्रपाले जे जति राजनीतिक अत्याचार गरेको गरेको थियो त्यसको हिसाब किताब बल्ल चुक्ता हुँदैछ ।