मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

बाँदर व्यापारी र नेपाली शेयर बजार

बाँदर व्यापारी र नेपाली शेयर बजार


हिमालयखबर संवाददाता-  
नेपालमा चुनावी परिणामहरु आइरहेका छन् । संघीय संसद र प्रदेश सभाको चुनावको नतिजा धमाधम आइरहेका छन् । अहिलेसम्मको चुनावी परिणामले वाम गठवन्धन (एमाले र माओवादी) को बहुमत आउने संकेत दिइसकेको छ । 
 
चुनावी परिणामसँगै नेपालको शेयर बजार आइतबार केही तल झरेको छ । शेयर बजारको परिसूचक नेप्से ६ दशमलव शून्य ५ अंकले घटेको छ । यो गिरावटलाई नेपालको अर्थतन्त्रसँग जोडेर अब वामपन्थीको सरकार गठन हुनेभयो र शेयर बजारले नकारात्मका रुपमा लियो भन्नेहरु पनि छन् । 
 
नेपालको शेयर बजारका गतिविधिहरु कुनै पनि अर्थतन्त्रका सिद्धान्तले निर्देशित गर्दैनन् । शेयर बजारका खेलाडीहरुले यसमा चलखेल गरेर सर्वसाधारण लगानीकर्ताहरुलाई त्रस्त बनाउने काम वर्षौदेखि गर्दै आएका छन् । 
 
नेपालको शेयरबजारसँग मिल्दोजुल्दो एउटा अमेरिकी कथा छ । 
एकपटक एउटा नयाँ मान्छे गाउँमा देखापर्यो । उसले आफू बाँदर व्यापारी भएको परिचय दियो । गाउँलेलाई जम्मा पारेर उसले भन्यो–‘म शहरबाट बाँदर किन्न आएको हुँ । तपाइहरुले मलाई बाँदर दिनुभयो भने एउटा बाँदरको १० डलर दिन्छु ।’
 
गाउँको जंगल, पाखाभरि बाँदर प्रशस्त थिए । गाउँलेहरु अरु सबै काम छाडेर बाँदर समात्न र त्यो व्यापारी भनिएकोलाई बुझाउन थाले । उनीहरुले जतिवटा बाँदर दिन्थे व्यापारीले हरेकको १० डलरका दरले गाउँलेलाई दिन्थ्यो । त्यो व्यापारीले ठूलो खोर बनाएर बाँदरलाई राखेको थियो ।
 
गाउँलेहरुले एकहजारको हाराहारीमा बाँदर समातेर व्यापारीलाई बेचे । बिस्तारै जंगलमा बाँदर पाउन छाड्यो । गाउँलेले भने–‘अब बाँदर सकियो । समात्न सकेनौँ ।’
 
व्यापारीले भन्यो–‘मलाई अरु पनि बाँदर चाहियो । जतिसक्दो धेरै बाँदर समातेर ल्याउनुस् । बरु म भाउ बढाइदिन्छु । एउटा बाँदरलाई २० डलर दिन्छु ।’
 
गाउँलेहरु टाढाको जंगलमा पुगेर बाँदर समातेर ल्याउन थाले । व्यापारीले पनि कबुल अनुसार २० डलर दिँदै बाँदर किन्यो ।
 
टाढाको जंगलमा पनि बाँदर पाउन छाड्यो । व्यापारीले आफूलाई अरु धेरै बाँदरहरु चाहिएको भन्दै भाउ बढाएर २५ डलर पुर्यायो । गाउँलेहरु टाढाटाढाको गाउँमा गएर बाँदर खोजेर ल्याउन थाले । व्यापारीले प्रत्येक बाँदरको २५ डलर तिर्दै किन्यो र खोरमा राख्दैगयो । 
 
टाढाटाढा जाँदा पनि गाउँलेले बाँदर पाउन छाडे । व्यापारीले बाँदरको भाउ बढाएर एउटाको ५० डलर दिने घोषणा गर्यो । उसले आफू केही दिनका लागि शहर जान लागेको र आफू फर्केर आउँदासम्म अरु धेरै बाँदरहरु खोजेर ल्याउन गाउँलेसँग अनुरोध गर्यो । आफु नहुँदा आफ्नो सहयोगीलाई बाँदर ल्याएर दिन भन्दै व्यापारी शहरतिर लाग्यो ।
 
एउटा बाँदर समातेर ल्याउँदा ५० डलरको मूल्यले गाउँलेहरु धेरै लोभिए । तर उनीहरुसँग कसरी अरु बाँदर समातेर ल्याउने उपाय थिएन । किनकी वरिपरीका जंगलमात्र नभएर टाढाटाढाका जंगलमा समेत बाँदर सकिएको थियो । 
व्यापारीको सहयोगीले गाउँलेहरु मनोभाव बुझ्यो । उसले गाउँलेलाई अलिक पर लगेर कानेखुशी गर्यो । उसले गाउँलेसँग भन्यो–‘हेर, अहिले त्यो व्यापारी पनि छैन । म यी सबै बाँदरहरु तिमीहरुलाई दिन्छु । मलाई एउटा बाँदरको ३५ डलरको दरले देउ । तिमीहरुलाई सिधै १५ डलर नाफा हुन्छ ।’
 
गाउँलेहरुले व्यापारीको सहयोगीको प्रस्ताव स्विकारे । एउटा बाँदरको ३५ डलरका दरले बुझाए । 
 
व्यापारीको सहयोगीले खोरको ढोका खोलिदियो । धेरै दिनदेखि खोरमा थुनिएका र भोकाएका बाँदरहरु जंगलतिर भागे । गाउँलेहरु फेरि ती बाँदरलाई समात्न जंगलतिर दौडिए । 
 
गाउँलेहरु बाँदर समात्न जंगलतिर दौडिएको मौकामा व्यापारीको सहयोगीले गाउँ छाड्यो । गाउँलेहरु बाँदर समातेर व्यापारीलाई कुर्दैथिए । उता त्यो बाँदर व्यापारी भने कहिल्यै गाउँ फर्किएन । 
 
हो, नेपालको शेयर बजारसँग यो अमेरिकी कथा धेरै मिल्छ । कहिले कसले सरकार बनाएको वहानामा शेयर बजारलाई त्यो बाँदर व्यापारीले जसरी उचाल्ने त कहिले अर्को सरकार गठन भएको वहानामा अब अर्थतन्त्र खत्तम हुन्छ भन्दै सस्तोमा सर्वसाधारणको शेयर किन्न खेलाडीहरुको चलखेल धेरै पहिलेदेखि छ । जसरी त्यो बाँदर व्यापारी भनिएको शहरबासीले गाउँलेलाई बढी मोल दिने भन्दै बाँदर किन्दै अन्तिममा त्यही बाँदर गाउँलेलाई भिडायो । गाउँले बाँदरको बढी मोल आउने लोभमा डुबे । अहिले नेपालको शेयर बजारमा पनि एउटा सरकार गठन हुनेभयो भन्दै बजारलाई तल झारेर सस्तोमा सर्वसाधारणको शेयर किन्ने खेल हुँदैछ । नभए चुनावी परिणाम पुरै सार्वजनिक नहुँदै शेयर बजार ६ अंकले घट्नुपर्ने कुनै तर्कसंगत कारण छ र ? 
 
यो बेला लगानीकर्ताहरुले लौ बजार खत्तम भयो भनेर शेयर बेच्ने होइन । धैर्य गरेर आउँदो सरकारलाइ हेर्ने हो । लौ शेयर बजार अब माथि जाने हो भनेर कसैले भनेका भरमा शेयर किनिहाल्ने र खत्तम हुन्छ भनेर बेचिहाल्ने समय होइन यो ।