विचार / ब्लग

अस्वभाविक लाग्ने स्वाभाविक परिणाम

606 पटक पढिएको

-विजय घिमिरे

हिमालयखबर | 9th Dec 2017, Saturday | २०७४ मंसिर २३, शनिबार ०८:२९
एक वर्षअघि अमेरिकामा डोनाल्ड ट्रम्पको जित, जनमत संग्रहमा युरोपियन युनियनबाट बेलायत अलग हुने पक्षमा जनमत, जर्मनीमा एङ्गेला मार्केलको जनसमर्थन घट्नुलगायतका घटना हेर्ने हो भने नेपालको निर्वाचन परिणाम पनि त्यहीअनुसार आएको देखिन्छ । नेपाली मतदाताले पनि भोट दिँदा विश्वमै आएको लहर पछ्याएका छन् । 
 
विश्वका अधिकांश देशमा सामान्य नागरिक यथास्थितिमा परिवर्तन चाहन्छन् र राष्ट्रका पक्षमा अडान राख्ने नेता खोज्दैछन् भन्ने पछिल्ला निर्वाचन नतिजाले देखाएका छन् । भारतमा नरेन्द्र मोदीदेखि अमेरिकामा डोनाल्ड ट्रम्पले निर्वाचनमा देशभित्र परिवर्तन र पहिले देश भन्ने विषय अघि सारेका थिए । उनीहरु अधिकांश राजनीतिक विश्लेषकलाई गलत साबित गर्दै निर्वाचनमा सफल पनि भए । नेपालमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी ओलीले निर्वाचनमा त्यही प्रवृत्ति पछ्याएका थिए ।
 
निर्वाचन यस्तै पृष्ठभूमिमा भइरहेको थियो । 
 
निर्वाचनका प्रारम्भिक नतिजामा नेपाली कांग्रेस इतिहासमै सबैभन्दा नराम्रो हारका संघारमा पुगेको देखिएको छ । सांसद सिट संख्याका आधारमा पहिलोबाट तेस्रो ठूलो पार्टी बन्ने अवस्थामा छ । 
 
निर्वाचन प्रचारका क्रममा भारतप्रति संकेत गर्दै ओलीले एउटा छिमेकीमाथिको निर्भरताबाट स्वतन्त्र हुनुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए । यसका लागि चीनसँगको सम्बन्ध विस्तार गर्नुपर्छ भन्ने उनको धारणा थियो । काठमाडांैको बानेश्वरको सभामा उनले राष्ट्रिय जनता पार्टीको घोषणापत्रमा उल्लेख भएको नेपाल ’बहुराष्ट्र’ हो भने मान्यताको विरोध गरेका थिए । 
 
त्यहाँ ओलीले नेपाल कतिवटा देश हो ? प्रधानमन्त्री शेरबहादुर देउवा किन केही बोल्नुहुन्न भन्ने प्रश्न गर्दै भाषण गरेका थिए । यो भाषण सामाजिक संजालमा धेरैले हेरेका थिए । तर, प्रधानमन्त्रीले देउवाले यसको जबाफ कतै पनि दिएनन् । 
 
ओलीलाई भारतले दुई वर्षअघि लगाएको अघोषित नाकाबन्दीले पनि चुनावमा सहयोग गर्यो । उनले यो नाकाबन्दीको डटेरै समाना गरेका थिए । त्यसबेला जनताले अप्ठेरो सहेर पनि तत्कालीन प्रधानमन्त्रीलाई ओलीलाई साथ दिएका थिए । 
 
ओली प्रधानमन्त्री भएपछि भारत गए । त्यसबेला संयुक्त वक्तव्यसमेत आउन सकेन । उखान टुक्कामै भए पनि ओलीले भारतलाई बिझ्ने गरी अभिव्यक्ति दिएका थिए । यसमा उनले देशभित्र धेरैको समर्थन पाइरहेका थिए । यसको फाइदा चुनावमा भयो । 
 
अमेरिकाबाट प्रकाशित हुने पत्रिका ’द वासिंटन पोस्ट’ले निर्वाचन हुनु एक दिनअघि ’नेपालमा चुनाव : चीन र भारत कसले जित्ला’ शीर्षकको समाचार प्रकाशित गर्यो ।
 
नेपालबाट विरोध भएपछि समाचारको शीर्षक फेरिए पनि चीन र भारतले आआफ्ना पक्षधर समूहले चुनाव जित्छन् कि जित्दैनन् भनेर हेरेका छन् भन्ने आशय समाचारमा कायमै छ । पोस्टका नयाँ दिल्ली संवाददाताले लेखेको उक्त समाचारले भारतीय संस्थापनको दृष्टिकोण केही हदसम्म प्रतिविम्बित गरेको छ ।  यसविपरीत नेपाली कांग्रेसले भने दुई छिमेकीबीच सन्तुलित सम्बन्ध राख्ने परम्परागत धारणा नै राख्दै आएको थियो । यो अमूर्त रटान हो । नाकाबन्दीबाट धेरै नेपाली भारतसँग चिढिएका थियो । यसलाई ओलीले राम्रोसँग दोहन गरे ।
 
कम्युनिस्ट गठन्धनलाई हराउन नेपाली कांग्रेसले कम्युनिस्ट गठबन्धन शक्तिशाली भयो भने अधिनायकवाद आउँछ भनेर रट लगाइरह्यो । चरमपन्थी कम्युनिस्ट मानिने १० वर्ष युद्ध गरेर आएको माओवादीले जित्दासमेत नआत्तिएका नेपाली जनताले अधिनायकवाद आउँछ भन्ने कांग्रेसको धारणा पत्याएनन् । कांग्रेससँग ओलीको बढ्दो लहरलाई रोक्ने चुनावी मुद्दा नै देखिएन । 
 
युवामा शेरबहादुर देउवाबाट परिवर्तन हुन्छ भन्ने आशा थिएन । केही महिनाअघि अमेरिका आउँदा कोलम्बिया विश्वविद्यालयमा देउवाको प्रस्तुति देख्ने र हेर्नेहरु उनीप्रति निराश भएका थिए । समाजिक सञ्जालमा कोलम्बिया विश्वविद्यालयमा देउवाको प्रस्तुतिलाई नेपाी युवाले कुरीकुरी गरेका थिए । तर, पनि पार्टी सभापति देउवाले आफ्नो अवस्था बुझेनन् । युवा चाहना बुझ्न खोजेनन् । 
 
नेपाली लामोको राजनीतिक अस्थिरताबाट दिक्क भएका थिए । एमालेले स्थिर सरकार दिने विषय उठाएको थियो । कम्युनिस्ट गठबन्धनमा ओली पहिलो नम्बरका नेता हुन् भन्नेमा कसैलाई शंका थिएन । ओलीले स्थिर सरकारलाई चुनावको विषयमात्र बनाएनन् माओवादी केन्द्रलाई समेत सँगै जाने वातावरण बनाए । 
 
यसले पनि कम्युनिस्ट गठबन्धनले स्थिर सरकार दिन्छ भन्ने आशा पलाएको थियो । तर, कांग्रेसभित्र बहुमत आइहाल्यो भने पनि को प्रधानमन्त्री हुन्छ भन्ने स्पष्ट थिएन । प्रकाशमान सिंह, रामचन्द्र पौडेल, गगन थापा, शशांक कोइरालासम्मले आफु प्रधानमन्त्री हुने अभिव्यक्ति दिएका थिए । यो देउवाका लागि पनि चुनौती थियो तर यसलाई कहीँ कतै सम्बोधन गरिएन । 
 
कांग्रेसले सारेको आर्थिक नीतिलाई चुनावमा लैजानेमा डा. रामशरण महत वा महेश आचार्य नभएर केही साताअघि कांग्रेस प्रवेश गरेका व्यवसायी विनोद चौधरी अगाडि देखिन्थे । डा. महत र आचार्यकै कारण देशको अर्थतन्त्र टाट पल्टिनबाट जोगिएको हो । 
 
जनतालाई वुझाउन कठिन भए पनि उदार अर्थनीतिको विकल्प छैन । जनतालाई आर्थिक विकासका वारेमा बुझाउन डा. महत र आचार्य नै अघि सर्नुपथ्र्यो । यो गर्नुपर्ने दायित्व र जिम्मेवारी उनीहरुकै थियो । तर, यस कदका नेता आफ्नो निर्वाचन क्षेत्रमै सीमित रहे । 
 
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका लागि यो सबैभन्दा ठूलो पराजय हो । समाजिक सञ्जालमा उनलाई कांग्रेस सभापतिबाट राजीनामा दिई युवालाई पार्टी नेतृत्व हस्तान्तरण गर्न सुझाव दिइएको छ ।  उनी यो जनताको सुझाव स्वीकार्छन् या कम्युनिस्ट गठबन्धनलाई फुटाएर एक दुई वर्षपछि प्रधानमन्त्री बन्छु भन्ने सोच लिएर अगाडि बढ्छन् यो देउवाका भावी कदमले देखाउनेछ । 
 
जनताको सुझाव स्वीकारे कांग्रेस आउने पाँच वर्षमा फेरि जाग्न सक्छ । कम्युनिस्ट गठबन्धन फुटाएर प्रधानमन्त्री बन्ने सोच राखे कांग्रेस उठ्नै नसक्ने गरी पछारिन सक्छ । नेपाली जनताले स्थिर सरकार चाहेका रहेछन् । प्रारम्भिक नतिजाका आधारमा आउने पाँच वर्षका लागि कम्युनिस्ट गठबन्धनले यो जिम्मेवारी पाएको छ ।