मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७४

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७४


 
  • प्रतिनिधि सभा कुल सदस्य संख्या -२७५
  • प्रत्यक्षवाट निर्वाचित -१६५
  • समानुपातिक -११०
  • प्रदेश सभा सदस्य संख्या  – ३३०
  • निर्वाचनमा सहभागी दल -९३
  • प्रतिनिधि सभा उम्मेदवार -१९४५ 
  • प्रदेश सभा उम्मेदवार -३२६९
 
मतगणना सुरु बिहीबार साँझ (नेपाली समय) बिहीबार बिहान (अमेरिकाको समय)
 
सबै नतिजा आउने लाग्ने समय करिब १० दिन
 
हिमालयखवर संवाददाता-
नेपालमा आज हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन अमेरिकामा बस्ने धेरै नेपालीहरूका लागि पनि चासोको विषय बनेको छ । टेक्ससका व्यवसायी हरिवोल भण्डारी विगत २ महिना अघि देखि चुनावमा होमिएका छन् । प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौमा क्षेत्र नम्बर ३ मा टिकटको समेत प्रबल दावेदार रहेको भण्डारी अहिले त्यहाँ निर्वाचनमा सक्रिय छन् । अन्य कयौँ अमेरिकामा बस्ने नेपाली समेत उक्त निर्वाचनमा गाउँ गाउँ पुगेका छन्, खटिएका छन् । कतिले यहीबाट उम्मेदवारलाई आर्थिक सहयोग समेत गरेका छन् ।
 
यहाँ बस्ने नेपालीलाई त्यहाँको चुनावको के अर्थ ? कुरा गर्नु नै बेकार भन्नेहरु पनि अमेरिकामा भेटिन्छन् । जहाँ भए पनि राजनीतिले नागरिकलाई कहीँ कतै प्रभाव पारेकै हुन्छ । त्यसैले यो निर्वाचनले नेपालको राजनीति मात्र होइन आर्थिक समाजिक क्षेत्रमा पनि ठुलो प्रभाव पार्ने छ । नेपालको विकास हुदां विदेशमा बस्ने नेपालीलाई पनि फाइदा हुन्छ । केही भएन भने पनि वेफाइदा भने हुदैंन । त्यसैले यो निर्वाचन विदेशमा बस्ने नेपालीको लागि पनि महत्वको विषय हो ।
 
के गर्छ त यो निर्वाचनले ? 
पहिलो नयाँ सरकार बन्छ । अमेरिकामा बिहीबार विहानहुदां नेपालमा दोस्रो चरणको निर्वाचन सकिन्छ । र पहिलो चरणमा निर्वाचन भएका स्थानको मतगणना सुरु हुन्छ ।  निर्वाचन नतिजा आएको अबका केही सातामा नयाँ सरकार बन्ने छ । अहिले दुई ठुला वामपन्थी पार्टी एमाले र माओवादी केन्द्र मिलेर चुनावमा गएका छन् । नेपाली काँग्रेसले यो गठबन्धन कसरी चुनौती दिन्छ ? यो नै अहिलेको सबैभन्दा ठुलो चासोको विषय हो । २०४६ साल यता सरकार कहिले काँग्रेस र कहिले वामपन्थी पार्टीहरूले चलाउंदै आएका छन् । मिलेर पनि सरकार बनाए । तर, यसरी वामपन्थी दुई ठुला पार्टी मिलेर नै काँग्रेसलाई चुनौती दिएको यो पहिलो पटक हो । 
 
विगतका निर्वाचनमा पार्टीले ल्याएको मतलाई आधार मान्दा वामपन्थी गठबन्धन बलियो देखिएको छ । धेरैको अनुमान यो गठबन्धनले १३८ सिटको आंकडापार गरी बहुमत ल्याउंछ भन्ने छ । यो १३८ यो निर्वाचनका लागि जादुमय नम्बर हो । तर, बामगठन्धनले विगतमा वांडिएका सवैमत एकै स्थानमा पार्न सक्छ वा सक्दैन भन्ने प्रश्न भने छ । यदि वामपन्थी गठबन्धनले जितेको स्थायी सरकार हुन्छ कि हुदैंन अर्को प्रश्न पनि छ ।
 
 वामपन्थी गठबन्धनले काँग्रेसलाई भने थप चुनौती थपेको छ । चुनावको सिट कति ल्याउने भन्ने यो अंकको खेल हो । गत स्थानीय निर्वाचनमा पनि केही सय मतआन्तरले कयौ स्थानमा जित हार भएका छन् । यस्तो हुदां हुँदै पनि सिटमा कांग्रेसपनि कमजोर नदेखिने धेरैको अनुमान छ । 
 
यो निर्वाचनले संविधान कार्यान्वयलाई पनि गति दिन्छ । प्रदेशहरुमा सरकार वन्छन् । यो नेपालको सन्दर्भमा नयाँ प्रयोग हो । यदि  संविधानको मर्म अनुसार हुने हो भने स्थानीय विकास निमार्णको जिम्मेवारी प्रदेश सरकारको हुने छ । यसले राज्य संरचनामा पनि परिवर्तन देख्न पाइने छ । यो निर्वाचनले नेपालमा देखिएको झण्डै डेढ दशक लामो संक्रमणकाल पनि समाप्त पार्ने आशा गरिएको छ ।
 
किन अन्य निर्वाचन भन्दा फरक ?
यो निर्वाचन २०४६ यता भएका अन्य चुनाव भन्दा फरक देखिएको छ । यो निर्वाचनमा पूर्वाधार तथा आर्थिक विकास र यसपछि छिमेकी देश भारत र चीनसंगको सम्बन्धका बारेमा उम्मेदवारले विगतमा के गरे र अव के गर्लान भन्ने विषयलाई नाम नागरिकले चासो दिए । यसैले विगतमा पटक पटक निर्वाचन हुनेलाई सकस परेको छ ।
 
अव विगतका निर्वाचन हेरौं २०४८ सालमा भएको निर्वाचनमा काँग्रेस र कम्युनिस्टका आधारमा जनताले भोट हालेका थिए । त्यस बेला कम्युनिष्ट आएपछि विदेशीले सहयोग रोक्छन, बुढावुढीलाई हेर्दैनन, गरिबको पाटी हो भन्ने जस्ता अफवाह थिए । काँग्रेस  माथि पनि भारतलाई नदी नाला बेच्यो जस्ता निराधार आरोप थिए । जनताले काँग्रेस र कम्युनिष्टमा पुरा बांडिएका थिए । त्यस बेला काँग्रेसले बहुमत ल्यायो । यसको तिन वर्ष पछि फेरी चुनाव भयो । काँग्रेसमा गुटवन्दी र विभाजन थियो । बहुमत हुदां हुदैं संसद् भङ्ग गरेर काँग्रेस चुनावमा गएको थियो । त्यस बेला नतिजा काँग्रेसले चाहे जस्तो आएन । कुनै पनि राजनीतिक पार्टीको बहुमत आएन । 
 
यस पछि २०५६ मा भएको निर्वाचनमा एमाले फुटेर माले गठन भएको थियो । दुई पार्टी फुटेर जाँदा काँग्रेसलाई फाइदा भयो फेरी बहुमत पायो । यी निर्वाचनमा विकास मुद्दा उठेपनि जितहारमा अन्य कारणले नै असर पर्‍यो । पहिलो संविधान सभाको निर्वाचन पनि कस्तो संविधान ल्याउने भन्ने राजनीतिक बहसमा केन्द्रित थियो । दोस्रो संविधान सभाको निर्वाचनपनि संविधानमै केन्द्रित थियो । अहिले नयाँ संविधान अनुसार निर्वाचन हुन गइरहेको छ । त्यसैले यस पटक राजनीति कम विकास बढी निर्वाचनको मुद्दा बनेको हो ।
 
यही कारणले काठमाडौँ १ मा काँग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंहलाई सकस भइरहेको छ । केही समय अघि पत्रकारिताको जागिर छाडेर आएका रविन्द्र मिश्रले कडा टक्कर दिएका छन् । रविन्द्रले जिती हालेपनि अनौठो मान्नु पर्दैन । अन्य क्षेत्रमा पनि यस्तै देखिन्छ । कास्की क्षेत्र नं २ मा रविन्द्र अधिकारीको अवस्था पनि यस्तै छ । पहिलो पटक टिकट पाएका काँग्रेसका देवराज चालिसेले विकासको मुद्दा उठाएर अधिकारीलाई कडा टक्कर दिएका छन् ।
 
एमालेका अध्यक्ष केपी ओलीले भने यो निर्वाचनमा केही लहर ल्याएका छन् । समाजिक सञ्जालमा ओलीका भनाईहरु हेर्ने धेरै छन् । भारतले दुई वर्ष अगाडी लगाएको अघोषित नाकाबन्दी समाना गरेका तत्कालीन प्रधानमन्त्री ओलीलाई यसले फाइदा भएको छ ।  वामपन्थी गठबन्धनलाई नेतृत्व तहमा एक ढिक्का बनाएर चुनावसम्म कायम गर्न ओली सफल भएका छन् । मधेसी दल राष्ट्रिय जनता पार्टीको निर्वाचन घोषणा पत्रमा नेपालाई बहुराष्ट्रिय देश भन्ने उल्लेख भएकालेपनि राष्ट्रवादी नेपाली झस्किएका छन् । 
 
काठमाडौको वानेश्वरमा आयोजित चुनावी सभामा ओलीले यसलाई सङ्केत गर्दै नेपाल बहुराष्ट्रिय देश भनेको के हो किन प्रधानमन्त्री यसमा मौन छन् भन्ने प्रश्न गरे । यो भाषण सामाजिक सञ्जालमा निकै पटक हेरिएको थियो । यो बहुराष्ट्रिय देशभन्ने शब्द राजपाले उठाउंदा पनि ओलीलाई फाइदा पुगेको छ ।
 
जे भए पनि आम नागरिक विकास नै खोजिरहेका छन् । बाटो किन पिच भएन, धारामा किन पानी आउँदैन, अस्पताल किन राम्रो भएन, स्कुल कलेज किन गतिला छैनन्, विद्युत् लगायत अन्य पूर्वाधार किन वनेन भन्ने सर्वसाधारणको मनमा छन् । युवाहरू किन विदेशमा काम खोज्न जानु पर्‍यो, राजनीतिक स्थिायित्व किन भएन भन्ने प्रश्नहरुपनि छन् । आर्थिक विकास होस र जसले जितेपनि स्थायी सरकार वनोस यो भने सबै नेपालीको चाहना हो । यो निर्वाचन यसैले सबै नेपाली र नेपालका लागि महत्त्वपूर्ण छ ।
 
हिमालयखबर डट कमको विश्वसनीय समाचार, तथ्यपूर्ण विश्लेषण, सन्तुलित विचार अनि व्यवसायीक पत्रकारिता लागि अफिसियल फेसबुक , यूटुब र ट्वीटर मार्फत जोडिनुहोस् ।