निर्वाचन विशेष २०१७

बाँदरमुढे घटनामा प्रचण्डको चुनावी रणनीति

259 पटक पढिएको

चुनावको मुखमा तीनबुँदे सहमति, पीडित समिति नै बेखबर

हिमालय खबर संवाददाता | 3rd Dec 2017, Sunday | २०७४ मंसिर १७, आईतवार ०४:४५
माडी, चितवन– चुनावको मुखमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले बाँदरमुढे घटनाका पीडितलाई फेरि झुक्याएका छन् । उनले बाँदरमुढे घटना पीडित संघर्ष समितिसँग कुनै छलफलै नगरी तीनबुँदे समझदारी गरेका छन् । समितिले घटनालाई अतिरञ्जित पार्न खाजेको आरोप लगाएको छ । समितिलाई तीनबुँदे समझदारीबारे जानकारीसमेत दिइएको छैन । समझदारी गर्ने व्यक्ति घटनाका पीडित कार्यसमिति बाहिरका छन् । 
 
माओवादीले लगातार घटना दबाउन खोजेको बताउँदै बाँदरमुढे संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपानेले भने– ‘चुनावको मुखमा फेरि तीनबुँदे समझदारी गराएर घटनालाई मत्थर पार्ने प्रयास भएको छ ।’
 
अध्यक्ष न्यौपानेले टेलिफोनमा भने– ‘मैले १२ वर्ष संघर्ष गर्दै आएँ । समितिको अध्यक्षलाई नै जानकारी नदिई कसलाई लिएर वार्ता गरे ? यो वार्ता सार्थक छैन, ढाँट, छल गरेर मतदाता ढाँट्ने प्रयासमात्र हो ।’ 
 
आफूले सहमति भएको भनेर एकैपटक फेसबुकमा देखेर थाहा पाएको उनी बताउँछन् । म अध्यक्ष हुँ । मलाई जानकारी हुनुपर्दथ्यो । तर छलफलमै ल्याइएन । यो सहमति हुनै सक्दैन । मेरो आपत्ति छ । यसमा म खेद प्रकट गर्दछु ।’
 
अध्यक्ष न्यौपानेले थपे– ‘म आफू पनि वार्तामा बस्न चाहिरहेको थिएँ । पीडितको कुरा राख्न चाहन्थेँ । तर, यो नियोजित रुपमा पीडितहरुलाई नै भजाउन (विभाजित)का लागि हो ।’ 
 
०६२ जेठ २३ गते यात्रुवाहक बसलाई लक्षित गरी तत्कालीन नेकपा माओवादीले माडी बाँदरमुढेमा बम विष्फोट गराउँदा ३९ जनाले ज्यान गुमाएका थिए । ७२ जना घाइते भएका थिए । घटनामा ज्यान गुमाउनेमा २२ जना माडीकै थिए । यस्तै घाइतेमध्ये पनि अधिकांश माडीकै वासिन्दा थिए । 
 
घटनालगत्तै बनेको पीडित समितिसँग कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले नयाँ जुक्ति अपनाएका हुन् । उनले एमाले र तत्कालीन जनमोर्चा समर्थक पीडितलाई लिखित प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न लगाएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाँदरमुढे घटनाका पीडितका ५ जनासँग  तीनबुँदे लिखित प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन् । समितिको कार्यसमितिबाहेकका ५ जना पीडितले हस्ताक्षर गरेका हुन् । 
 
घटनामा ज्यान गुमाएका परिवारलाई रोजगारीको व्यवस्था गर्ने, घाइतेहरुको औषधि उपचार गर्ने तथा रोजगारीको व्यवस्था गर्ने र घटनास्थल बाँदरमुढेमा दश विघामा स्मारक संग्रहालय र चिडिया घर निर्माण गर्ने उल्लेख छ । 
 
‘२/४ जनासँग मिलेर सहमति गर्नुभयो रे भन्ने सुनेको छु’, बाँदरमुढे घटना पीडित समितिका अध्यक्ष न्यौपानेले भने, ‘चुनावको मुखमा कोसँग के सहमति गर्नुभयो त्यो उहाँलाई थाहा होला, समिति यसबारे बेखबर छ ।’ 
 
उनले माओवादी केन्द्रले घटनाका पीडित समितिसँग बसेर परामर्श नगरी सहमति गरेको आरोप लगाए । ‘पीडित धेरै छौँ, समिति बनेको छ । सहमति गर्न पुग्ने उहाँहरुले हामी सबैको प्रतिनिधित्व गर्नुहुन्न ।’ उनले भने । 
 
समितिको अध्यक्षमा मुक्तिनाथ न्यौपाने, उपाध्यक्षमा कृष्णप्रसाद अधिकारी, सचिवमा भानु आचार्य, कोषाध्यक्षमा यमनाथ सुवेदी छन् । यस्तै  सदस्यहरुमा लक्ष्मीकान्त घिमिरे, राधेश्याम भण्डारी, लक्ष्मी श्रेष्ठ, रोशन श्रेष्ठ, दुर्गामाया मगर छन् । तर, समितिमा रहेर न्याय र अधिकारको पक्षमा वकालत गरेका व्यक्तिलाई नै माओवादी केन्द्रका अध्यक्षले बिर्सेको आरोप अध्यक्ष न्यौपानेको छ । 
 
‘तीनबुँदे सहमति भनेर मिडियाबाजी भएको छ’, बाँदरमुढे घटनापीडित समितिका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले भने, ‘हामीलाई योबारे केही थाहै छैन, कताबाट के सहमति भएछ ?” यसअघि पनि प्रचण्डले माडी महोत्सवको उद्घाटन गर्दै ०६९ सालमा ६० लाख राहत प्याकेज घोषणा गरे पनि पीडितले सो राहत अस्वीकार गरेका थिए । तर, चुनाव घोषणापूर्व प्रचण्ड माडीमै पुगेर पीडितसँग छलफल परामर्श गर्ने कामसम्म गरेका थिएनन् ।