मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा प्रचण्ड र पाण्डेबीच तीव्र प्रतिस्पर्धा

चितवनमा प्रचण्ड र पाण्डेबीच तीव्र प्रतिस्पर्धा


केशव भट्टराई / हिमालय खबर 
चितवन, १७ मंसिर– स्थानीय तह निर्वाचनमा सर्वाधिक चासो रहेको भरतपुर महानगरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि देशविदेशमा रहने युवामाझ पुनः चर्चामा छ । 
 
मंसिर २१ गते दोस्रो चरणको निर्वाचन हुन अब चार दिनमात्रै बाँकी रहँदा चितवन यतिबेला चुनावी सरगर्मीले बेस्मारी तातेको छ । चितवनको क्षेत्र नं ३ मा धेरैको चासो बढ्नुको कारण हो– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष तथा वनमन्त्री विक्रम पाण्डेबीचको घमासान चुनावी भिडन्त । 
 
देश–विदेशबाट चितवन क्षेत्र नं ३ मा पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेबीच तीव्र प्रतिस्पर्धा छ । मन्त्री पाण्डे राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्षसमेत हुन् । उनलाई साथ दिएको छ– क्षेत्र नं ३ मा प्रभावशाली मानिएको नेपाली कांग्रेसले । लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका पाण्डे संविधानसभाको निर्वाचनमा यसअघि सोही क्षेत्रबाट विजयी उम्मेदवार हुन् । 
 
प्रचण्डलाई एमालेको समर्थन प्राप्त छ । वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका प्रचण्डका लागि सो क्षेत्रमा चुनाव जित्नु ठूलो चुनौती बनेको छ । किनभने, विक्रम पाण्डे कमजोर उम्मेदवार होइनन् । एक त सो क्षेत्रबाट विजय हासिल गरिसकेको र अर्को राम्रो पकड जमाउँदै आएको कांग्रेसको साथ र समर्थन । 
 
माडी उपत्यकाको मत निर्णायक
तीव्र प्रतिस्पर्धा रहेको सो क्षेत्रमा यतिबेला दुवै गठबन्धनको नेता, कार्यकर्ता चुनावी सभा, घरदैलो र प्रचारप्रसारमा केन्द्रित भइरहेका छन् । भरतपुर महानगरमा चुनावी भिडन्त भनिए पनि खास लडाइँचाहिँ माडी क्षेत्रमा हुने देखिएको छ । 
 
किनभने, माडी उपत्यकाको मत नै दुवै प्रतिस्पर्धीका लागि निर्णायक मानिएको छ । साविक चार गाविस मिलाएर माडी नगरपालिका बनेपछि यस क्षेत्रका मतदाताहरुको मन जित्न प्रचण्ड र पाण्डेबीच रस्साकस्सी नै चलेको छ । दुवैले समग्र माडीको विकासको लागि प्रतिबद्धताहरु प्रस्तुत गरेका छन् । 
 
दुवै उम्मेदवार दुवैका लागि उत्तिकै चुनौती बनिरहेका छन् । दुईपटक मन्त्री भएका पाण्डेले भूमिसुधारमन्त्री हुँदा मालपोत र नापी कार्यालयको शाखा खोलेका छन् । सो क्षेत्रमा माडी र चनौलीका जनताले मालपोत र नापी कार्यालयको सेवासुविधा पाइरहेका छन् । 
 
पाण्डे २० वर्षदेखि सोही क्षेत्रमा घुलमिल भएका चर्चित नेता हुन् । बाढी, डुवान वा आगलागीजस्ता दैवी विपत्तिहरुमा काठमाडौँबाट माडी आउने र जनताको दुःखसुखमा साथ दिने भएकै कारण माडी उनको प्रभाव क्षेत्र मानिन्छ । 
 
विकासप्रेमी नेताका रुपमा दरिएका उनी माडी क्षेत्रका हरेक आरोह–अवरोहसँग परिचित व्यक्तित्व हुन् । उनी सगर्व भन्छन्, ‘२० वर्षदेखि म आफ्नो क्षेत्रमा लागिपरेको छु, जनताको सुखदुःखमा साथ दिँदै आएको छु र अहोरात्र दिइरहने छु ।’ ‘यस्तो कुन नेता हुनसक्छ, बाढी आउँदासाथ आफ्नो क्षेत्रमा राहत लिएर आउने, दुःखमा साथ दिन आउने ?’ उनी भन्छन् । 
 
सो क्षेत्रमा प्रचण्डभन्दा बढी समय खर्चेेका नेता भएकै कारण मतदाताको सर्वाधिक रोजाईमा पर्नेमा उनी ढुक्क छन् । जनतासँग बढी उठबस रहेकै कारण उनको विशेष खालको प्रभाव माडीमा छ । उनको आफ्नै मतदाता सो क्षेत्रमा बढी छन् । ०६४ सालको संविधानसभा निर्वाचनमा पराजित भएका पाण्डे ०७० को संविधानसभा निर्वाचनमा विजयी भएका हुन् । अहिले झन् कांग्रेसले साथ दिएपछि उनी विजयी बन्नेमा निर्धक्क भएका हुन् । 
 
दुईपटक प्रधानमन्त्री बनिसकेको र राजनीतिमा खेल्न सक्ने खुवी भएका प्रचण्ड पनि चुनावी मैदानमा जोडतोडले लागिपरेका छन् । माडीवासीको मन जित्न उनी माडी उपत्यकामै बढीजसो केन्द्रित भैरहेका छन् । 
 
मन्त्री पाण्डेलाई कांग्रेसले साथ दिएबाट झस्किएका प्रचण्ड माडीवासीको मन जित्न दोहो¥याईतेह¥याई सो क्षेत्रमा पुगिरहेका छन् । स्थानीय तहमा झिनो मतअन्तरले माओवादीले मेयर जितेको माडी नगरपालिका क्षेत्रमा अहिले दिनदिनै सभा, कोणसभा र भेला भैरहेका छन् । 
 
सशस्त्र द्वन्द्वकालमा माडीको बाँदरमुढेमा सर्वसाधारण चढेको गाडी माओवादीले थापेको एम्बुसमा पर्दा ४२ जनाको मृत्यु भएको थियो । दर्जनौँ अंगभङ्ग भएका थिए । माडीमा उक्त घटनाका पीडितहरुलाई माओवादीले सम्बोधन नगरेको, विगतमा प्रचण्ड फर्केर नआएको आक्रोश अझै सो क्षेत्रमा व्याप्त छ । 
 
बाँदरमुढे संघर्ष समितिका नामबाट पीडितका लागि राहतका प्याकेज ल्याइनुपर्ने माग राखिरहेका बेला माओवादीकै भातृसंगठन वाईसीएलले चुनावको मुखमा बाँदरमुढे घटनालाई नजोड्न चेतावनी दिएपछि मतदाता खिन्न भएका छन् । 
 
उसो त निर्वाचनलाई केन्द्रित गरी वाम गठबन्धनले मंसिर ५ गते भरतपुरमा वृहत चुनावी सभा आयोजना ग¥यो । प्रचण्डका पक्षमा माहौल तताउन लोकगायक बद्री पंगेनीदेखि कलाकार मनोज गजुरेलसम्मलाई चुनावी सभामा प्रयोग गरियो । मतदातालाई फकाउने प्रयास अझै जारी छ । पाण्डे चुनौती बनेपछि आइतबार वाम गठबन्धनका अर्का हस्ती केपी ओली माडी झिकाइए । 
 
वैद्य पनि अर्को चुनौती 
 
लोकतान्त्रिक र वाम गठबन्धनले आ–आफ्ना चुनावी कार्यक्रम तीव्र बनाउँदै गर्दा नेकपा माओवादीका महासचिव पनि माडीमा चुनावी सभाहरुमा व्यस्त छन् । 
 
माडीको वसन्तपुर बजारमा वैद्यले आफ्नै उम्मेदवार टंकनाथ रेग्मीको पक्षमा भोट माग्न व्यस्त भएका छन् । लामो समयसम्म राजनीतिका सारथि बनेका वैद्यले प्रचण्डविरुद्ध प्रचार गर्दै आफ्नो राजनीतिक अडान प्रस्तुत गरेका छन् । महासचिव वैद्य एमाले र माओवादी केन्द्रले हल्ला चलाएजस्तो वाम गठबन्धन नभएको दाबी गर्छन् । 
 
रेग्मीको चुनावी सभामा तडकभडक र व्यापक प्रचार सामग्री नटाँगिए पनि सभामा उपस्थित हुनेको संख्या अधिक थियो । वैद्यले लोक र वाम गठबन्धनको चर्को आलोचना गरे । वैद्यले भने– ‘एमाले र माओवादी कांग्रेसजस्तै संसदीय भासमा लम्पसार परेका पार्टी हुन्, उनीहरुले चाहेर पनि साम्यवाद आउँदैन । उनीहरु वास्तवमा वामपन्थी भन्न लायक छैनन् ।’
 
माडीको चुनावी परिणाम 
 
माडीमा २०५१ सालको संसदीय निर्वाचनमा कांग्रेस नेता तीर्थ भुसालले जितेका थिए भने २०४८ मा जनमोर्चाका अमिक शेरचन विजयी भए । ०५६ मा कांग्रेस नेता नारायण शर्मा पौडेल विजयी भए । यस्तै २०६४ को पहिलो संविधानसभामा माओवादीबाट अमिक शेरचन विजयी भए । ०७० सालको संविधानसभामा राप्रपाका विक्रम पाण्डेले आकर्षक मतसहित विजय हासिल गरेका थिए । 
 
अहिले स्थिति फेरिएको छ । माडीका मतदाताले कुन उम्मेदवारलाई जिताउँछन् भन्ने आँकलन गर्न गाह्रो छ । दुवै गठबन्धनले आ–आफ्नो उम्मेदवारले जित्ने दाबी गर्दै आए पनि माडीको मत कसको पोल्टामा जान्छ र कसको पल्लाभारी हुन्छ भनेर अनुमान गर्न गाह्रो छ । 
 
उसो त प्रचण्डले आफ्नो कुनै प्रतिस्पर्धी नभएको र आफूलाई चितवनका जनताले विकासको लागि जिताउने दाबी गर्छन् । वाम गठबन्धनले पनि प्रचण्ड विजयी भए पुनः प्रधानमन्त्री बन्न सक्ने र विकास बजेटमार्फत् चितवनलाई समृद्ध सहर बनाउने प्रचार गरिरहेको छ ।  
 
उनी भन्छन्, ‘दुईपटक प्रधानमन्त्री भएँ, यहाँका जनताको आशीर्वाद पाएँ भने फेरि पनि प्रधानमन्त्री हुन्छु, मलाई चितवनले प्रचण्ड बनाएको हो, अब म चितवन बनाउँछु ।’ 
 
कसले मार्ला बाजी ? 
 
चितवन ३ का मतदाताले कसलाई चुनेर पठाउँछन् भन्ने यकिन साथ भन्न सकिने अवस्था देखिँदैन । चितवन क्षेत्र नम्बर ३ मा माडी नगरपालिकासहित भरतपुर महानगरपालिकाका १९ वडा पर्छन् । क्षेत्र ३ मा स्थानीय तहको १९ वडाको हिसाब गर्दा माओवादी केन्द्र र एमालेभन्दा कांग्रेसको मत बढी छ । 
 
१९ वडामध्ये ६ वटा एमाले ३ वटा माओवादी र ११ वटा वडा कांग्रेसले जितेका छन् । स्थानीय तह निर्वाचनमा खसेको मतलाई हेर्दा क्षेत्र ३ मा १९ वटा वडामा कांग्रेसले पाएको मत जोड्दा २३ हजार २३७ छ । त्यसमा राप्रपा प्रजातान्त्रिकको थपिँदा ३० हजारभन्दा बढी छ । 
 
एमालेको २१ हजार १३० मत छ । माडी नगरपालिकासहितको मत जोड्दा एमालेको सम्पूर्ण मत २४ हजार कटेको छ । यसमा वाम गठबन्धनको (माओवादी केन्द्र र एमाले) मत जोड्दा कांग्रेसको मतभन्दा ७ हजारले बढी भए पनि कांग्रेस र राप्रपाको मत जोड्दा लोकतान्त्रिक गठबन्धनकै बढी मत आउने देखिन्छ ।