मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

कर नीति गरिब मारेर धनी पोष्ने किसिमको भयो -सिनेटर जोसे पेरल्टा

कर नीति गरिब मारेर धनी पोष्ने किसिमको भयो -सिनेटर जोसे पेरल्टा


न्यूयोर्कको कुइन्स काउन्टि, अमेरिकामा सबैभन्दा धेरै नेपाली बसोबास गर्ने क्षेत्र हो । यहाँको ज्याक्सन हाइटस् एरियामा प्रशस्त नेपाली व्यवसाय देख्न सकिन्छ जसलाई अमेरिकामा मिनिनेपाल पनि भनिन्छ । सोही क्षेत्रलाई प्रतिनिधित्व गर्नुहुने न्यूयोर्क राज्यका सिनेटर जोसे पेरल्टासंग पत्रकार किरण मरहठ्ठाले विविधतामा एकताले भरिएको अमेरिकी समाज र त्यसमा नेपालीको सरोकारका बारेमा कुराकानी गर्नुभएको थियो । प्रस्तुत छ सो कुराकानीको सार ।
 
तपाइले प्रतिनिधित्व गर्नुहुने न्यूयोर्कको क्षेत्र नम्बर १३ अमेरिकामा सबैभन्दा धेरै नेपालीको आवादी भएको क्षेत्र हो । नेपाली मात्र नभै, भारतीय, बंगाली, ल्याटिनो, कोरियन र चाइनिजहरुको पनि बक्लो उपस्थिति यो जिल्लामा रहेको छ । तपाइ आफ्नो जिल्लाको विविधतालाइ कसरि व्याख्या गर्न चाहनु हुन्छ ?
 
म यसलाई संयुक्त राष्ट्र संघकै स्वरूप मान्दछु । वास्तवमा यो राष्ट्र संघ जस्तै संसारका धेरै देशका मानिसहरूको साझा थलो भएको छ जो विश्वको जुनसुकै कुनाबाट आएर बसेका भएता पनि यो क्षेत्रलाई आफ्नो घर मान्दछन् । विविधताले हामीलाई बल दिएको छ । म यो जिल्लालाई प्रतिनिधित्व गर्न पाएकोमा गर्व गर्दछु । विश्वका अन्य भूभागमा बेमेल भएका समुदायका मानिसहरू पनि याहाँ मिलेर बसेका छन् । हामीले एक अर्कालाई सम्मान गर्ने हुनाले नै यो सम्भव भएको हो । याहाँ सबैको आधारभूत आवश्यकता र प्राथमिकताहरु छन् । हामी सबै रोजगार, गुणस्तरिय शिक्षा, स्वास्थ्य सेवा, आफ्नो घर र बालबालिकाको उज्वल भविष्य चाहन्छौँ । जब हामी एकै समुदायको रूपमा बाचेका हुन्छौँ तब मात्र यो सम्भव हुन्छ जुन मेरो क्षेत्रमा भइरहेको छ ।
 
मेरो विचारमा, संसारका फरक जातजाति, भाषा, संस्कृति र भूगोलका मानिसलाई संयोजन गर्नु तपाइको लागी पनि ज्यादै चुनौतीपुर्ण काम हो । यस सन्दर्भमा, उनीहरूको मौलिक पहिचानलाई संरक्षण गर्ने तपाइको योजनाहरू के के छन् ?
 
सबैभन्दा पहिला हामीले उनीहरूको संस्कृतिको पहिचान गर्नु पर्दछ । उनीहरूको आफ्नो आदिथलोमा कस्तो सामाजिक आर्थिक र संस्कृतीक अभ्यासमा थिए र यहाँ के अपेक्षा गर्दछन् भन्ने बुझ्नु अति जरुरी छ । त्यसको लागी मिडिया, पुस्तक, सिनेमा, खाना वा व्यक्तिगत संम्पर्क मार्फत जानकारी लिन सकिन्छ । तर मुख्य कुरो उनीहरू यो देशमा गुणस्तरिय जीवन बाँच्न आएका हुन्, उनीहरू अमेरिकन ड्रिम साकार पार्न चाहन्छन् भन्ने कुरा आधारभूत रूपमा बुझ्नु पर्दछ । तसर्थ हामीले उनीहरूको राम्रो जीवनको लागी काम गर्नुपर्छ । उनीहरूलाई साना व्यवसायमा सहयोग गर्नु, सरसफाइमा ध्यान दिनु, उनीहरूका बालबालिका राम्रो स्कुलमा पढिरहेका छन् भन्ने भरोसा दिलाउनु पर्छ साथै उनीहरू माथि कुनै प्रकारको अन्याय, असुरक्षा र विभेद हुँदैन भन्ने विश्वास दिलाउनु नै हाम्रो प्रमुख कतव्र्य हो । हाम्रो सङ्घीय प्रशासनको धारा ४५ ले यो बारेमा धेरै बोलेको छ । यदि कसैले विभेद गर्दछ भने त्यो हाम्रो लागी मान्य हुने छैन । 
 
यहाँ जनतालाई राजनीतिक रूपमा निर्णायक तहमा पुर्‍याउन तपाइले कुनै योजनाहरू बनाउनु भएको छ ?
राम्रो प्रश्न गर्नुभयो, हामी यहाँका सबै जनतालाई यो क्षेत्रको राजदूत भन्दछौँ । हामी जनतालाई राजनीतिक र नागरिक सहभागिताका कार्यक्रमहरूमा बढी भन्दा बढी सहभागिताको लागी प्रोत्साहित गर्दछौँ ताकी उनीहरूले स्थानीय तथा राष्टियस्तरमा के भइरहेको छ भन्ने बारेमा जानुन र आफ्ना विचार राखुन । विशेष गरी सामुदायिक बोर्डको कार्यक्रम, निर्वाचित जनप्रतिनिधिका कार्यक्रमहरू र न्यु योर्क पुलिसका कार्यक्रमहरूमा जनताको उच्च सहभागिताको लागी हामी उत्प्रेरित गर्दछौँ । हामी आफैँ पनि राज्यका विभिन्न नीति निर्माणको क्रममा समयमा उनीहरूको अभिमत लिन टाउनहल मिटिगंहरु आयोजना गर्दछौँ । हाम्रा क्रियाकलापहरुले उनीहरूलाई राज्यका विविध नीतिनिर्माणमा सहभागिता जनाउने मात्र होइन नेतृत्व विकासको अवसर पनि प्रदान गर्दछ । 
 
तपाइले न्यु योर्क राज्यमा विगत ७ वर्षदेखि प्रतिनिधित्व गर्नुभयो, तपाइको कार्यकालका मुख्य उपलब्धिहरुलाइ कसरि उल्लेख गर्न चाहनु हुन्छ ? 
हामी धेरै सफल भयौँ भन्ने मलाइ लाग्दछ । मुख्य गरी हामीले न्यूनत्तम ज्याला बृदि गरेर प्रतिघण्टा १५ डलर बनाउन सक्यौँ । तलबि बिदाको अवधिलाइ लम्ब्याउन सक्यौँ । अब कसैले पनि जरुरी हेरी १२ हप्त सम्मको पारिवारिक तलबि बिदा लिन सक्छन् जुन अमेरिकाकै अन्य राज्य भन्दा धेरै हो । डिपोर्टेशनको प्रक्रियामा रहेकाहरुको लागी हामीले १० मिलियन डलरको कोष बनाएका छौँ, अव त्यस्ता मानिसहरूले वकिलको लागी तिर्नुपर्ने शुल्क राज्यले तिरिदिने छ । गतबर्ष मात्र हामीले एक दशमलव एक विलियन डलर स्कुलको शैक्षिक तथा भौतिक गुणस्तर सुधारका लागी विनियोजन गरेका छौँ । हामा सरकारी कार्यलयहरुमा कुनै प्रकारको विभेदका विरुद्धको कानुनी सेवाका वकिलहरु निःशुल्क उपलब्ध गराएका र्छाैँ । हामीले सामुदयीक सेवामा लागेका विभिन्न संस्थाहरूलाई फण्ड उपलब्ध गराउने गरेका छौँ । हामीले सेवा दिने क्रममा कुनै पनि व्यक्तिको आप्रवासन हैसियत सोध्ने गरेका छैनौ यसको अलाबा साना व्यवसायलाई दिइने अनुदान रकम बढाएका छौँ । मलाइ लाग्छ मेरो सात वर्ष सफल अवधि हो ।
 
भर्खरै केन्द्रीय सरकारले नयाँ करनीति पारित गरेको छ, यसमा तपाइको प्रतिक्रिया के छ ?
यो कर नीति गरिब मारेर धनी पोष्ने किसिमको भयो । यसले न्यूनआय भएका परिवारलाई त बर्बाद पार्छ नै मध्यमआय भएका परिवारलाई पनि राहत प्रदान गर्दैन । न्यूयोर्कका गरिखाने समुदायलाई त झन् यसले बर्बादै पार्छ । मलाइ विश्वास छ, हाम्रा सांसदहरुले क्यापिटल हिलमा यो बारेमा आवज उठाउने छन् ।  
 
साना व्यवसाय गर्न चाहने र न्यून आय भएका परिवारको सहायताको लागी तपाइको के कार्यक्रमहरू छन् ? 
यसको लागी हामीले गर्भनर र राज्यस्तरका बैँकसंग मिलेर काम गरेका छौँ । निम्न आय भएका मानिसले व्यवसाय गर्न चाहेमा साना व्यवसायको लागी हामी अनुदान दिने गर्दछौँ । त्यतिले पुगेन भने न्यून ब्याजदरमा लोन दिने र कर छुटको कार्यक्रम पनि छ । मुख्य कुरा साना पुजीँ भएका व्यवसायीलाई हामी तालीम र कन्सुलीगं सेवा पनि दिन्छौँ ताकि सुरु गरे पछि ब्याक हुनु नपरोस ।
 
तपाइको क्षेत्र अमेरिकामै सबैभन्दा धेरै नेपालीको बसोबास भएको क्षेत्र हो, जहाँ करिब ३० हजार नेपाली बस्छन् भनिन्छ ,  नेपाली समुदायको बारेमा तपाइ कत्तिको जानकार हुनुहुन्छ ?
 
नेपालीहरूको बारेमा पर्याप्त त भन्दिन तर म धेरै जानकार चाहिँ छु । मेरो क्षेत्रमा नेपालीको सङ्ख्या द्रुत गतिमा बढेको छ जुन स्वागत योग्य कुरा हो । उनीहरूको उपस्थिति देख्दा मलाइ गर्व लागेको छ । मैले मुख्य गरी ज्याक्सन हाइटस् क्षेत्रमा नेपाली ब्यवसायहरु बढिरहेको देखेको छु । तर मलाइ थाहा छ व्यवसाय नगर्नहरुको सङ्ख्या ठुलो छ । मैले नेपाली सामुदायिक संस्थाहरू र अन्य श्रोतबाट नेपालीको आवश्यकता के के छन् भन्ने बारेमा जानकारी लिने गरेको छु तर म अझ थप बुझ्न चाहन्छु जसले गर्दा थप सहयोग गर्न सकियोस । 
 
नेपालीहरूको स्वभाव र संस्कृतिको बारेमा तपाइको विश्लेषण के छ ?
म धेरै खुसी छु । धेरै मेहनती र स्वभिमानि स्वभावको पाएको छु । उनीहरू केही गर्नको लागी यहाँ आएका हुन् भन्ने थाहा छ । साना व्यवसाय र सामाजिक काम मार्फत पहिचान स्थापित गर्दैछन् । जब आफ्नो देश छोडेर नयाँ ठाउँमा केही गर्न सफल भएका छन् भने हामीले प्रशंसा गर्नै पर्छ । उनीहरू कुइन्सलाइ आफ्नो घर जस्तै माया गर्दछन् । हाम्रो सरकारी कार्यक्रमहरूमा उनीहरूको सक्रिय सहभागिता रहने गरेको छ । 
 
तपाईँलाई नेपालको बारेमा चाहिँ कत्तिको जानकारी छ ?
मलाइ केही जानकारी छ । तर मैले नेपाली समुदायको बारेमा बढीभन्दा बढी जानकारी लिने कोसिस गरिरहेको हुन्छु । मलाइ नेपाली खानाको बारेमा थाहा छ र त्यो मेरो मन पर्ने खाना हो । नेपाली समुदायसँग भेटघाट र अन्तक्रीय गर्ने काम भइरहेको छ जसबाट मलाइ नेपालको बारेमा जानकारी पनि बढिरहेको छ । 
 
नेपालीको लागी तपाइको केही विशेष संदेश छन् कि ?
नेपाली एक अनुशासित समुदाय हो । म विशेष गरी हामीले सञ्चालन गर्ने सबैप्रकारका कार्यक्रमहरूमा सहभागिता बढाउन विशेष अनुरोध गर्दछु । आफ्नो मातृभूमि छोडेर याहाँ आउँदा निश्चयनै नेपालमा के के भइरहेको छ भन्ने कुराको चासो हुन्छ तर तपाईँहरूको जीवन र सपना याहाँ छ तसर्थ यो समाजलाई राम्रो बनाउन कोसिस गरौँ । जनप्रतिनिधिका हिसाबले मैले गनुपर्ने कुनै पनि प्रकारको सहयोगको लागी म सदा तयार छु ।
 
नेपाल घुम्ने निम्तो आएमा के गर्नु हुन्छ ?
त्यो मेरो लागी खुसीको कुरो हो । म अवश्य जानेछु ।