मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ट्रम्पका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकारले झुटो बोलेको स्वीकार गरे

ट्रम्पका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकारले झुटो बोलेको स्वीकार गरे


वासिंटन, मंसिर १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा बर्खास्त गरिएका उनका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले रुससँगको आफ्नो सम्पर्कबारे संघीय छानविन निकाय ‘एफबीआइ’सँग झुटो बोलेको स्वीकार गरेका छन् ।
 
वासिंटनका लागि रुसी राजदूतसँग गरेको संवादबारे आफूले झुटा अभिव्यक्ति दिएको उनले स्वीकारेका हुन् ।
 
वासिंटन डीसीस्थित एउटा संघीय अदालतमा उपस्थित हुँदै फ्लिनले आफूले जानाजान ‘झुटो, कपोलकल्पित र धोकाधडीपूर्ण’ अभिव्यक्ति दिएको स्वीकार गरे ।
 
अदालतमा बयान दिएपछि जारी गरेको एउटा वक्तव्यमा फ्लिनले आफुले पहिला गरेको काम गलत थियो भन्ने कुरा अदालतमा स्वीकार गर्दै अब गल्ति सच्याउने प्रण गरे ।
 
अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार फ्लिनले ट्रम्पका ज्वाइँ जारेड कुश्नरसहित राष्ट्रपतिका संक्रमणकालीन समूहका वरिष्ठ सदस्यहरुले रुसीहरुसँग सम्पर्क गर्न निर्देशन दिएको भन्ने बयान दिने तयारी गरेका छन् । फ्लिनले सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले गरेको भनिएको हस्तक्षेपबारेको अनुसन्धानमा आफूले सघाउने बताएका थिए ।
 
ह्वाइट हाउसले फ्लिनले अरु कसैलाई नभई आफैँलाई फसाएका जनाएको छ । ट्रम्पको चुनावी अभियान र मस्कोबीच भएको भनिएको साँठगाँठलाई लिएर छानविनमा परेका फ्लिन ट्रम्प प्रशासनका पहिलो पूर्व वरिष्ठ सदस्य हुन् ।
 
गत फेब्रुअरीमा ह्वाइट हाउसका एकजना प्रवक्ताले राष्ट्रपति डोनल्ड ट्रम्प फ्लिनले रुसी अधिकारीसँग गरेको टेलिफोन वार्ताका कुरा लुकाएकोबारे जानकार रहेको बताएका थिए । उनले कानून उल्लंघन गरेको कारणले नभई विश्वास गुमाएका कारण राष्ट्रपतिले फ्लिनको राजीनामा मागेको बताएका थिए । (एजेन्सी)