जीवन एक - मोड अनेक

पहिले थ्रीस्टार क्लबका क्याप्टन, अहिले अमेरिकाका सफल व्यवसायी दिनकर

1242 पटक पढिएको

हिमालयखबर | 4th Dec 2017, Monday | २०७४ मंसिर १८, सोमबार १९:५९

(जीवन अचम्मको छ । साधारण लाग्छ हेर्दा । तर बुझ्दै जाँदा यो गहिरो र रहस्यमयी  लाग्छ । सामान्य लाग्ने मानिसका पनि जीवनमा अनेक असमान्य घटना घट्छन् । कुनैबेला कसैको जीवनका ती अनुभवहरू अरुकालागि उदाहरण र प्रेरणा श्रोत बन्न सक्छन् । मानिसको जीवन त एउटै हुन्छ तर त्यहाँ धेरै मोडहरू पार गर्नु पर्ने हुन्छ । जीवनभित्र संघर्षका कथाहरू हुन्छन् । खुशी र उन्मादका क्षणहरु आउँछन् । आफूले कल्पनै नगरेका सफलताका मोडहरू फेला पर्छन् । यिनै सेरोफेरोमा हामीले, प्रवासमा बसेर समयसँग कुस्ती खेल्दै जीवनको यात्रालाई डोर्याइरहेका नेपालीहरूको खुशी अनि कथा व्यथा प्रस्तुत गर्ने  यो  स्तम्भ प्रारम्भ गरेका हौ  - सम्पादक )

मन उतै जाउँ भन्छ

अमेरिकाको चौथो ठूलो शहर ह्युस्टन ;अनि त्यहाँको मुख्य देशी बजार भनेर चिनिने हिलक्रफ्ट छेउमा हाइवे ५९ नजिकको ६७७६ नम्बरको  भव्य साउथवेस्ट एट्रिएमको चौथो तल्लामा एउटा शानदार अफिस छ । त्यो छ तल्ले भवन , चौथो तल्लाको अफिस तपाँइहरुलाई लाग्दो हो कुनै गोरे अमेरिकी  व्यवसायीको हो । तर हैन , त्यसका मालिक नेपाली उदीयमान व्यवसायी दिनकरगोविन्द अमात्य हुन् । उनलाई ह्युस्टनको नेपाली समुदाय मात्र हैन देशी र अमेरिकी मूलधार समाजले दिनकर भनेर चिन्दछ । 

शालीन , लजालु अनि लो-प्रोफाइल रुचाउने यी सफल नेपाली व्यवसायीको आफ्नै कथा व्यथाहरु छन् । उनको जीवन यात्राका मोडहरूले अनगिन्ति भोगाई बेहोरेका छन् ।  यो पंक्तिकारले आज उनै दिनकरको सफलताका कुरालाई चीरफार गर्ने प्रयत्न गरेको छ । 

को हुन्  दिनकर

दिनकरगोविन्द अमात्य

ललितपुर , पाटनको मंगलबजारमा सन् १९६२, फेब्रुवरी २० मा काँइलो छोरो भएर जन्मिएका दिनकरगोविन्द अमात्यको  प्रारम्भिक शिक्षा एभीएम हाइस्कुलमा भयो । बुबा पूर्णगोविन्द अमात्य र आमा नीरलक्ष्मी पाटनका हुनेखाने परिवारमा गनिन्थे । तत्कालीन अशोक सिनेमा हलका मालिक अमात्य परिवारको समाजमा राम्रो चिनारी थियो । दिनकरलाई आफ्नो बाल्यकाल र किशोरावस्थामा आर्थिक अभावको समस्या झेल्नु परेन । बुबा आमाको पाँचौ सन्तान भएपनि बात्सल्य प्रेममा कहिल्यै कन्जुसी सहनु परेन । दिनकर त्यसैले औसत नेपाली भन्दा भाग्यमानी नै मानिन्छन् । 

आफ्नो दाजु मधुकरले साइन्स पढेर इन्जिनियर बन्ने सपना बुनिरहेको देखेर दिनकरलाई पनि इन्जिनियर बन्ने रहर जाग्यो । हाइस्कुल सकेपछि  पुल्चोक इन्जिनियरिङ्ग कलेजबाट ओभरसियर पास गरे सन् १९८१ मा । ताहाचल कलेजमा बीकम पढ्न पनि कस्सिए ।  

त्यो समय रुसमा नेपाली विध्यार्थीहरु छात्रवॢत्तिमा पढ्न जाने लहर नै लाग्थ्यो।  दिनकरका दाजु मधुकर अमात्य उतै इन्जिनियरिङ गर्दै थिए ।सन् १९८३ मा दाजुको लहै लहैमा उनले रसियामा इलेक्ट्रीकल  इन्जिनियरिङ अध्ययन गर्ने स्कलरशीप भेट्टाए । तर त्यतिबेला रुसमा चरम आर्थिक संकटको अवस्था थियो । त्यहाँको बेथिति सुन्दा  दिनकरलाई रुसको छात्रवॢतिले तान्न सकेन । अर्कोतिर उनको दिमागले व्यापार व्यवसाय तिरै लाग्न संकेत गर्थ्यो । यस्तै दोधार मनस्थिति पाल्दापाल्दै दिनकर अमेरिका हानिए । 

रुसको इन्जिनियरिङतिर लागेको भए दिनकर शायद आजजस्तो सफल व्यवसायी नभएर  कुनै ठूलै प्रोजेक्टमा इलेक्ट्रिकल इन्जिनियरको जागीरे बन्थे । तर समय र अवसरलाई समात्ने हिम्मत गरेकै कारण उनी अहिले ह्युस्टन नेपाली समुदायमा भरपर्दो व्यक्तित्व मानिन्छन् । 

अमेरिकी मोह

दिनकर रुसको छात्रवॢत्ति त्यागेर  अमेरिका आउने अवसर जुटाइदिने  श्रेय दिदी अन्जली जैनलाई दिन्छन् । उनलाई अमेरिकी व्यवस्था र विकासले एकप्रकारको मोह जगाएको थियो । त्यो मोहमा अन्जली दिदीको मायाले मलजल गरिदियो । सन् १९८४ मा दिनकर ह्युस्टन उत्रिए ।

शुरुमा अस्टिन निक्कै धाए , त्यहाँ उनी  नेपालबाट ल्याएका ह्याण्डिक्राफ्ट सामानहरुको प्रदर्शनि र बिक्री गर्थे । ग्राहकहरुबाट अर्डर लिने अनि त्यसको वितरण गर्ने काम त्यति सजिलो थिएन । ह्युस्टनदेखि अस्टिन धाउनु पर्ने , होटलमा कन्फरेन्स रुम भाडामा लिएर त्यस्तो व्यापार गर्नुपर्थ्यो । त्यो व्यवसाय नफाप्ने संकेत हुन थाल्यो , दिदीको सुझावमा १९८४ मा ह्युस्टनको सेंटलुक्स टावरमा कार्डीयोलोजीको ट्रेनिङ लिएर काम शुरु गरे । 

सन् १९८६ मा सेभेन इलेभेनमा म्यानेजर भएर पनि काम गरे । उनलाई त्यतिबेलासम्म आफ्नै व्यापार गर्ने सोच मात्र हैन साहस नै आइसकेको थियो । व्यापार व्यवसाय गर्न एउटै ठाउँमा कोचिएर बस्न दिनकरलाई मन लागेन , एकजना साथीको संगतमा एटलान्टा गए १९८७ मा । त्यहाँ उनले मिनि मार्केट चलाउन थाले । त्यो व्यवसायले दिनकरलाई आर्थिकरुपमा पछुताउनु पर्ने त बनाएन तर त्योबेलाको एटलान्टाको असुरक्षाले भने सधैं त्रसित पार्न थाल्यो । सधैं असुरक्षित भएर व्यापार गर्नुभन्दा ह्युस्टन नै फर्किनु पर्छ भन्ने पारिवारिक दवाब भएपछि मनले खाएको त्यो व्यापार बेचेर १९९० मा उनी फेरि ह्युस्टन सरे । 

पसल नगर्ने परिवारको सल्लाह भयो , दिनकरले दुई वर्ष मेडिकल टेक्निसियन भएर काम गरे । Houston Provider management INC. मा मेडिकल विलिङ र कलेक्सनमा एकाउन्टिङको काम गरे । सन् १९९६ मा त्यहि किनेर मालिक बने । त्यो कम्पनी आज पनि उनैसंग छ । त्यसपछि उनले आजसम्म पछाडि फर्केर हेरेका छैनन् । 

त्यसो त दिनकरले १९९० ताका Tierra RealEstate Co. खोलेर काम शुरु गरे । पुराना घरहरु किनेर त्यसलाई रिमोडलिङ गरी बेच्न थाले । अहिले पनि त्यो रियल इस्टेट कम्पनीले काम गरिराखेको छ । दिनकर त्यतिले मात्रै थाक्ने कहाँ हुन् र ! सन् २००० मा Durable Medical Equipments Marketing Group खोले । आफ्ना दाजु मधुकर अमात्य त्यस्को अध्यक्ष छन् भने उनी  प्रमुख कार्यकारी अधिकॢत । अहिले उनको Southwest Atrium भित्र पारिवारिक सहभागितामा पाँच कम्पनीका अफिसहरु संचालित छन् । तर सुगरल्याण्डमा संचालनमा ल्याउने भनिएको मार्केट प्लेसको आयोजनाले  भने पूर्णता पाउन सकेन । 

सामुदायिक सक्रियता

 पशुपतिनाथ मन्दिरको भौतिक सम्पत्तिको स्वामित्वमा हस्ताक्षर गर्दै दिनकर । 

अमेरिकी मोहमा फसेपनि दिनकरले आफ्नो समुदाय र जन्मदेश विर्सेका छैनन् । उनको सामुदायिक सक्रियता जिवन्त छ, यहाँको मूलधारसंग पनि सामिप्यता बनाएका छन् । 

ह्युस्टनलाई अब दोश्रो घर भन्छन् दिनकर  । उनी अहिले पनि सम्झिन्छन् ,सन् १९९५ मा नेपालीहरुलाई संगठित पार्न केही साथीहरु मिलेर Nepalese society of Houston खोलेको । त्यतिबेला विनोद श्रेष्ठ , जलेश्वर श्रेष्ठ , दिदी अन्जली , नारायण दहाल , शेष शर्मा र आफू मिलेर बनाएको त्यो संस्था नै अहिले नेप्लिज एसोसिएसन अफ ह्युस्टनमा परिणत भएको छ ।

आफ्नै अफिसको बैठक कक्ष संस्थाकोलागि प्रयोगमा आउँथ्यो  त्यसबेला , आज  पनि एनएएचका बैठकहरु र अन्य सामान्य कार्यक्रमहरु दिनकरले उपलब्ध गराएको कक्ष मै संचालन हुन्छन् । अर्को अर्थमा भन्नुपर्दा एनएएचको आधिकारिक अफिस नै ६७७६ साउथवेस्ट एट्रिएम भएको छ । उनी अहिलेसम्म पनि त्यो संस्थामा सक्रिय छन् , थाकेका छैनन् ।

हाल ह्युस्टनमा निर्माण हुन लागेको बहुप्रतिक्षित पशुपतिनाथ मन्दिर एवम् नेपाली सामुदायिक केन्द्रको अहिलेको प्रारुपसम्म ल्याउन   दिनकरले खेलेको भूमिकालाई नेपाली समुदायले उच्च मूल्यांकन गरेको छ । यसअघि पनि गुजराती समुदायले संचालन गरेको राधाकॢष्ण मन्दिरसंग सामन्जस्य गर्दै  पशुपतिनाथ मन्दिर संचालक समितिको पाँच वर्ष अध्यक्ष भएर समुदायको मन जिते । 

नेपाली सामुदायिक केन्द्र एवम् पशुपतिनाथ मन्दिरको जग्गा र भौतिक सम्पत्तिको स्वामित्व नेप्लिज एसोसिएसनको नाममा ल्याउने कार्यकोलागि बनाइएको समितिको संयोजक भएर उनले सामाजिक अभियन्ताको भूमिका राम्ररी निभाए । अहिले उनी एनएएचको सल्लाहकार छन् । पदको आसक्ति छैन दिनकरमा , लो-प्रोफाइल रुचाउँछन् । तर आफ्नो समुदायलाई चाहिएको बेला उनको सक्रियता अलिकति पनि  कम भएन । संस्थाका हरेक कार्यक्रमहरुलाई सहयोग गर्छन् । साथीभाईको मन दुखाउँदैनन् । त्यसैले त ह्युस्टनमा दिनकरको न्यानो ताप कहिल्यै सेलाएको छैन । 

भन्छन् - एसोसिएसन मलाई आफ्नै परिवारको मायालु सदस्यजस्तो लाग्छ । 

मूलधारमा पनि सक्रिय

 ह्युस्टनका मेयर टर्नरसंग् 

दिनकर अमात्यको सक्रियता आफ्नो समुदायमा मात्र सीमित छैन, सिटी अफ ह्युस्टनले  उनको व्यवसायीक दक्षताको सदुपयोग गर्दैछ । सन् २००६ मा ह्युस्टनका तत्कालीन मेयर वील ह्वाईटले दिनकरलाई दुई वर्षकोलागि अन्तर्राष्ट्रिय मामिला तथा विकास परिषदमा नियुक्त गरेका थिए । अहिलेका मेयर टर्नरले दिनकरको व्यवसायीक शीपको सम्मान गर्दै Mayor’s International Community Board मा नियुक्त गरेका छन् । दिनकर ह्युस्टनका पहिलो नेपाली हुन् जसलाई सिटी अफ ह्युस्टनले सन् २००६ देखि नै सम्मान दिंदै आएको छ । 

त्यो बोर्डले ह्युस्टनको दक्षिण एशियाली समुदायमा व्यापार प्रवर्ध्दन तथा दक्षिण एशियाली शहरहरु बीच व्यापारिक सम्बन्ध विस्तार गर्न मेयरलाई सहयोग गर्छ । यसभित्र विश्वका विभिन्न देशका स्थापित आप्रवासी अमेरिकी नागरिकहरुको प्रतिनिधित्व हुन्छ । 

 ह्युस्टनमा दिनकर अमात्य यति मात्रै हैन भारतीय र पाकिस्तानी समुदायमा पनि  परिचित नेपाली नाम हो । 

फुटबलर दिनकर

५५ वर्ष उमेरमा पनि दिनकरलाई फुटबलको नशाले छोडेको छैन । नेपालको चर्चित राष्ट्रियस्तरको फुटबल क्लब थ्रीस्टारका संस्थापक , कुनैबेलाका टीम क्याप्टन , सेन्टर फर्वाड , उनको खुट्टामा गोल परेपछि पोष्टमा नपुगि थामिदैन थियो । सन् १९७३ मा स्थापना भएको उक्त क्लबलाई  लीग प्रतियोगितामा ए -डिभीजनमा नपुर्याइ विश्राम नलिने अठोट लिएका फुटबलर दिनकरले त्यो पुरा गराएरै छोडे । अहिले थ्रीस्टार नेपालको सर्वाधिक सफल मात्र हैन धनी क्लबमा गनिन्छ । 

आफ्नो क्लबकोलागि उनी बेलाबेला नेपाल पुग्छन् । थ्रीस्टारलाई यो सम्पन्नतामा पुर्याउन दिनकरले ठूलै कसरत गरेका छन् । अहिले पनि क्लबलाई आर्थिक सहयोग गर्छन् । थ्रीस्टारप्रतिको लगाव नै हो ह्युस्टनमा पनि त्यसैको नाममा फुटबल क्रेजलाई अघाडि बढाउने प्रयत्न गर्दैछन् । विजय वोखिम र दीपक रायमाझीलाई दिनकरले थ्रीस्टार ह्युस्टनको जिम्मेवारी सुम्पेका छन् । ह्युस्टनमा एनएएचले आयोजना गर्ने प्रत्येक फुटबल प्रतियोगितामा सक्रिय सहभागिता जनाउँछन् । आफ्नो उमेर विर्सेर फुटबलसंगै ग्राउण्डमा रमाउँछन् । 

नेपालका प्रशिध्द फुटबल क्लबहरु एनआरटी र आरसीटीबाट समेत खेलेका दिनकर एअर फ्रान्सको टीमबाट पनि तीन वर्षसम्म खेले । 

दिदीहरुले मिलाएको जोडी

दिनकर र उनकी पत्नी आइरिन

लजालु स्वभावले गर्दा  दिनकर अमात्य जवानीमा केटीहरुसंग त्यति चाँडो घुलमिल हुन अप्ठ्यारो मान्थे शायद । त्यसैले आइरिन र दिनकरका दिदीहरु अघाडि सरेर उनीहरुको सम्बन्ध जुटाइदिए । दुबैका दिदीहरु साथी भएको फाइदा उनीहरुको विवाह बन्धनसम्म पुग्ग्यो , सन् १९९१ मा दिनकर र आइरिनको विवाह भयो । 

आइरिन त्यतिबेला त्रिपुरेश्वरको दूरसंचार कार्यालयमा काम गर्थिन ।

विवाह अघि भेटघाट मुश्किल थियो , चिट्ठीपत्र मात्र आदान प्रदान हुन्थ्यो  - दिनकरको कार्यकक्षमा आइरिनले यसो भनिरहंदा लजालु भएर उनले सुनिरहे । 

त्यति राम्रो जोडी छुट्टिएर एक्लै बस्न’ कहाँ सक्थ्यो ! बिवाह भएको दुइमहिनामै दिनकर आइरिनलाई लिएर ह्युस्टन फर्किए । समयको रफ्तार कहाँ थामिन्छ र ! अहिले उनीहरु दुइबाट चार भैसकेका छन् । छोरो डेभीन र छोरी एलिना सहितको सुखी परिवार छ । डेभीन यूनिभर्सिटी अफ टेक्सासमा इलेक्ट्रिकल इन्जिनियरिङ गर्दैछन् , एलिना प्लस टू । 

 दम्पत्ति र छोरा छोरीसंग

ग्रेटर ह्युस्टनको सुगरल्यान्डका  स्थायी वासिन्दा अमात्य परिवार समुदायको हरेक क्रियाकलापमा सक्रिय देखिन्छन् । आइरिनले दिनकरलाई अफिस व्यवस्थापनका काममा सधैं सहयोग र समर्थन् गर्छिन् । 

दिनकर,  आइरिनले परिवार र आफ्नो व्यवसायमा  पुर्याएको सहयोग र समर्थनको प्रशंसा गर्न विर्सिदैनन । 

यति राम्रो जोडीको कुनैबेला रातो मुख हुन्छ कि हुदैन होला ?

मेरो अप्रत्यासित प्रश्नमा  आइरिनले सजिलै भनिन् - किन नहुनु , हुन्छ नि ! तर त्यो राम्रोकोलागि हुन्छ , केही क्षणकोलागि हुन्छ । 

मन उतै जान्छ

 अशोक पार्टी प्यालेस

यताको सामाजिक परिवेस हेर्दा बुढेसकाल नेपाल मै बिताउनु पर्लाजस्तो लाग्छ । छोरा छोरीको भविष्य हेर्दैछौं । उनीहरु यहाँ सेटल भएपछि ढुक्क हुन्छ । त्यसपछि भने आफ्नो व्यस्त जीवनलाई शान्ति र आराम दिन उतै जानु पर्छ । " रिटायर्ड लाइफ " यहाँ कठीन छ - दिनकरले यसो भनेर सर्वाधिक प्रवासी नेपाली मनको व्यथा पोखे । 

नेपालमा अहिले पनि उनको जायजेथा राम्रो छ ।  तीन वर्ष अघि आमाको निधनले पुर्याएको दुख अझै आलो छ उनीसंग ।  ९३ वर्षीय बुबा उतै हुनुहुन्छ , उहाँको मायाले पनि उतै तान्ने गर्छ दिनकरलाई । 


कुनैबेलाको चर्चित अशोक सिनेमा हललाई आफैंले ठूलो लगानी गरेर अशोक पार्टी प्यालेस बनाएका छन् । त्यससंग  पनि उनको लगाव छ । आफूले जन्माएको थ्रीस्टार क्लब छ, त्यसप्रति आफ्नो दायित्व छंदैछ । शायद यीनै कुराहरुले दिनकरलाई नेपाल सम्झाइरहन्छ । 

Email: tbaral09@gmail.com

हिमालयखबर डट कमको विश्वसनीय समाचार, तथ्यपूर्ण विश्लेषण, सन्तुलित विचार अनि व्यवसायीक पत्रकारिता लागि अफिसियल फेसबुक , यूटुब र ट्वीटर मार्फत जोडिनुहोस् ।