मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

दश बर्षमा २५ हजार नेपालीले प्राप्त गरे अमेरिकाको नागरिकता

दश बर्षमा २५ हजार नेपालीले प्राप्त गरे अमेरिकाको नागरिकता


अमेरिका- विगत १० बर्षमा झण्डै २५ हजारले नेपालीले नेपालको नागरिकता छाडेर अमेरिकाको नागरिकता लिएका छन् । अमेरिका सरकारको आप्रावासी (इमिग्रेशन) सम्वन्धि मुख्य निकाय डिपार्टमेण्ट अफ होमल्याण्ड सेक्यूरिटीज (डीएचएस)ले विहिवार सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार सन् २०१६ मा मात्र ५ हजार ४ जना नेपालीले अमेरिकाको नागरिकता प्राप्त गरे । 
 
डिएचएसले दिएको तथ्यांक अनुसार सन् २००७ देखि २०१६ सम्म २४ हजार ९१९ जनाले नेपालीले अमेरिकाको नागरिकता लिएका छन् । अमेरिकाको डीएचएस नेपालको गृहमन्त्रालय जस्तै निकाय हो । 
 
हालसम्म नेपालको कानुन अनुसार दोहोरो नागरिकता दिन पाइंदैन । नेपालको कानुनमा विदेश नागरिकता स्विकारेपछि स्वत नेपाली नागरिकता खारेज हुने प्रावधान छ । नयाँ संविधानमा विदेशमा वस्ने नेपालीलाई गैर आवासिय नागरिकता दिने उल्लेख भएपनि यो अहिलेसम्म कार्यान्वयनमा आएको छैन । यस सम्वन्धि ऐन कानुन वन्ने प्रकृयामै छ ।
 
अमेरिकाको नागरिकता लिने नेपालीको संख्या विगत १० वर्ष यता निरन्तर भईरहेको छ । सन् २००७ मा जम्मा ६३८ जनाले नेपालको त्यागेर अमेरिकी नागरिकता लिएका थिए । त्यसयता यो संख्या निरन्तर बृद्धि भईरहेको छ । सन् २०१५ मा ४ हजार २२५ नेपालीले अमेरिकी नागरिकता प्राप्त गरेका थिए । 
 
डीभी लटरीमा आउने नेपालको संख्या बृद्धि हुदैं गएकाले अमेरिकाको नागरिकता प्राप्त गर्ने नेपालीको संख्या बृद्धि हुदैं गएको हो ।  डीभी लटरी ग्रिनकार्ड पाउने सवैभन्दा सजिलो माध्यम हो । 
 
अमेरिकामा काम गर्न र स्थायी बसोबासका लागी चाहिने ग्रिनकार्ड लिएको करिव ५ बर्षमा अमेरिकाको नागरिकताका लागि निवेदन दिन सकिन्छ । अपराध गरेको वा संलग्न भएको कुनै रेकर्ड छैन भने नागरिकता पाइन्छ । 
 
नागरिकता लिएपछि अमेरिकाको पासपोर्टमा यात्रा गर्न पाइन्छ । नेपाल वा भारत जाँदा भने शुल्क तिरेर भिसा लिनु पर्छ । यस वाहेक वैवाहिक सम्वन्ध, आश्रय (एजाइलम), रोजगारी लगायतका आधारमा ग्रिनकार्ड पाउनेले पनि पाँच बर्षमा नागरिकताका लागि आवेदन दिन सक्छन् । 
 
अमेरिकाको नागरिकता लिएपछि सबै तहको निर्वाचनमा भोट दिन लगायत यहाँको जन्मसिध्द नागरिक सरह बस्न र काम गर्न पाइन्छ । केही रोजगारीमा अमेरिकाका नागरिकलाई मात्र प्रथामिकता दिईएको छ । 
 
हाल अमेरिकीलाई रोजगारी देऊ भन्ने नारा पनि आईरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पलेले रोजगारमा अमेरिकीलाई प्रथामिकता दिन आव्हान गरिरहेका छन् । हालको ह्वाइट हाउसको नीतिले पनि नागरिकता पर्ने अवस्था छ । 
 
डीएचएसको तथ्यांक अनुसार सन् २०१६ मा ७ लाख ५३ हजार ६० विदेशीले अमेरिकाको नागरिकता प्राप्त गरेका छन् । यो अघिल्लो बर्षको भन्दा केही हजारले वढी हो । सन् २०१५ मा ७ लाख ३० हजार २५९ विदेशीले अमेरिकाको नागरिकता लिएका थिए । नागरिकताका लागि सन् २०१६ मा निवेदन दिनेको संख्या भने ९ लाख ७२ हजार १५१ थियो । जसमध्ये ८६ हजार ३३ को निवेदन अस्विकार भएको छ । 
 
गत बर्ष सवैभन्दा वढी अमेरिकाको नागरिकता पाउनेमा मेक्सिकोका नागरिक छन । अमेरिकासँग जोडिएको मेक्सिकोका १ लाख ३ हजार ५५० जनाले सन् २०१६ मा अमेरिकाको नागरिकता प्राप्त गरे । दोस्रो नम्बरमा भने भारतीयहरु छन् । गत बर्ष भारतका ४६ हजार १८८ ले अमेरिकाको नागरिकता प्राप्त गरेका थिए । 
 
विश्वकै सवैभन्दा वढी जनसंख्या भएको चीनका करिव ३६ हजारले अमेरिकी नागरिकता पाए । अमेरिकाको नागरिकता प्राप्त गर्नेमा मामिलामा गत बर्ष भुटानले नेपाललाई उछिनेको छ । सन् २०१६ मा ५ हजार ५६३ भुटानीले अमेरिकाको नागरिकता लिए । 
 
सन् २००७ मा अमेरिकाको नागरिकता लिने भुटानीको संख्या १० मात्र थियो । सन् २०१३ सम्म पनि यो संख्या तीन सय भन्दा कम थियो । सन् २०१४ वाट अमेरिकाको नागरिकता लिने भुटानीको संख्या वढ्न थालेको हो । यो वढ्नुको मुख्य कारण लामो समय देखि नेपालमा बसिरहेका नेपाली भाषी भुटानी शरणार्थी पुर्नवासका लागि अमेरिका आउनु हो ।
 
फिलिपिन्सका नागरिक अमेरिकाको नागरिकता प्राप्त गर्नेमा चीनभन्दा पनि अघि छन् । सन् २०१६ मा ४१ हजार २८५ फिलिपिनोले अमेरिकाको नागरिकता पाए । यस पछि अमेरिकाको नागरिकता लिनेमा डेमोनिक रिपव्लिक, क्यूवा, भियतनाम, कोलम्बिया, एलसाल्भाडोर, हाइटी, पाकिस्तान, पेरु, इराकका नागरिक वढी छन् ।
 
सन् २०१६ मा सवैभन्दा कम स्विजिल्याण्डका ८ जनाले मात्र अमेरिकाको नागरिकता प्राप्त गरे । युरोपको धनी देश लग्जेवर्गका १८ जनाले मात्र अमेरिकाको नागरिकता लिए । नर्थ कारियाका १६ जनाले अमेरिकाको नागरिकता प्राप्त गरे ।
 
अमेरिकाको नागरिकता लिनेमा एशियाली राष्ट्रका नागरिकको संख्या सवैभनदा वढी छ । एशियाली देशका २ लाख ७१ हजार ७३३ ले गत बर्ष अमेरिकाको नागरिकता लिए । यसपछि दक्षिण अमेरिकाका नागरिक पर्छन । यस क्षेत्रका २ लाख ५९ हजार ८४५ ले अमेरिकाको नागरिकता प्राप्त गरे । युरोपका ७४ हजार ३४४ र अफ्रिकाका ७२ हजार ३३८ ले अमेरिकाको नागरिकता लिए ।
 
कुन बर्षमा कतिले नेपालीले अमेरिकाको नागरिकता लिए