मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवन ३ मा प्रचण्ड र पाण्डेमा कसले मार्ला बाजी ?

चितवन ३ मा प्रचण्ड र पाण्डेमा कसले मार्ला बाजी ?


हिमालय खबर संवाददाता
नारायणगढ– चितवन फेरि देश–विदेशभर चर्चामा छ । स्थानीय निर्वाचनमा प्रचण्डपुत्री रेणु दाहाल र एमालेका देवी ज्ञवालीबीच भरतपुर महानगरमा चुनावी प्रतिस्पर्धा र कसले बाजी मार्छ भन्ने चासो देशविदेशमा रहने नेपालीले देखाएका थिए । 
 
रेणु दाहाल र देवी ज्ञवाली चर्चित र लोकप्रिय नेता थिएनन् । देशभर तरंग ल्याउने ऊर्जा पनि उनीहरुमा थिएन र छैन । तथापि उनीहरु नै देश विदेशमा छाए । त्यसको कारण थियो– कांग्रेसको बुई चढेर भरतपुर महानगरमा मेयरकी प्रतिस्पर्धी बनेकी रेणु र एमालेले कांग्रेसको किल्ला तोडेर इतिहास रच्ने अभीप्साबीचको लडाइँ । 
 
तर, अहिले परिस्थिति फेरिएको छ । रेणु र देवीको महानगरीय भिडन्तको टुंगो लागेको छ । महानगरको मेयरको ताज रेणुले भिरेकी छन् । र, सडकसम्मै असन्तोषको आगो ओकल्ने देवी साम्यमात्रै भएका छैनन् । रेणुको दोस्ती र प्रचण्डको काँध थाप्ने राजनीतिक पहरेदारसमेत बनेका छन् । 
 
राजनीतिमा अनेक हुन्छ । असंभव संभव भइदिन्छ, संभव असंभवमा बदलिन्छ । मित्र दुश्मन र दुश्मन मित्र यही राजनीतिभित्रै हुन्छ । यही खेलभित्र अर्को भिडन्त हुँदैछ चितवनमा । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट राजनीतिक मैदानमा छन्– दुई हस्ती माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष एवम् वर्तमान वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डे । 
 
प्रचण्ड वाम गठबन्धनका तर्फबाट मैदानमा छन् भने पाण्डे लोकतान्त्रिक गठबन्धनबाट । वाम गठबन्धनले एमाले र माओवादी केन्द्रको मतबाट प्रचण्डले बाजी मार्ने विश्लेषण गरेको छ भने नेपाली कांग्रेसको प्रभाव क्षेत्र र राप्रपा प्रजातान्त्रिक एवम् पाण्डेको आफ्नै मतदाता रहेबाट पाण्डेले चुनाव जित्ने दाबी लोकतान्त्रिक गठबन्धनको छ । 
 
प्रचण्डले सो क्षेत्रलाई आफ्नो गृहजिल्ला मान्दै आएका छन् । पाण्डेले संविधानसभामा विजयी बनिसकेको र आफू यही क्षेत्रको स्थानीयसमेत रहेकाले आफूलाई मतदाताले रोज्ने दाबी गर्छन् । 
 
रोचक पक्ष त के छ भने, प्रचण्ड प्रधानमन्त्री हुँदा विक्रम पाण्डे भूमिसुधार तथा व्यवस्था मन्त्री थिए । एउटै मन्त्रिमण्डलमा रहेर काम गरेका प्रचण्ड र पाण्डे अहिलेको निर्वाचनमा आमनेसामने छन् । प्रतिनिधिसभा सदस्यका लागि दाहाल र पाण्डेबीचको प्रतिस्पर्धा चर्चामा छ । संविधानसभा निर्वाचनमा रोल्पा, काठमाडौँ, सिरहाबाट उठेका प्रचण्ड यसपटक गृहजिल्ला चितवनको क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका उम्मेदवार हुन् ।
 
निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न उनले प्रचार अभियान तीव्र पारेका छन् । उनले घरदैलो तथा चुनावी सभाहरुमा सपनामा मात्र होइन, विपनामा नै चितवनमा रेल आउने आश्वासन बाँडेका छन् । 
 
भरतपुर–२४ स्थित दीपचोकमा आयोजित वाम गठबन्धनको चुनावीसभामा प्रचण्डले अब चितवनवासीको सपना विपनामा परिणत हुने बताउँदै ‘ल्हासा–लुम्बिनी रेलमार्ग अब सपनामात्र होइन, विपना हुँदैछ, कृष्णनगर–बुटवल हुँदै चितवनमा रेल आउँछ । त्यो रेल चितवनबाट हेटौँडा पुग्छ ।’ भने । 
 
प्रचण्डलाई वन तथा भूसंरक्षणमन्त्री पाण्डेले चुनावी मैदानमा चुनौती दिएका छन् । राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष पाण्डे लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हुन् । उनले पनि मतदातालाई आफ्नो पक्षमा पार्न कुनै कसर बाँकी राखेका छैनन् ।
 
प्रचण्डलाई जिताउन एमाले र पाण्डेलाई जिताउन कांग्रेस कार्यकर्ता लागिपरेका छन् । निर्वाचन प्रचारका लागि सामाजिक सञ्जालको प्रयोग बढी देखिएको छ । प्रचण्डका लागि सबैभन्दा बढी चुनौती कांग्रेस कार्यकर्ता देखिएका छन् ।
 
पाण्डेले पनि चुनावी कार्यक्रमलाई तीव्र पार्नुका साथै घरदैलो र चुनावी सभामा व्यस्त छन् । उनले भनेका छन्, ‘म यो भूमि र यहाँका जनतासँग भिजेको छु’, उनले भने, ‘मलाई सबैले चिनेका छन्, विकास र जनताको माया नै मेरो जितको आधार हो ।’ 
 
उम्मेदवार पाण्डेले प्रस्तावित ठोरी–केरूङ मार्ग माडी क्षेत्र समेटेर निर्माण गर्न पहल गर्ने बताएका छन् । माडीमा लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावी घरदैलो कार्यक्रममा सहभागी भएका पाण्डेले ठोरीबाट भण्डारा जोड्ने गरी सडक विस्तार भएमा माडी विकासमा पछि पर्ने बताएका छन् ।
 
‘गोविन्दबस्तीबाट सोझै भण्डारा जोड्ने गरी सडक निर्माण गर्ने चलखेल बढेको भन्दै उनले ‘हुलाकी मार्ग वा रिउ किनारको निकुञ्जको बाटो हुँदै माडी–जगतपुर–भरतपुर हुँदै सडक विस्तार गर्ने आश्वासन दिए ।
 
उनले चीन र भारतको व्यापारिक नाका जोड्ने मार्गका रुपमा रहेको ठोरी–केरुङ सडकले माडी भूभागलाई समेट्नुपर्नेमा जोड दिएका छन् । लोकतान्त्रिक गठबन्धन चितवन क्षेत्र नम्बर ३ को साझा प्रतिबद्धतापत्रमा समेत ठोरी केरुङ सडक निर्माण गर्दा माडीका साविक गाविसलाई समेटेर विकास गर्ने उल्लेख गरिएको छ । 
 
यसअघि कांग्रेससँग गठबन्धनको मत पाएर प्रचण्डपुत्री रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएकी थिइन् । मेयरमा जितेपछि वाम गठबन्धन गरेको भन्दै कांग्रेस कार्यकर्ता माओवादीसँग रुष्ट भएका छन् । त्यसको लाभ पाण्डेले लिनसक्ने आँकलन गरिएको छ । 
 
सोही क्षेत्रअन्तर्गत पर्ने माडीको बाँदरमुढे घटनाका कारण पनि माओवादीले आलोचनाको सामना गर्नुपरेको छ । सशस्त्र द्वन्द्वकालमा माओवादीले सार्वजनिक बसमा बम प्रहार गर्दा ३८ जनाको ज्यान गएको थियो । उनले माडी पुगेर द्वन्द्वकालको सबैभन्दा ठूलो गल्ती भन्दै माफीसमेत मागेका छन् । 
 
क्षेत्र नम्बर ३ मा एक लाख २५ हजार आठ सय २३ मतदाता छन् । प्रचण्ड र पाण्डेसहित १४ जना उम्मेदवार चुनावी मैदानमा छन् । यीमध्ये ६ जना स्वतन्त्र उम्मेदवार हुन् ।
 
प्रचण्ड र पाण्डेमा कसले बाजी मार्ला भन्ने व्याख्या र विश्लेषण आ–आफ्नै तरिकाले भइरहेको छ । लोकतान्त्रिक र वाम गठबन्धनको आफ्नै पुष्टि र दाबी छ । तर, दुवै उम्मेदवार आ–आफ्ना रणनीति बोकेर चुनावी प्रतिस्पर्धामा जुटेका छन् । कसले बाजी मार्छ भनेर जान्न मंसिर २१ गतेको निर्वाचनपश्चात् मतगणनाबाटै निक्यौल हुने देखिन्छ । 
हिमालयखबर डट कमको विश्वसनीय समाचार, तथ्यपूर्ण विश्लेषण, सन्तुलित विचार अनि व्यवसायीक पत्रकारिता लागि अफिसियल फेसबुक , यूटुब र ट्वीटर मार्फत जोडिनुहोस् ।