मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

मेघौली विमानस्थल खुल्यो, नियमित उडान सुरू

मेघौली विमानस्थल खुल्यो, नियमित उडान सुरू


चितवन– पश्चिम चितवनको मेघौली विमानस्थलमा नियमित उडान सुरू भएको छ । 
 
चितवनको निकै पुरानो सो विमानस्थल पछिल्लो सात वर्षदेखि बन्द भएको थियो । बुधबारदेखि नेपाल वायु सेवा निगमको ट्वीनअटर विमानले उडान सुरू गरेको हो । आइतबार, बुधबार र शनिबार सो विमानस्थलबाट काठमाडौंसम्म नियमित उडान हुने विमानस्थल कार्यालयले जनाएको छ ।
 
‘हप्तामा तीन दिन एक एक नियमित उडान हुने छ’ विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर केशव लम्सालले भने । लम्सालका अनुसार सो विमानस्थल विसं २०६७ सालको मंसिरदेखि बन्द थियो । 
 
विसं २०१७ सालमा स्थापना भएको सो विमानस्थलमा चितवन निकुञ्जभित्र रहेको टाइगर टप्स जंगल लजमा आउने पाउनाहरु ल्याएको विमानहरुले उडान भर्दै आएका थिए ।
 
सरकारले निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने निति बनाएपछि ६९ सालको मंसिरदेखि विमानस्थल बन्द भएको थियो ।
 
‘नभए कुनै बेला मेघौली एयरपोर्टमा १० वटासम्म जहाज उड्ने उत्रने गर्दथे । सबै जहाजमा टाइगर टप्स जंगल लजमा आउने खास गरेर विदेशी पाहुनाहरु नै हुने गर्दथे’ एयर ट्राफिक कन्ट्रोलर लम्सालले जानकारी दिए । सो विमानस्थलमा ४५ जना अट्ने एभ्रो विमानसम्म उड्ने तथा उत्रने गर्दथे ।
 
बेलायतकी महारानी एलिजाबेथ चितवन आउँदा उनको विमान मेघौली एयरपोर्टमै उत्रेको इतिहास छ । विमानस्थलका अधिकारीहरुका अनुसार ५० सालतिर एभ्रो विमान सो विमानस्थलमा दुर्घटना भएको थियो । यात्रुलाई खासै केही नभए पनि जहाज क्षतिग्रस्त भएको थियो । 
 
त्यसपछि विसं २०५५ सालदेखि सरकारले विमानस्थलमा आधुनिक उपकरणयुक्त टावर राखेको थियो । माओवादी सशस्त्र संघर्षका बेलामा सो टावरमा पनि आक्रमण भएको थियो ।
 
काठमाडौँबाट उडेको करिब आधा घण्टामा विमान मेघौली अवतरण हुन्छ । हवाइ भाडा नेपालीका लागि एकतर्फी तीन हजार १६५ रूपैयाँ र विदेशीका लागि ९९ सय डलर कायम भएको छ । सदरमुकाम भरतपुरबाट २५ किलोमिटर टाढा पश्चिममा सो एयरपोर्ट रहेको छ । काठमाडौँ भरतपुरको एकतर्फी भाडा योभन्दा धेरै छ ।
 
‘पर्यटकका साथै स्थानीयले पनि यहाँबाट सुविधा पाउने सम्भावना छ’ मेघौलीका स्थानीय तथा मेघौली पर्यटन विकास समितिका उपाध्यक्ष हरिचन्द्र महतोले भने । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले मेघौलीको पर्यटन विकासमा हवाइ उडानले निकै मद्दत गर्ने बताए । चितवन पर्यटन विकास समितिका महासचिव विश्वराज सुवेदीले पश्चिम चितवनको पर्यटन उकासिने समय आएको बताए ।
 
‘मेघौलीमा राम्रा र ठूला होटलहरु छन् । विदेशी पर्यटकहरु लगातार आइरहेका छन् । मुग्लिन–नारायणगढ सडकको दुरावस्थाले हवाइमार्गबाट पर्यटक ल्याउनु पर्ने बाध्यता छ । भरतपुरको साटो सिधै मेघौली नै पर्यटक बोकेका जहाज उत्रने भएपछि धेरै राम्रो भयो’ महासचिव सुवेदीले भने । यात्रुको चाप बढे सातै दिन उडान हुने सम्भावना रहेको अधिकारीहरुले बताएका छन् । 
 
हिमालयखबर डट कमको विश्वसनीय समाचार, तथ्यपूर्ण विश्लेषण, सन्तुलित विचार अनि व्यवसायीक पत्रकारिता लागि अफिसियल फेसबुक , यूटुब र ट्वीटर मार्फत जोडिनुहोस् ।