मनोरञ्जन

‘जोगी’ हुन नसकेको एउटा निर्देशक, ‘नाइँ नभन्नु ल-९’ सम्म बनाउने योजना

127 पटक पढिएको

ध्रुव लम्साल | 23rd Nov 2017, Thursday | २०७४ मंसिर ७, बिहीवार ११:१५

 

निर्देशक बन्नुअघिको प्रसंग हो । उनले जोगी हुने असफल प्रयास गरेका रहेछन् । त्यसबेला उनलाई भौतिक जीवनप्रति नै दिक्दारी लागेको थियो ।

भौतिक सुख, सविधा केही होइन भन्दै उनी ‘वास्तविक जीवनको खोजी’मा लागेका थिए । उनका अधिकांश समय पशुपतिमा बित्थे । पशुपति परिसर मात्रै होइन, घरमा बस्दा पनि उनी प्रायः ध्यानमै रमाउँथे । डेढ वर्ष उनी ध्यानमै लीन भए ।

‘चुनचुन बाबा र परमानन्द बाबाको संगतमा परेपछि मैले वास्तविक जीवन जप र ध्यानमै भेटें,’ निर्देशक विकास आचार्य ती दिन सम्झिन्छन् ।

विकासका दाजु शैलेश आचार्य चल्तिका फिल्मकर्मी थिए । निर्देशक नारायण पुरीसँग शैलेशको दोस्ती थियो । एकअर्काको घरमा आउने-जाने क्रममा निर्देशक पुरी र शैलेशबीच चलचित्र निर्माणका विषयमा बाक्लै छलफल हुन्थ्यो । र, विकास आचार्य कहिलेकाहीं त्यही छलफल सुनेर बस्थे ।

सोही क्रममा निर्देशक पुरी विकास आचार्यलाई बारम्बार भन्ने गर्थे, ‘तपाईंजस्तो मान्छे तपस्यामा बसेर हुन्न । आउनुस् यो भौतिक संसारको उपयोग गरौं, फिल्म क्षेत्रमा नाम र दाम दुवै छ ।’

विकासलाई निर्देशक पुरीको सल्लाहले छोएछ ।

निर्देशक पुरी त्यसबेला चलचित्र ‘दोमन’ बनाउँदै थिए । स्क्रिप्ट लेखनमा बसेका विकास चलचित्रको सुटिङ स्पटमा पनि गए । सुटिङमा जाँदा-आउँदा विकासले भौतिक सुख, सुविधाको अनुभुति गर्न थाले । अर्को चलचित्र ‘मामाघर’मा उनले ‘फुल स्क्रिप्ट’ लेखनको जिम्मा पाए । यही कारण आफू निर्देशक बन्नुको श्रेय अहिले पनि विकास निर्देशक पुरीलाई नै दिन्छन् ।

विकासलाई सम्झना छ, पहिलो फिल्म लेखेवापत उनले ३१ हजार रुपैयाँ पारिश्रमिक पाएका थिए । पहिलो फिल्मले राम्रै व्यापार गर्‍यो । पुरीकै निर्देशनमा अर्को फिल्म लेखे ‘कर्तव्य’ । बजारले ‘कर्तव्य’लाई पनि हिट भनेपछि पछाडि फर्किनु परेन, उनलाई ।

‘गुड रिजल्ट’ले रोक्यो हिरो 

चालीसको दशकमा विकास आचार्य कीर्तिपुरमा माटर्स पढ्दै थिए । नाट्यसंस्था आरोहणबाट केही नाटकमा अभिनय गरिसकेका थिए । सरोज खनाल, विकास आचार्य, पुरन जोशी, कृष्टि मैनाली, सुनिल थापालगायतलाई लिएर कथानक चलचित्र ‘अरुणिमा’ बन्ने भयो ।

चलचित्रमा मुख्य भूमिकामै उनको कुरो भएको थियो । उनी चलचित्रमा हिरो बन्ने तयारीमा लागे । सुटिङ शुरु भइसकेको थिएन । ठीक त्यसैबेला मास्टर्स पहिलो वर्षको रिजल्ट भयो ।

‘त्यही रिजल्टले मेरो हिरो बन्ने सपना तुहाइदियो,’ विकासले भने, ‘सोचेभन्दा निकै राम्रो रिजल्ट आयो ।’

परीक्षामा उनी आफ्नो विभागमा प्रथम भएका थिए भने सिंगो मानविकी संकायमा दोस्रो । उनले पढाइमै केन्दि्रत हुने निर्णय गरे । फिल्मतिर लागेपछि पढाइ बिथोलिने हो कि भनेर उनले सहायक भूमिका रोजे ।

पहिलो दिन नर्भस

नाटक र टेलिफिल्ममा अभिनय गरिसकेकाले विकासलाई अभिनय केही होइनजस्तो लागेको थियो । चलचित्रमा पहिलो दिनको इन्डोर सुटिङ थियो । कलाकारहरु पुरन जोशी, कृष्टि मैनाली, सुनिल थापा आएका थिए ।

विकासले लामै संवाद बोल्नुपर्ने थियो । निर्देशकले ‘एक्सन’ भने तर विकासको वाक्यै फुटेन । अक्क न बक्क भए । अनुहार रातो पिरो भयो । लगभग एउटै सिनमा नौ टेक खाए । तर, दोस्रो दिनदेखि उनलाई खासै समस्या भएन ।

निर्देशक बनेको दिन पनि विकासलाई त्यस्तै समस्या परेको थियो । ‘नसिब आफ्नो’को निर्देशन गर्ने भएपछि सुमन शाहीलाई मुख्य सहायक निर्देशक बनाएका थिए । क्यामेरा र लाइटको प्राविधिक ज्ञान थिएन । सुमनले नै उनलाई प्रविधिमा सघाउने जिम्मा लिएका थिए ।

पहिलो दिनको सुटिङ पूरानो बानेश्वरस्थित कुमारी कम्प्लेक्समा थियो । जीवन लुइँटेल, सुब्रत आचार्य, सन्देश र अर्का एक कलाकार गरी चार जनालाई अभिनय गराउनुपर्ने थियो । सुटिङ शुरु हुने बेला भयो, सुमन आइपुगेनन् । विकासलाई चिटचिट पसिना छुट्यो । सुमन आफ्नी पत्नी लिन नारायणगढ गएको उनले थाहा पाए । त्यही दिन माओवादीले नारायणगढ बन्द गरेको रहेछ ।

तैपनि, सुमन आइपुग्छन् कि भन्दै १० बजे शुरु हुने सुटिङलाई १२ बजेसम्म लम्व्याए । तर, आइपुगेनन् । अन्तिममा कुन सट कसरी लिने भनेर क्यामेरामेन रामशरण उप्रेतीसँग सल्लाह गरे । रामशरणले भनेअनुसार उप्रेतीले खिचे । दिउँसो ३ बजे सुमन आइपुगे । त्यसपछि खासै समस्या भएन ।

हचुवामै निर्देशक

निर्देशकचाहीं उनी हचुवामै भएका रहेछन् ।

दिलकुमार प्यासीका लागि उनले फिल्मको आलेख तयार पारे ‘नसिब’ । निर्माता प्यासी पनि सँगसँगै हुन्थे । एकदिन विकास स्त्रिmप्ट सुनाउँदै थिए, दिलकुमारको आँखाबाट आँशु झर्‍यो । फिल्मका तीन वटा सिनमा उनी भावविव्हल भए ।

‘यो फिल्मको निर्देशन पनि तपाईंले नै गर्नुपर्छ,’ दिलकुमारले भनेछन् ।

‘म त लेख्ने मात्रै हो, निर्देशन गर्न सक्दिनँ,’ विकासले आनाकानी गरे ।

स्क्रिप्ट सुनिसकेपछि खाजा खान रेस्टुराँ गए । खाजा खाँदै थिए, दिलकुमारले खाममा ११ हजार रुपैयाँ राखिदिँदै भने, ‘निर्देशनका लागि टोकन मनी लिनुस् ।’

विकासले पैसा त लिए तर घरमा आएपछि उनलाई निकै तनाव भयो । उनलाई क्यामेरा र लाइटबारे शून्य ज्ञान थियो । उनले निर्देशन कलाबारे केही पुस्तक पढे । साथीभाइलाई सोधे । केही जाने, तैपनि आत्मविश्वास पलाएन ।

एक दिन उनको भेट भयो, मुख्य सहायक निर्देशक सुमन शाहीसँग । अब उनको चलचित्रमा सहायक निर्देशक सुमन नै बन्ने भए । विकासले सुमनबाटै क्यामेरा र लाइटबारे धेरै सिके ।

‘सुमन मेरो क्यामेरा र लाइटको गुरु हो । ज्ञान जोसँग पनि लिन सकिन्छ भन्ने मैले त्यहीबेला बुझेको हुँ,’ विकास भन्छन् ।

यसरी जुर्‍यो, ‘नाइँ नभन्नु ल’

‘नाइँ नभन्नु ल’ विकासको विशेष ब्रान्ड बनेको छ । यही नाममा उनले चार सिरिज फिल्म बनाइसके भने पाँचौंको स्त्रिmप्ट तयार छ । यो नाम पनि उनले बोनसमा पाएका थिए । दक्षिणकाली जाने गुम्बामा ‘नसिब आफ्नो’को सुटिङ हुँदै थियो । कविराज गहतराज नृत्य निर्देशक थिए । गीतको एक अन्तरामा थियो ‘नाइँ नभन्नु ल …’

‘अब अर्को सिनेमा नाइँ नभन्नु ल नाममा बनाउनुपर्‍यो,’ सुटिङ हेर्दाहेर्दै विकासले कविराजलाई भनेछन् ।

‘गज्जब हुन्छ, एकदमै क्याची छ यो लाइन,’ कविराजले पनि सहमति जनाए ।

कथा पहिल्यै तयार थियो । ‘नाइँ नभन्नु ल’ नाम राखेरै स्त्रिmप्ट तयार गरे र उनै निर्माता दिलकुमार प्यासीलाई सुनाए । तर, दिलकुमारले चासो दिएनन् । ‘फाइट नभएको लभस्टोरी चल्दैन’ भन्दै उनले नाक खुम्च्याए ।

विकासलाई नाम औधी मन परेको थियो । उनले आफ्नै साथी विजय सिग्देललाई सुनाए । उनी चलचित्रमा लगानी गर्न राजी भए ।

पहिलो चलचित्र बनाउँदासम्म विकासले यसको सिक्वेल सिरिज बनाउने विषयमा सोचेकै थिएनन् । त्यसपछि अर्को फिल्म बनाए, ‘म तिम्रो भैसकें’ ।

एक दिन एक भाइले काठमाडौंकै सम्पन्न परिवारमा एउटा बालकको मृत्युको कथा सुनाए । विकासले कथा चाख मानेर सुने । बालकको मृत्युको कथा पूरै सुनेपछि उनले निर्णय गरे ‘नाइँ नभन्नु ल -२’ । यो चलचित्रको यतिबेला पाँचौं सिक्वेलको तयारी हुँदैछ ।

‘नौसम्म बनाउने योजनामा छु,’ विकास भन्छन् ।

 नीर शाहलाई सिकाउने फुच्चे

विकासले चलचित्र ‘रिदम’मा अनुभव रेग्मीसँग पहिलो पटक काम गरेका थिए । उनी बालकलाकारको खोजीमा थिए । भनेजस्तो पात्र भेटेका थिएनन् । एकदिन अरुण रेग्मीसँग उनको भेट भयो ।

‘जाउँ दाइ मेरोमा,’ अरुणको आग्रह मान्दै विकास उनको घरमा गए । अनुभव त्यसबेला घरमै थिए ।

अनुभवलाई देख्नेबित्तिकै विकासको आँखा लाग्यो र सोधे, ‘बाबु तिमीलाई के के गर्न आउँछ ?’

अनुभवले सलमान खानको ढिंकाचिका गीतमा नृत्य गरेर देखाए ।

‘अभिनय गर्छौ त,’ उनले सोधे । अनुभवको जवाफ थियो, ‘गर्छु’ । तर, समस्या थियो उनी अक्षर चिन्दैनथे । चलचित्रमा धेरै संवाद थिए ।

‘भरखर साढे तीन वर्षका अनुभवले ती संवाद भन्न सक्दैनन् होला,’ विकासले शंका व्यक्त गरे ।

उनको शंकालाई आमा कविताले निवारण गर्ने भइन् । उनले ‘सबै कुरा म सिकाउँछु, तपाइर्ं चिन्ता नलिनु’ भनिन् ।

विकासले सोचेभन्दा निकै सजिलो भयो सुटिङ गर्न । अनुभवले हरेक संवाद जस्ताको तस्तै बोल्दिन्थे । कतिपय कम्पोजिट सटमा भने अप्ठ्यारो पारे ।

धेरैजसो सिन नीर शाहसँग थियो । पूराना कलाकारले कतिपय संवाद स्त्रिmप्टमा लेखिएजस्तो हुबहु भन्दैनन्, मिलाएर बोल्छन् । त्यस्तो अवस्थामा अनुभव टक्क रोकिन्थे र भन्थे, ‘हजुरबाले धेरै बोल्नु भो ।’

नीर शाहले त्यतिबेलै भनेका थिए, ‘यो ज्यादै तिक्ष्ण क्षमताको छ ।’

अनुभवलाई चाहियो हिरोइन

आउँदो चैतदेखि ‘नाइँ नभन्नु ल-५’ शुरु हुँदैछ । मुख्य भूमिकामा अनुभव देखिँदैछन् भने उनको हिरोइनको खोजी जारी छ ।

‘११ वर्षकी किशोरीको खोजीमा छौं । क्षमता हुने छोरीका बाबु-आमाले सम्पर्क गर्नुहोला,’ विज्ञापनकै भाषामा विकास भन्छन् । अनलाईनखबर बाट