मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

जनवादी गायक घिसिङको अन्त्येष्टि

जनवादी गायक घिसिङको अन्त्येष्टि


नारायणगढ– नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय भरतपुरको कृष्णपुरमा बुधबार एकाबिहान ठूलो भीड लाग्यो । त्यहाँ आउने पाहुनाहरु सबैको अनुहार अँध्यारो देखिन्थ्यो । धेरैका आँखाहरु आँसुले टिलपिलाएका थिए । सबैका बोली मधुर थियो । वरिपरि एकखालको सन्नाटा छाएजस्तो भएको थियो । उपस्थिति हुनेहरु ‘कस्तो दुखद् घटना !’ भन्दै ग्लानि गरिरहेका थिए । सूर्यको किरणले चारैतिर उज्यालो छाए पनि त्यहाँको वातावरण अँध्यारोले छोपेजस्तो भएको थियो । 
 
\जनवादी गायक खुसीराम पाख्रिनको निधनका कारण बुधबार बिहानदेखि पार्टी कार्यालय पीडैपीडाले धुम्म थियो । उपस्थिति हुनेहरु पाख्रिनको शवलाई मन अमिलो बनाउँदै श्रद्धाञ्जली दिइरहेका थिए । भरतपुरको केन्द्रीय बसपार्कमा मंगलबार भएको बाम गठबन्धनको चुनावी सभामा गीत गाउँदागाउँदै ढलेका पाख्रिनको नारायणी सामुदायिक अस्पतालमा उपचारको क्रममा ६५ वर्षको उमेरमा निधन भएको थियो । हृदयघातका कारण उनको ज्यान गएको अस्पतालले जनाएको छ । 
 
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए । चितवनका स्थानीय नेताहरुको बाक्लो उपस्थिति रहेको थियो । गीत गाएर जनता रुवाउन सक्ने पाख्रिनलाई श्रद्धाञ्जली दिन आएका जोकोहीको आँखा रसाएका थिए । 
 
एमाओवादी केन्द्रका नेता सुर्य सुवेदी ‘पथिक’ले शोक वक्तव्य पढेर सुनाएका थिए । नेता पथिकले भने, ‘क्रान्तिलाई पूर्णता दिन नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउन उहाँ उत्साहित हुनुभएको थियो ।’
 
गीत गाएर नेपाली जनताको आँखाबाट तपतप आँशु झार्न सक्ने खुबी थियो खुसीराम पाख्रिनमा । दुःखी नेपालीको कष्टपूर्ण व्यथालाई गीतमार्फत सुरिलो श्वरमा प्रस्तुत गर्दा जोकोहीले आँशु नझारी बस्नै सक्थेनन् । माओवादी केन्द्रका केन्द्रीय सल्लाहकारसमेत रहेका पाख्रिन संविधान सभाको पहिलो चुनावमा समानुपातिकबाट सभासद् भएका थिए । संविधान सभाको दोस्रो चुनावमा उनी चितवन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका थिए । त्यतिबेला उनी पराजित भएका थिए । 
 
नेपाली दुःख देख्न नसक्ने उनै खुसीराम पाख्रिनले गीत गाएर नेपाली जनताको मन जितेका थिए । माओवादी केन्द्रले पाख्रिनलाई सांस्कृतिक आन्दोलनको धरोहर भनेको छ । 
 
२००९ साल कार्तिक ९ गते माता फुलमति र पिता शिलधरको कोखबाट कोखबाट गोर्खाको खरिबोटमा जन्मेका पाख्रिन २०३८ सालबाट जनवादी गायकका रुपमा चिनिएका थिए । भरतपुुर १९ रामपुर निवासी पाख्रिनको एक श्रीमती, दुई छोरी र एक छोरा छन् । उनको कान्छा छोरा अमर पाख्रिन (दोर्जे) को द्वन्द्वकालमा लमजुङमा मृत्यु भएको थियो । 
 
२०३८ सालमा ‘सगरमाथाको काख नेपाल देश छ’ भन्ने बोलको प्रगतिशील गीतबाट उनी प्रगतिवादी र जनवादी गायकको रुपमा चिनिन थालेका हुन् । ‘डाँडाकाँडा फुटालेर बाटो बनायो, कालो वनको बीचैमा खेतालाको गाउँ, ‘रक्तक्रान्तिको बेला हो यो’ ‘लड्दै छौँ मुक्ति युद्ध’लगायतका गीत गाएका पाख्रिनले त्यतिकै संख्यामा जनमुक्ति गीतहरु रचना गरेका थिए । 
 
तामाङ संस्कृतिअनुसार बुधबार अन्त्येष्टि गरिएको छ । विधिको विडम्बना पनि विचित्रकै छ । दुई दिनअघिमात्र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का एकमात्र पुत्र प्रकाश दाहालको पनि हृदयघातकै कारणले मृत्यु भएको थियो ।