मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सौराहामा ड्रेसमा आउने विद्यार्थीलाई कोठामा बस्न कडाई

सौराहामा ड्रेसमा आउने विद्यार्थीलाई कोठामा बस्न कडाई


सौराहा, चितवन– चितवनको पर्यटकीय नगरी सौराहाको पर्यटन क्षेत्रलाई व्यवस्थित गरी पर्यटनमैत्री बनाउन यहाँका व्यवसायीले आचारसंहिता जारी गरेका छन् । 
 
ध्वनि प्रदूषणमा नियन्त्रण, पर्यटनमैत्री वातावरण, वन, वन्यजन्तु र वातावरण संरक्षणलाई केन्द्रमा राखेर व्यवसायीले १६ बुँदे आचारसंहिता जारी गरेका हुन् ।
 
क्षेत्रीय होटल संघ, क्षेत्रीय रेवान, प्रहरी, नेचर गाईड एशोसिएशन, बाघमारा वन, हात्ती सहकारी र साना पर्यटन व्यवसायी समूहको संयुक्त भेलाले सो निर्णय गरेको संघका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।
 
संयुक्तरुपमा जारी गरिएको विज्ञप्तिमा कुनै मेला महोत्सवबाहेक जाडो समयमा राति ११ बजेसम्म र गर्मी समयमा १२ बजेसम्म होटल रेष्टुराँ सञ्चालन गर्ने उल्लेख छ । 
 
 
पर्यटकलाई बीच बाटोमा रोकेर हात्ती, जिप सफारी तथा होटलको कोठा बेच्न नपाउने, पर्यटन क्षेत्रका बाटोघाटोमा गाडी रोक्न नपाउने, कलेज / स्कुल ड्रेसमा आएका विद्यार्थीका लागि जिम्मेवार अभिभावक नभएसम्म कोठामा बस्न नदिने, स्वीमिङ पुलमा अनिवार्यरुपमा लाइफ ज्याकेट राख्ने, अनुमतिबिना ड्रोनको प्रयोग गर्न नदिनेजस्ता आचारसंहिता बनाइएको छ ।
 
आगामी पुस १ गतेदेखि भने सौराहालाई हर्न निषेध क्षेत्र घोषणा गरिने तयारीसमेत गरिएको क्षेत्रीय रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए ।
 
सौराहामा हाल ११० सुविधायुक्त होटल छन् भने झण्डै ६० वटा रेष्टुराँ रहेका छन् । यहाँ दैनिक दुई हजार ८०० पर्यटक बस्न सक्ने क्षमता रहेको छ । 
 
विगत केही वर्षदेखि कलेज/स्कुलबाट ड्रेसमै युवायुवती घुम्न आउने र सौराहाका होटल/लजहरुमा सहजै प्रवेश दिने गुनासा सुनिँदै आएका थिए । सौराहामा अन्य ठाउँभन्दा सुरक्षित ठानिएका कारण यौनजोडीको रोजाइ रहँदै आएको थियो ।
 
आचारसंहिता लागू भएपछि सौराहाको प्रतिष्ठा नै बिगार्ने यस्ता क्रियाकलापमा कमी आउने एक व्यवसायीले बताए । ‘विशुद्ध मनोरञ्जन प्रदान गर्ने स्थलका रुपमा सौराहाको पहिचान बन्नुपर्छ, न कि यौनयोडीको मनोरञ्जनको स्थल’ उनले भने ।