मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रचण्डपुत्र प्रकाशको निधनपछि चितवन शोकमा

प्रचण्डपुत्र प्रकाशको निधनपछि चितवन शोकमा


चितवन– पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एकमात्र छोरा प्रकाश दाहालको निधनको खबरसँगै चितवन शोकमा डुबेको छ । 
 
प्रचण्डपुत्र प्रकाशका शुभचिन्तक, राजनीतिक दलहरु तथा इष्टमित्रहरु गहिरो शोकमा रहेका छन् । चितवन प्रचण्डको गृह जिल्ला हो । प्रकाशको निधनप्रति गहिरो समवेदना जनाउँदै यहाँका राजनीतिक दलहरुले आइतबारका सम्पूर्ण चुनावी कार्यक्रमहरु पनि स्थगित गरेका छन् । 
 
वाम गठबन्धन, लोकतान्त्रिक गठबन्धनलगायतले चुनावी कार्यक्रमहरु स्थगित गरेका छन् । वाम गठबन्धनबाट गठित चुनावी परिचालन समितिले क्षेत्र नं. ३ का सबै चुनावी कार्यक्रमहरु स्थागित भएको जनाएको छ । चितवन क्षेत्र नं. २ का वाम गठबन्धन प्रचारप्रसार समितिका संयोजक घनश्याम भट्टराईले पनि दुई नम्बर क्षेत्रका सबै औपचारिक कार्यक्रम स्थगित भएको बताए । 
 
वाम गठबन्धनबाट मात्रै नभएर दाहालका प्रतिस्पर्धी उम्मेदवार विक्रम पाण्डे तथा लोकतान्त्रिक गठबन्धनले पनि चुनावी कार्यक्रमहरु स्थगित भएको जनाएको छ । 
 
प्रकाश २०३८ साल जेठ १८ गते चितवनको भरतपुर महानगरपालिका वडा नं १४ भीमसेननगरमा जन्मिका हुन् । उनको बाल्यकाल चितवनमै बितेको थियो । उनी अध्यक्ष पुष्पकमलका स्वकीय सचिव एवम् माओवादी केन्द्रका केन्द्रीय सदस्य थिए । द्वन्द्वकालमा भूमिगत रहेर बुवासँगै उनले राजनीति गरेका थिए । 
 
माओवादी केन्द्रका अध्यक्ष दाहालसँग चुनावी प्रतिस्पर्धामा रहेका लोकतान्त्रिक गठबन्धनका उम्मेदवार वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले दाहाल परिवारमा परेको पीडाप्रति आफू मर्माहित भएको जनाउँदै आइतबार घरदैलो र चुनावीसभाका सबै कार्यक्रम स्थगन गरिएको बताए । उनले भने, ‘एक होनाहार युवाको निधन भएको छ, म दुःखी छु । दाहाल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।’
 
पाण्डेको क्षेत्र नं ३ अन्तर्गत भरतपुर महानगरपालिका–२१ को पार्वतीपुर र २६ को दिव्यनगरमा आइतबार घरदैलो र चुनावीसभाका कार्यक्रम थिए । प्रकाशको निधनको खबर पाउनासाथ सबै कार्यक्रम स्थगन गरेर उनी समवेदना व्यक्त गर्न काठमाडौँ गएका छन् । 
 
त्यस्तै वाम गठबन्धनले जिल्लाका तीनवटै क्षेत्रमा आज गर्ने भनेको घरदैलो र चुनावीसभाका कार्यक्रम सबै स्थगन गरिएको माओवादी केन्द्र चितवनका इञ्चार्ज ईश्वरी भट्टराईले बताए । 
 
पार्टी अध्यक्षका पुत्र प्रकाशको निधनले सिंगो देश शोकमा रहेको भन्दै जिल्लाका सबै कार्यक्रम स्थगन गरिएको उनले बताए । वाम गठबन्धनले यही मंसिर ५ गते भरतपुरमा गर्ने भनिएको चुनावीसभा भने हालका लागि स्थगन गरिएको छ । सो सभालाई माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम थियो । 
 
प्रकाशको निधनसँगै भरतपुरमा रहेकी प्रकाशकी दिदी भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालसहित जिल्लाका माओवादी नेता र शुभेच्छुक हेलिकप्टर र जहाजमार्फत काठमाडौँ गएका छन् । निर्वाचनमा बुबा पुष्पकमल चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बनेपछि बुबासँगै धेरै समय यहीँ रहेकाले प्रकाश चितवनमा राम्ररी परिचित थिए । 
 
प्रकाशसँग गहिरो सम्बन्ध रहेका रत्ननगरका गणेश पौडेल र प्रदीप बञ्जारा आइतबार निन्याउरो मुख लगाउँदै स्तब्ध देखिएका थिए । ‘साह्रै नै खल्लो र पीडा भइरहेको छ’, पौडेलले भने, विश्वासै गर्न सकिरहेको छैन ।’