मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मतदाता किन्ने खेल बन्द गर्न मन्त्री पाण्डेको चेतावनी

मतदाता किन्ने खेल बन्द गर्न मन्त्री पाण्डेको चेतावनी


चितवन– वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले मतदाता किनेर चुनाव जित्ने योजना त्याग्न वामपन्थी गठबन्धनलाई चेतावनी दिएका छन् । उनले जसरी पनि चुनाव जित्न मतदातालाई आर्थिक प्रलोभनमा पार्ने, बुथ कब्जा गर्ने रणनीतिमा प्रतिस्पर्धी गठबन्धन लागेको जानकारी आफूले पाएको बताए ।
 
नेपाल भूपू सैनिक संघ चितवनले आसन्न निर्वाचनलाई लक्षित गरी आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले मतदातालाई खरिद गरेर चुनाव जित्ने सपना नबनाउन आग्रह गरे ।
 
“चितवनका जनतालाई किनेरै भए पनि चुनाव जित्छु भनेर प्रचण्ड आउनुभएको सुनेको छु”, उनले भने, “जनता चाइनाबाट ल्याइएका च्याङ्गा होइनन्, पैसाले खरिद गर्ने योजना छाड्नुस् ।” उनले घरघरमा पुगेर लोकतान्त्रिक गठबन्धनले त्यो दुस्साहसबारे भण्डाफोर गरिने बताए । पाण्डे चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार हुन् । “जनता किन्ने दुस्साहस उहाँलाई नै महंगो पर्नेछ”, उनले व्यंग्य गर्दै भने, “जनता मिलेर प्रतिकार गर्नेछन् ।”
 
उनले चुनावका बेला विकासका ठूला सपना बाँड्दैमा विगतको दोहोरो चरित्र जनताले नभुल्ने दाबी गरे । “भरतपुर महानगरको निर्वाचनमा दुई ठूला पार्टीलाई धोका भएको थियो”, उनले भने, “एउटा मट्याङग्राले दुईवटा शिकारजस्तो बनेको छ, यसपाली फेरि एमालेलाई धोका दिन अनेक बहाना बुनिएको छ, त्यो जनताले बुझेका छन् ।” 
 
उनले कम्युनिष्ट शासन भएका देशमा स्वतन्त्रता नहुने उदाहरण दिँदै भने, “लोकतन्त्र, गणतन्त्र रक्षाका लागि लोकतान्त्रिक शक्ति नै जनताले रोज्ने विश्वास छ ।” उनले जनप्रतिनिधिद्वारा लेखिएको संविधानलाई आफू अनुकूल बनाएर एकदलीय शासन चलाउने वाम गठबन्धनको सपना मंसिर २१ गतेपछि अन्त्य हुने दाबी गरे । कांग्रेससँगको समझदारीमै आफू ३ नम्बर क्षेत्रमा पुनः उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएको उनले बताए । 
 
उनले विगतमा आफ्नो निर्वाचन क्षेत्रमा गरेका विकास योजनालाई जनताले नभुलेको बताए । उनले निर्वाचन क्षेत्रका हरेक जनतासँग घुलमिल गर्न नसक्ने नेतालाई जनताले आफ्नो मत नसुम्पिने दाबी गरे ।