मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा पाँच पूर्वसांसदबीच रोचक भिडन्त

चितवनमा पाँच पूर्वसांसदबीच रोचक भिडन्त


हिमालय खबर संवाददाता–
चितवन– प्रतिनिधिसभाका तीन क्षेत्र रहेको चितवनका सबै निर्वाचन क्षेत्रमा पूर्व विधायकको हैसियतमा रहेकाहरु नै उम्मेदवार बनेका छन् । चितवनका तीन निर्वाचन क्षेत्रमा पाँचजना पूर्वसासंदहरु प्रतिस्पर्धामा उत्रेका छन् । दुईवटा निर्वाचन क्षेत्रमा निवर्तमान सांसदहरुबीच नै मुख्य प्रतिस्पर्धा हुँदैछ ।
 
चितवनको क्षेत्र नं १ मा वाम गठबन्धनको उम्मेदवार रहेका एमाले नेता सुरेन्द्र पाण्डे विसं ०७० सालको संविधानसभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । पहिलो संविधानसभामा उनी समानुपातिक सिटबाट सदस्य चयन भएका थिए ।
 
अहिले उनको प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका काँग्रेस उम्मेदवार राजेन्द्र बुर्लाकोटीसँग हुँदैछ । बुर्लाकोटी ०७० सालमा पनि पाण्डेका प्रतिस्पर्धी थिए ।
 
चितवन क्षेत्र नं २ मा विसं ०७० सालको संविधानसभा सदस्य निर्वाचनमा चितवनबाटै विजयी दुईजना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ वाम गठबन्धनबाट एमालेका कृष्णभक्त पोखरेल र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका शेषनाथ अधिकारी चुनावी मैदानमा छन् । 
 
एमालेका पोखरेल विसं ०७० सालको संविधानसभा सदस्य निर्वाचनमा चितवनको तत्कालीन क्षेत्र नं ३ बाट विजयी भएका थिए ।
 
काँग्रेसका अधिकारी चितवनकै तत्कालीन क्षेत्र नं २ बाट चुनिएका थिए । अधिकारी हाल शिक्षा राज्यमन्त्रीसमेत छन् । पोखरेल सरकारमा भने गएनन् । कानुन व्यवसायीसमेत रहेका पोखरेल संविधान लेखन कार्यदलमा भने थिए । सुरेन्द्र पाण्डे पहिलो कार्यकालमा अर्थमन्त्री भएका थिए ।
 
सबैभन्दा रोचक भिडन्त चितवनको क्षेत्र नं ३ मा दुई पूर्व माननीयबीच हुँदैछ । सो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार छन् । त्यस्तै लोकतान्त्रिक गठबन्धनले राप्रपा (प्रजातान्त्रिक)का विक्रम पाण्डेलाई उठाएको छ ।
 
दाहालले विसं ०६४ साल र ०७० सालको निर्वाचन जितेका हुन् । तर, चितवनमा उनी पहिलोपटक प्रतिस्पर्धा गर्दैछन् ।
 
पाण्डे विसं ०५६ सालयताका निर्वाचनहरुमा उठ्दै आएका थिए । तर, तेस्रोपटकको प्रयासमा विसं ०७० सालको संविधानसभा सदस्य निर्वाचनमा चितवनको तत्कालीन क्षेत्र नं ५ बाट विजयी भए । उनी अहिले वन तथा भूसंरक्षण मन्त्री पनि हुन् । यसअघि पाण्डे दाहाल प्रधानमन्त्री रहेको सरकारमा भूमिसुधार मन्त्री थिए । दाहाल दुईपटक प्रधानमन्त्रीसमेत भएका छन् ।