विचार / ब्लग

अमेरिकाको श्रममा काठमाडाैँको टाउको दुखाई

4578 पटक पढिएको

- बलायर 'प्रत्याशी'

4th Nov 2017, Saturday | २०७४ कार्तिक १८, शनिबार २१:०९
हामी आफुलाई कृषि प्रधान देशका नागरिक भन्छौ । पढे लेखेकोले खेती गर्नु हुन्न भन्ने मान्यता बोक्छौ । हामी असल हुनु पर्छ भन्छौ । आफु असल छु भन्छौँ ।
 
असलमा हुनु पर्ने गुण अरूमा खोज्छौँ । अर्ति उपदेश दिँदा राम्रो भन्दा ठूलो बनोस भन्ने आशिष दिन्छौ । ठूलोको सांकेतिक भाषा अरुमाथी कजाई चलाउने हो । चाहे धनले होस वा सत्ता, हतियार र शक्तिले । हाम्रो प्रबुद्ध समाजले यी र यस्तै तमाम असहज र बिभेदकारी सूचनाको सम्प्रेषण गरिरहेको छ । 
 
समाजले श्रमको मूल्यांकन भन्दा श्रमको अवमूल्यनको पाटो सिकाउने र बिकाउने गर्छ । परिवर्तनका संबाहकका रुपमा रहेका नयाँपुस्तालाई गलत सिकाईको सम्प्रेषणा पढेर आफ्नै खुट्टामा उभिने र ब्यबसायमा संलग्न हुने भन्दा जागिर र दुई नम्बरीलाई प्रश्रय गरेको छ । 
 
जबसम्म एउटा प्रबुध्द समूहबाटै श्रमको मुल्य बुझिन्न र अरुको श्रम र पेशा प्रति आदर राख्न सकिदैन भने त्यहाँ प्रगतिको सम्भवावना न्यून छ । समाजमा हतियार उठाएर, चन्दा थुतेर, डन पालेर, एनजिओ चलाएर सजिलै पैसा आउन्छ भन्ने हिजोको दर्शन आज पनि कसैकोलागि आदर्श बनेको अवस्था छ । 
 
यसैले नेपाली समाज जातजाती, धर्मले मात्र हैन श्रमका आधारमा झनै चौपट्ट बिभक्त छ । राजनीती र जागिरबाट उच्च-तहमा पुग्नु, सम्पन्नता देखाउनका लागी ठुलो घर, गाडीमोटर किन्नु, आवस्यकता भन्दा बढी देखावटी कै लागी भए पनि फजुल काम गर्नुलाई समाजले महानता ठान्छ । 
 
देशले करिब ४० लाख यूवा जनशक्ती अरुको देशको श्रममा बेचिरहेको छ । सपना बाँड्नु र ठूला कुरा राजनैतिक नैतिकता बनेको हाम्रो समाजले मूल जड भनिने पेशाहरुः कृषि र पशुपालन प्रचुर सम्भावनाका बावजुत मरेतुल्य छन । अर्को तिर करौडौको तरकारी, फलफुल, मासु हामी दैनीक आयात गर्छौ । यस्तै अन्य श्रमबजारका धन्दाहरु अपेहेलित पेशाका रुपमा बन्दहुने अवस्थामा पुगेका छन । 
 
जसको उदाहरण उधोगमा क्रान्ति गर्न सक्ने हैसियत भएका बिश्वकर्माको पेशा नै चौपट छ । कालीगढ र नेपाली कला सम्बन्धि कामगर्नेहरुले भरसक छोराछोरीलाई त्यो पेशावाट अलग गराईसकेको अवस्था छ । यसको मुल दोशी हाम्रो समाज र यस भित्रका एक बुज्रक समुह हो । जसले श्रमलाई उठाउनु सट्टा हेप्यो । 
 
यसलाई चिर्ने बिद्यालयको पाठ्यक्रमको काम हो तर यसले सामान्य सैदान्तिक ज्ञान बाहेक अरु दिन सकेन  । समाजको अगाडी शिक्षा झुक्यो । बाहुनको छोराले आरनमा बसेर काम गर्ने, लुगा सिलाउने, सुनचाँदी र हस्तकाला- मूर्तीकलाको  काम गर्न सक्ने वातावरण सिर्जना गर्न सकेन । उल्टो यस्ता काम गरे अपमान सोच्ने संस्कार भित्रै धोमिलिएर बस्यो । 
 
समाजको रुपान्तरणका लागि सामाजिक बिभेदको अन्त्य जरुरी छ । आज बिश्वमा जे जती देशहरू अगाडी बढेका छन सामुहिक मेहनतले बढेका छन । आज जापानको बिकास हेरौं । जापानीहरुको श्रमप्रतीको बफादारीता र मेहनत कै फल हो । अमेरिका कै कुरा गर्ने हो भने पनि अमेरिका त्यसै अमेरिका भएको हैन । हरेक नागरिक बाल्यावस्था देखि नै श्रम गर्नु, आफ्नो खुट्टामा आफै उभिनु र आफ्नो कमाईको केही प्रतिशत सरकारलाई कर तिर्नुलाई गौरव ठान्छन । 
 
हामी कुनै पनि सकरात्मक सोच सिकेर आफुमा ढाल्नु भन्दा अरुको कमजोरी केलाउनमा ब्यस्त हुन्छौ । नेपालवाट अमेरीकाको भ्रमण गर्न आउने कलाकार हुन या अग्रज या हुन राजनैतिक दलका नेताहरु, घुमाईको क्रममा यहाँको सिष्टम र कामगर्ने तौर तरीकाको खुलेर तारिफ गर्छन । जब उनीहरु नेपाल पुग्छन कमजोरीहरु मात्र बिकेर जान्छन र नचाँहिदा टीका टिप्पणी गर्छन । 
 
यहाँ श्रम र नेपाली सोचलाइ त्यसैले पनि जोड्न खोजेएको हो । हाम्रो नेपाली सोचाई ज्यादै साँगुरो छ । यसैले उनीहरुले बिल्कुल साँगुरो धेराबाट अरुलाई हेर्ने बानी छ । किशोर नेपालको यात्रा वर्णन होस या कुनै अरु कुनैको हेराइ र बुझाई होस मात्र सतही छ । यसमा नेपाली पाराको चस्मा छ । जो बिलकुल अमेरिकी श्रम बजार र श्रमको खिलाप छ । 
 
यी महासयलाई यो ज्ञात भएकै कुरा हो कि अमेरिकामा हरेकले काम गर्छन । काम गर्नु र सरकारलाई कर तिर्नुलाई यहाँ गौरव ठान्छन । यहाँ सामान्यतया हप्तामा थोरै दिन मात्र काम गर्छु भन्दा पनि मजाले खान पुग्छ । तर अमेरिकावासी सबैले मेहनतका साथ काम गर्छन ।  यती मात्र हैन यो देशमा राष्ट्रपतीका सन्तान हुन या कम्पनीका मालीकका सन्तान या साधारण कामदारका सन्तान हरेकले हाइस्कुलको समाप्ति लगतै बिदाको र फुर्सदको समयमा श्रमको सम्मान स्वरुप साधारण स्टोर देखि रेस्टुरेन्ट सम्ममा श्रम बेच्ने गर्दछन । यसले उनिहरुलाई कुनै अपहेलना र मान मर्दनको महसुस हुदैन । उल्टै उनीहरु आफ्नो कामलाइ सगर्व स्वीकार गर्दछन । जसले सानै देखि बालबालीकामा श्रम प्रतिको झुकाव बढ्छ ।
 
श्रमको मात्र कुरा हैन, अमेरीका बिश्व कै अलगै पहिचान भएको देश हो । यहाँ बिश्व भरीका मानिसहरु सगर्व प्रजातान्त्रीक मूल्य र मान्यताहरु समान रुपमा उपयोग गरि रहेकाछन । अमेरिकी माटोमा जन्मेको कुनै पनि देशको नागरीक स्वतः अमेरिकी नागरिक हुन्छ । उसलाई खोक्रो राष्टबादी ज्ञान दिनुको सट्टा सानै उमेर देखि आफ्नो हेरचाह र सरसफाई गर्ने, आफ्नो खाना आफै खाने, लुगा लगाउने लगायतका सामाजिक सीप घर मै सिकाईन्छ । सानै देखि श्रमको महत्व बुझाउने गरिन्छ । हाम्रोमा आदर्शबादी राजा महाराज र ठुलो मान्छे बन्ने अर्ती दिईन्छ। हाम्रो सुरुआत घर बाटै गलत छ । 
 
अमेरिकामा जुसुकैले जे पनि काम गर्न लजाउनु पर्दैन । यो देशमा जसले जती काम गर्न सक्छ सक्दो काम गर्दा हुन्छ । कमजोर, असक्तलाई सरकारले सहयोग गर्छ भने सक्नेले बढी काम गरेर सरकारलाई बढी कर तिर्छन । यहाँ सात दशका बुढाहरुले पनि शरीरलाई एक्टिभ बनाइ राख्न सरकारबाट सुबिधा पाउदा पाउदै पनि काम गर्छन र पैसा जम्मा गरेर बरु च्यारेटी र समाजसेवामा खर्च गर्छन । हाम्रो मनोदशा भरसक ठगेर, काम नगरेर वा बाहनाबाजी गरेर, सित्तैमा पैसा आए हुन्थ्यो भन्ने छ भने यहाँ मेरो श्रमले राष्ट्रको सेवा गर्न पाएको भए हुन्थ्यो भन्ने छ । 
 
यसैले नेपालका नेता र महाराजाले मुखले चर्को राष्ट्रवादको नारा दिएता पनि उनीहरुले देशको लागी सुको मोहरको योगदान गरेका छैनन । उल्टै देश टाट पल्टाउने गरि पिण्डखाने बेलाका नेताहरुले राष्ट्रिय ढुकुटीबाट करडौको औसधी उपचार खर्च लिई बिदेशमा उपचार गर्दै राष्ट्रवादी फुर्ती ठोक्छन । देश बनाउन नाराले हैन श्रम गरेर पसिना चुहाएर राष्ट्र र राष्ट्रियता प्रतिको भक्तीले पुरा हुन्छ ।    
 
यस्तै अबुझवाट अमेरिकामा रहेका नेपालीहरुले श्रम गरेको कुरालाई बङ्याई श्रमको अवमूल्यन गर्नु भनेको स्वयमलाई लज्जाबोध हुने कुरा हो । अमेरीका कामलाई आदर गर्ने देश हो । यसैले यो देशको टोलटोलमा पिपलका चौताराहरु छैनन जहाँ मान्छेहरु जम्मा भएर बिनासित्ति गफ गरेर समय पास गर्छन । नत यो देशमा पैसा फल्ने मनिप्लान्ट नै छन । यो देश केवल मेहनतमा अडेको हो ।  
 
श्रम गरेर देशलाई कर तिर्नु आफ्नो खुट्टामा उभिनुलाई सबैले गर्व ठान्दछन । नेपालीहरुले पनि अमेरिका आएर यो सिकेकाछन । चाहे ग्यासस्टेसनमा होस या कुनै स्टोरमा होस या आफ्नै स्टोरमा होस मेहनत गरेर सुबिधासम्पन्न जीवन यापन गरेका छन । एकाध कसैलाई सामान्य समस्या होला तर खाना नपाएर कसैले कसैसंग हात थाप्नु र कसैको तमसुकमा दायाँबाया च्याप्नु पर्दैन यो देशमा । 
 
स्मरण होस ! हामीलाई त्रिभुवन विमानस्थलको ट्वाईलेट फोहर हुदा लाज लाग्दैन । जसको भविस्य सवै नेपालीको इज्जतसँग जोडिएकोछ । हामीलाई कुनै एक प्रवासी युवाले बिमानस्थल सफा गर्दा लाज लाग्दैन ।  जसले सांकेतिक रुपमा आफ्नो श्रमको मूल्य चिनारीसंग जोडिएको छ । हामीलाई लाज अमेरीका आएर लाग्छ । 
 
तीनहरुको सीप र श्रमलाई भित्र्याउनुको सट्टा लाल छडी देकाउने राष्ट्रवादी लाल पण्डित र समाजका उपबुज्रकले श्रममाहुरी नचिन्दा आज देश टाउके रानोले रित्याएको महको खाली चाका बनेकोछ । खोक्रो राष्ट्रवादले थेगेको छ । श्रम बिहीनहरुको भाषण र झुटको सपथले झुक्याएको छ । यसैले अमेरीका, बेलयत, क्यानडा, जापान, खाडी अदी देशका ती तमाम नेपालीहरु तिनै मध्येका श्रमजीवी हुन जसको श्रमवाट नेपाल आमाको पेट रेमिटेन्सले टालिएको छ । यिनलाई नत राष्ट्रवादको भुतले तर्साएर केही  हुनेवाला नै छ नत यिनको श्रमको काठमाण्डौले टाउको नै दुखाउनु पर्छ ।